माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेकोले म फुर्सदमा थिएँ।
फुर्सद भएकोले हजुरबुबादेखि भाइसम्मको कुराकानी गर्ने साथी म थिएँ।
मेरो ममी अध्ययनका क्रममा पटक-पटक काठमाडौं गइरहनुपर्छ। बाबा काममा व्यस्त भएकोले ममीसँगै साथी जान पाउनु भएन, यसपालि म ममीसँगै काठमाडौं जाने भएँ। म र ममी जेठ ३० गते काठमाडौं गयौं।
त्यस दिन ठूलो ममीको घरमा हामी बस्यौं। ३१ गते ममीको केही समय काम थियो। हामीले सहरको केही स्थानहरू घुम्यौं, नयाँ अनुभवहरू बटुल्यौं र त्यो छोटो बसाइँ निकै रमाइलो बन्यो।
त्यो दिन ममीले केही घन्टामै काम सकेर फर्कनुभयो। त्यसपछि हामी केटिएम सिटीमा केही कपडा किनमेल गर्न गयौं। दिन भरको गर्मीले थकित बनाएका हामी लगभग ३ बजे बसपार्क पुग्यौं र चितवन फर्कने तयारीमा माइक्रोबस चढ्यौं।
माइक्रोबसमा चढेपछि नै केही असहजता महसुस भयो। चालकले तीन पटक बोनट खोलेर गाडीको समस्या हेरे। म गर्मी र थकानले सुस्त थिएँ, त्यसैले धेरै ध्यान दिइनँ तर कुराकानीबाट थाहा पाइयो—ब्रेकमा समस्या थियो। तेस्रो पटक चालकले अर्को यात्रुलाई ब्रेक समाइदिनसमेत भनेको सुनेँ।
झन्डै अपराह्न ३ः३० बजे गाडी चल्यो। हामी नागढुंगातिर जाँदै थियौं। म मोबाइलबाट घरमा फोन गर्न खोज्दै थिएँ। त्यही बेलामा चालकले गाडी छेउमा रोक्न लागेको जस्तो लाग्यो तर केही सेकेन्डमै गम्भीर कुरा थाहा भयो— गाडी रोकिँदै थिएन, बरू सिधै एउटा घरतर्फ जाँदै थियो। गाडीले घरको शौचालय भागमा ठक्कर दियो—त्यो भाग हल्का संरचना भएको र सजिलै भत्किएको देखिन्थ्यो। गाडी तीव्र गतिमा ओरालो झरिरहेको थियो। गाडीभित्र हो-हल्ला, रूवावासी मच्चियो। करिब २०० मिटर तल झरेपछि गाडी रूखमा गएर अड्कियो, ठूलो झट्काले झ्यालहरू फुटे, यात्रुहरू अगाडि हुत्तिए।
त्यो क्षण निकै डर लाग्दो थियो, तर म सम्भालिएँ। छेउमै रहेका एक काका अगाडि लड्नुभएको थियो, उहाँलाई ताने अनि एक सानो भाइ भाँचिएको सिटको बीचमा फसेका थिए, भाँचिएका भागहरू हटाएर उनलाई निकालें।
त्यसपछि ममीले भन्नुभयो—ढोका नखोल। त्यसैले हामी झ्यालबाट बाहिर आयौं। म पहिले झ्यालबाट निस्किएँ र ममीलाई बाहिर तानें। उहाँको टाउकोबाट रगत बगिरहेको थियो, तर उहाँ आफैले मलाई नडराउन भन्नुभयो— मलाई ढाडस दिनको लागि होला।
अर्की एक अण्टीलाई पनि बाहिर निकाल्न सहयोग गरें। त्यसपछि झट्ट फोन खोजें र बाबालाई सम्पर्क गर्न खोजें। बाबालाई घटनाबारे बताएँ। समय ठ्याक्कै ३ः५० बजेको थियो। गाडीको तलतर्फ छङ्गाछुर भिर थियो।
