बन्दै गरेका राजमार्ग–२
रित्तो चुह्लो। रित्तै छन् भाँडाबर्तन। खाली नै छन् लहरै राखिएका टेबल–कुर्सी।
सरर्रर चलेको बतासले धुलोको एक मुस्लो उडाएर ल्यायो। होटलका भाँडाबर्तन र टेबल–कुर्सी नै धुलोले ढाकूँलाझैं गर्यो।
'कति खप्नु यो सास्ती!' दाउन्नेका स्थानीय होटल व्यवसायी विनोद थापा मगरले लामो खुइया काढे।
नकाढून् पनि किन! मध्याह्न हुनै लागेको छ। सधैं दोहोरीलत्ता गाडी चल्ने राजमार्ग सुनसान छ। फाट्टफुट्ट गुडेका सवारी पनि यहाँ अडिन मान्दैनन्। मध्य खाना खाने बेला पनि उनको होटलमा एक जना ग्राहकले पाइला राखेका छैनन्। बिहानदेखि बोहनी नभएको पीडा उनको अनुहारमा प्रस्टै देखिन्छ।
'कोरोनाअघि यो बजारको चहलपहल अर्कै थियो। भात खाने यात्रुहरूको ताँती हुन्थ्यो। राति सुत्न पालो गर्नुपर्थ्यो। दिउँसो पनि पालो पाइँदैनथ्यो,' उनले भने, 'अहिले त स्वाट्टै सुक्यो। बाटो विस्तारले खाइदियो हाम्रो व्यापार!'
भिडिओ:
दुम्कीबास र बर्दघाटको बीचको थुम्क्याइलो ठाउँमा पर्छ दाउन्ने। वरपर वन–जंगल हुँदा दायाँबायाँको समथर ठाउँबाट धापिएर आएकाहरूले यहाँ राहतको सास फेर्छन्। चुरे क्षेत्र भएकाले सरर्रर चल्ने स्याँठले एकैछिनमा आङ शितल बनाइदिन्छ।
दुम्कीबास र बर्दघाटमा त अहिले तालु टट्टयाउने गर्मी छ। त्यस्तो गर्मीबाट असिनपसिन भएर आएकाहरू पनि अहिले दाउन्नेमा रोकिन गाह्रो मान्छन्। धुलोले अडिन दिए पो! हराभरा जंगल धुलोको साम्राज्य जो बनेको छ!
त्यसैले त, निर्निमेष उडिरहने धुलोको उकुसमुकुसबीच यात्रुहरू गन्तव्यकृत हुन्छन्। सास पनि फेर्न नपरे हुन्थ्यो जसरी!
'छपक्कै धुलोले ढाकिएर आएका हुन्छन्। यस्तो गर्मीमा पनि रेनकोट ओढेर धुलो छल्दै हिँड्नुपर्छ,' विनोदले भने, 'त्यसैले यहाँ कोही रोकिनै मान्दैनन्। पहिलेको तुलनामा सवारी साधन नै कम चल्ने हुँदा दाउन्ने सुक्दै गएको छ।'
अर्का स्थानीय पदमबहादुर पोखरेलको पीडा पनि उस्तै छ।
२०५० सालदेखि दाउन्नेमा होटल चलाइरहेका छन् उनी। विनयी त्रिवेणी गाउँपालिकाका स्थायी बासिन्दा उनले यही होटलबाट गुजारा मात्र चलाएनन्, छोराछोरीको शिक्षादीक्षाको भरथेग पनि गरे। तर बाटो विस्तारले उनको चुह्लो आश्चर्यजनक ढंगले सुकेको छ। उनले दाउरा जोड्नै पाएका छैनन्।
'पहिले पहिले खाना खुवाउन नभ्याएर मानिस कम आइदिए हुन्थ्यो भनेर प्रार्थना गर्नुपर्थ्यो। अहिले त ठप्पै छ, देखिराख्नुभएको छ नि!' उनले पीडा पोखे।
दुम्कीबासबाट बर्दघाटसम्मको करिब २० किलोमिटर सडक अहिले यसरी नै सास्तीको चिनारी बनेको छ। बुटवलबाट दुम्कीबाससम्म मोटरसाइकलमा यात्रा गर्ने चालक र यात्रुहरू धुलोले नचिनिने हुन्छन्। एकझर पानी परे हलुका सवारी साधन चिप्लिएर उकालो चढ्नै सक्दैनन्। यात्रुवाहक बस र मालवाहक गाडी पनि दलदले हिलो छिचोल्दै उक्लन सक्दैनन्।
पछिल्लो समय यो २० किलोमिटर सडक खण्डमा १२ घन्टासम्म जाममा बस्नुपरेको सकसपूर्ण अनुभव यात्रु र सवारी चालकले गरेका छन्।
त्यसमाथि एक सातायता गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा नियमित वर्षा भएको छैन। दिउँसोपख टन्टलापुर घाम लाग्छ। अनि, चरक्क चर्किने घाममा बुङ्बुङ्ती धुलो उड्छ। निर्माण कम्पनीले धुलाम्मे बाटोमा पानी हाल्ने प्रबन्ध मिलाएको छ। तर चर्कंदो घामबीच ट्यांकरले हालेको पानी कता बिलाउँछ कता!