माइक्रोबाट डिजेल चुहिएको गन्ध आइरहेको थियो। सबैले त्यसै भनिरहेका थिए। झनै डर लाग्यो—कतै आगलागी त हुँदैन? ममीको टाउकोबाट रगत बगिरहेको थियो। सलले टाउकोमा बाँध्न सहयोग गरेँ। मैले ममीलाई डोहोर्याउँदै सडकतर्फ लैजान खोजेँ तर उहाँको खुट्टा दुखेकोले हिँड्न गाह्रो भइरहेको थियो। भिरका झार समाएर तान्दा उप्कन्थे। मलाई थाहा थियो- रगत बगिरहेकाले ममीलाई गाह्रो भएको थियो। तर उहाँ भन्दै हुनुहुन्थ्यो–नआत्तिऊ।
मेरो पनि शरीर दुखिरहेको थियो, खुट्टा सुनिएजस्तो देखिन्थ्यो। ममी आत्तिनु हुन्छ भनेर मैले केही भनिनँ। सकेसम्म छिटो ममीलाई अस्पताल लैजान म चाहन्थेँ। धेरै प्रयासपछि केही माथिसम्म पुर्याउन म सफल भएँ। त्यति नै बेला माथिबाट मानिसहरू तल आइरहेको देखेँ। उनीहरूले सहयोग गर्दै ममी र मलाई केही माथिसम्म लगे। भिर भएकाले माथि जान निकै कठिन थियो, तल हेर्न नसकिने भिर थियो।
त्यो बेलासम्म प्रहरीहरू पनि आइसकेका रहेछन्। केही माथि पुग्दै गर्दा माथिबाट प्रहरीले डोरी फाले। ती डोरीमा मैले समातेँ, अनि ममिलाई समात्न लगाए। स्थानीय र सुरक्षाकर्मीको सहयोगमा हामी माथि तानियौं। केही समयपछि एम्बुलेन्स आयो र हामीलाई उपचारका लागि अस्पताल लगियो।
एम्बुलेन्समा चढेपछि फेरि मैले बाबालाई फोन गरेँ। ममी भनिरहनु भएको थियो–बाबालाई फोन गर। एम्बुलेन्समा चढेपछि ममी अचेत जस्तै बन्नुभयो। टाउकोबाट रगत बगिरहेको थियो। मेरो खुट्टा सुनिँदै थियो तर मलाई मेरो भन्दा ममीको बढी चिन्ता लागिरहेको थियो। केहीबेरमा हामी सशस्त्र प्रहरी अस्पताल पुग्यौं। कब्याड ड्रेस भएकाले मलाई आर्मी जस्तो लागेर सुरूमा बाबालाई आर्मी अस्पताल भनेँ। त्यहाँ पुगेपछि सशस्त्र प्रहरीको अस्पताल भएको बाबालाई फोन गरेर भनेँ।
अस्पतालमा प्रहरी र स्वास्थ्यकर्मीले हामीलाई शान्त पार्न सहयोग गरे। ममीको अवस्था गम्भीर देखिएको थियो। तत्काल सिटीस्क्यान गर्न लगियो। मैले चिनेको कोही थिएन, मैले भन्ने र सुन्ने कोही नभएपछि म आत्तिन थालेँ। ममीलाई बाहिर ल्याएर बेडमा राखियो। ममीका आँखा बन्द थिएँ, सकिनसकी बेलाबेलामा मलाई हेर्नुहुन्थ्यो। ममीलाई डाक्टरले हेर्न थाल्नुभयो। नजिकै म उभिएको देखेर तिमी घाइते होइनौं भन्नुभयो। मैले हो भनेँ। बेडमा बस्न भन्नुभयो तर ममीलाई छोड्न सक्दिनँ भनेर मैले भने। उहाँले अब चिन्ता नलिन भनेर मलाई सम्झाउनुभयो।