तर यही चरक्क चर्किने घामले बुटवल–नारायणघाट सडक खण्डको पूर्वी खण्डमा कालोपत्रे सहज भएको छ। पश्चिम खण्डमा पनि तीव्र गतिमा कालोपत्रे भइरहेको छ।
हामी आइतबार रिपोर्टिङका लागि दाउन्ने क्षेत्र पुग्दा दुम्कीबासबाट करिब दुई किलोमिटर माथि उकालोमा धमाधम ढलान हुँदै थियो। सवारी साधन बेपरवाह धुलो उठाउँदै गन्तव्यकृत भइरहेका थिए।
पूर्वी खण्डको आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा भित्ता काट्ने र टेवा पर्खाल लगाउने काम करिब करिब सकिएको छ। उकालो र अप्ठ्यारो घुम्तीमा ठाउँ हेरेर ढलान गर्ने काम पनि धमाधम भइरहेको छ। दाउन्ने खण्डमै १०३ मध्ये ९७ वटा कल्भर्ट निर्माण भइसकेको उनले बताए। बाँकी ६ वटा कल्भर्ट पनि आधा बनिसकेका छन्। सडक डाइभर्सन पनि आधा बनाउने तयारी भइरहेको छ।
पाँच दिनअघि दाउन्ने खण्डअन्तर्गत बर्दघाट–४ खुर्सानी खोलामा विशाल पहिरो गएको थियो। त्यो पहिरो पुरानै हो। त्यहाँ गत वर्ष पनि ठूलै पहिरो चलेर डाँडै लछारेको थियो। यसपटक दुई–तीन दिन लगातार पानी परेपछि सडक माथिबाटै ठूलो पहिरो खसेर तलको भागसमेत कटान गर्यो। अहिले त्यहाँ धमाधम कटिङको काम भइरहेको छ।
'चुरे क्षेत्रमा पानी नपर्दा सुख्खा भएर त्यसै पहिरो जालाजस्तो हुन्छ। पानी परेपछि माटो चिम्ट्याइलो भएर बग्न थाल्छ,' इन्जिनियर खनालले भने, 'चुरे क्षेत्रको बनोटलाई चिनेर त्यहीअनुसार कटिङ र संरचना निर्माण गरिरहेका छौं।'
दाउन्ने खण्डमा कटिङ गरेको अधिकांश भागमा टेवा पर्खाल लगाइसकेको र कल्भर्ट पनि बनाइसकेकाले स्थानीय र यात्रुहरूले सास्ती पाउने यो अन्तिम बर्खा भएको खनालले बताए। यही वर्षको हिउँदसम्म दाउन्ने खण्ड कालोपत्रे भइसक्ने उनको दाबी छ।
दाउन्नेबाहेक चोरमारा बजार क्षेत्रमा पनि यात्रुहरूले सकस व्यहोरिरहेका छन्। केही समयअघि विनयी खोलाको पुल भत्कँदा बाटो नै डाइभर्सन गर्नुपरेको थियो। विनयी खोलाबाटै डाइभर्सन गर्दा गत असार ६ गते यात्रुवाहक बस नै बगाएको थियो। उक्त बसमा सवार यात्रुको उद्धार त गरियो, तर बस २५० मिटर जति खोलाले बगाएको थियो।
विनयी खोलामा अहिले नयाँ पक्की पुल बनिसकेको छ। त्यो पुल सवारी चापका कारण निर्माण पूरा हुँदा नहुँदै असार १९ देखि सञ्चालनमा आएको छ। पुलको दायाँबायाँ राखिएका फर्मा अझै निकालिएका छैनन्। सुरक्षासँग सम्बन्धित संरचनाहरू बनाउनै बाँकी छन्।
'चोरमारा बजारको सास्ती कम गर्ने गरी मनसुन सक्रिय हुनुअघि नै एकतर्फी कालोपत्रे गर्ने तयारी गरिरहेका छौं। निर्माण कम्पनीले द्रुत गतिमा काम गरिरहेको छ,' इन्जिनियर खनालले सेतोपाटीसँग भने।
नारायणघाट–बुटवल सडक योजनाअन्तर्गत पूर्वी खण्डमा करिब एकतर्फी कालोपत्रे सकिएको छ। एकतर्फी भए पनि यो दुई लेन कालोपत्रे हो। यहाँ ६५ किलोमिटरमध्ये करिब ५७ किलोमिटर भाग कालोपत्रे भएकाले आवागमन सजिलो बनेको छ। यो खण्डको भौतिक प्रगति ६९ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत रहेको खनालले बताए।
त्यस्तै, नारायणघाट–बुटवल सडक योजनाको पश्चिम खण्डमा ४८ किलोमिटर ५३५ मिटर पर्छ। उक्त खण्डमा करिब ६१ प्रतिशत एकतर्फ कालोपत्रे भइसकेको छ। पश्चिम खण्डतर्फ दाउन्नेको १० किलोमिटर भाग पर्छ। उक्त भागमा करिब पाँच किलोमिटर खण्डमा ढलान गर्ने योजना रहेको इन्जिनियर विकास खनालले बताए।
'केही भागमा ढलान भइरहेको छ। मनसुन सक्रिय हुनेबित्तिकै ढलान रोक्छौं। किनकि त्यसले गुणस्तर कमसल बनाउँछ। बर्खा रोकिएपछि पुनः ढलान गर्छौं,' उनले भने, 'बर्दघाटदेखि पश्चिम खण्डको काम पनि रफ्तारमा भइरहेको छ।'
यस खण्डमा ९ वटा पुल रहेकामा ८ वटाको निर्माण पूरा भएको उनले जानकारी दिए। रोहिणी खोलाको पुल निर्माणाधीन छ। पश्चिम खण्डमा २५६ वटा बक्स कल्भर्ट रहेकामा २४४ वटा पूरा भएका छन्। ११ वटा निर्माणाधीन छन्।
इन्जिनियर खनालका अनुसार यो खण्डको भौतिक प्रगति ६१ प्रतिशत छ भने वित्तीय प्रगति ६३ प्रतिशत छ।
'यो बर्खामा यात्रुहरूले सास्ती पाउनु हुनेछ। किनभने, दाउन्ने खण्डमा भूबनोटका कारण केही समस्या निम्तन सक्छ। तर यो बर्खापछि ढलान र पिचको कामले पूर्णता पाउनेबित्तिकै सास्ती हटिहाल्छ। बजार क्षेत्रमा अहिले पनि रफ्तारले काम भइरहेकाले त्यति गुनासो छैन,' उनले भने।
नारायणघाट–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले सुरू गरेको थियो। कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो। यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थपिएको छ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि बढेको यो सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँ लागत रहेको छ। कुल ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुने छ। दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ।
राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। अहिले कामले गति लिएको र यात्रा केही सहज हुन थालेको छ। दाउन्ने खण्डमा भने समस्या उस्तै छ। यहाँ सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घन्टौं जाममा पर्नुपर्ने बाध्यता छ।
यो पनि पढ्नुहोस्:
***
-1752549279.jpeg)
-1752549280.jpeg)
-1752549279.jpeg)
-1752549278.jpeg)
-1752549278.jpeg)
-1752549278.jpeg)
-1752549278.jpeg)
-1752549276.jpeg)
-1752549276.jpeg)
-1752549275.jpeg)
-1752549275.jpeg)
-1752549274.jpeg)
-1752549274.jpeg)
-1752549273.jpeg)
-1752549273.jpeg)
-1752549272.jpeg)
-1752549271.jpeg)
-1752549270.jpeg)
-1752549270.jpeg)
-1752549267.jpeg)
-1752549267.jpeg)
-1752549267.jpeg)
-1752549267.jpeg)
-1752549265.jpeg)
-1752549264.jpeg)
-1752549263.jpeg)
-1752549263.jpeg)
-1752549262.jpeg)
-1752549262.jpeg)
-1752549260.jpeg)
-1752549260.jpeg)
-1752549259.jpeg)
-1752549259.jpeg)
-1752549258.jpeg)
-1752549257.jpeg)
-1752549257.jpeg)
-1752549256.jpeg)
-1752549256.jpeg)
-1752549256.jpeg)
-1752549255.jpeg)
-1752549255.jpeg)