म मेरा आफन्त कोही आउलान भनेर कुरिरहेको थिएँ। त्यति नै बेला ठूलो ममी, ठूलो बुबा र दिदी आउनु भयो। सँगै भाउजुको ममी र भाइ पनि आउनुभयो। त्यसपछि मलाई केही राहत मिल्न थाल्यो। ठूलो ममी र अरूले ममीलाई हेर्न थाल्नुभयो। प्रितिस्मा दिदीले मलाई केयर गर्नुभयो। त्यसको केही क्षणमै चितवनदेखि बाबा आइपुग्नुभयो। त्यसपछि भने मलाई धेरै ढुक्क भयो।
बाबा आएपछि अरू पनि आफन्त आउनुभयो। त्यसपछि मेरो पनि खुट्टाको उपचार सुरू भयो। खुट्टा सुनिएको थियो, तर एक्सरे गर्दा नभाँचिएको थाहा भयो। पूरै जिउ दुखिरहेको थियो। ममीको टाउको कस्तो भयो त्यही चिन्ता मलाई परिरहेको थियो। ममीको टाउकोको सिटी स्क्यान हेर्दा भित्री भागमा कुनै घाउ रहनेछ। त्यो सुनेसँगै मलाई ढुक्क भयो।
बाबाले अब नआत्तिनु ममीको टाउको ठीक छ भन्नुभयो। राती अबेर ममीलाई टाउकोमा आठ वटा टाँका र खुट्टामा प्लास्टरपछि आइसियूमा राखियो। त्यसपछि अस्पतालमा यमुना ठूलो ममी बस्नुभयो। हामी ठूलो ममीको घरमा गयौं। राती तर्सिएला भनेर दिदीले सँगै सुताउनुभयो। रातीमा धेरै निन्द्रा पर्न सकेन।
भोलिपल्ट ममीलाई डिस्चार्ज गरेर हामी चितवन मेडिकल कलेजमा थप जाँच र उपचारको लागि आयौं। यहाँ आएर सिटी स्क्यान गर्दा ममीको खुट्टामा फ्याक्चर देखिएन, त्यसपछि प्लास्टर खोलेर राती घरमा फर्कियौं। मेरो शरीरमा त केही घाउचोट भए पनि त्यति गाह्रो भएन, ममी भने एक महिना पुग्दासमेत राम्रोसँग उठबस गर्न सक्नु भएको छैन।
टाउकोको लामो चोट र थिलोथिलो परेको शरीरका कारण ममी उठ्न सक्नु भएको छैन। यो दुर्घटनापछि थाहा पाउने धेरै ईष्टमित्र र आफन्त भेट्न आउनु भयो। चितवन मेडिकल कलेजमा मात्रै ५० भन्दा बढी आफन्त आइपुग्नु भएको थियो। घरमा दुई साताजति त ममीले आराम गर्न पनि पाउनु भएन।
अहिले पनि इष्टमित्र र आफन्त स्वास्थ्यको कामना गरिरहनु भएको छ। सबैको शुभेच्छाले गर्दा ममी र मैले नयाँ जीवन पाएका छौं। बेलाबेलामा सोच्ने गर्छु –ब्रेक फेल भएको गाडी शौचालयमा नठोकिएको भए, भिरको रूखमा नअड्किएको भए, पल्टिँदै झरेको भए हामी चढेको माइक्रोमा रहेका कोही पनि बच्ने थिएनौं। हाम्रो भाग्य बलियो भएकै कारण पुनर्जीवन पाएका छौं भन्ने लाग्छ। यसका लागि तपाईं शुभेच्छा व्यक्त गर्ने सबैप्रति कृतज्ञ छौं।
त्यो दिनको सम्झनाले अझै पनि मन काँप्छ तर त्यही दिनले देखायो—संकटको बेला आत्मबल, सहयोगी हात र परिवारको मायाले कसरी जीवन बदल्न सक्छ भन्ने कुरा।
(लेखक भरतपुर ११ चितवनका हुन्।)