पाठशालाको अस्तित्व मानवले सिर्जना गरेको हो। तर आज मानवको अस्तित्व सिर्जना गर्ने भूमिकामा पाठशालाहरू रहेका छन्। आदिम युगमा ‘हन्टिङ हतियार’ भाला भएझैँ आजको युगको ‘हन्टिङ हतियार’ शिक्षा बनेको छ। अद्यावधिक ज्ञान र सिप नै तिखो भाला सरह हुन्।
शिक्षा मानव सभ्यता विकासको आधारशिला हो भन्ने विषय निर्विवाद छ। मानव ‘जंगल युगबाट मंगल युग’मा पुग्नु परिष्कृत शिक्षा पद्धतिका कारण नै सम्भव भएको हो। आदिम युगमा हाम्रा पुर्खाहरूले जंगल चहारेझैँ हामी ई–संसार चहारिरहेछौँ। कृत्रिम बौद्धिकताले ‘सागर भुइँदेखि सगरको चुली’का तथ्याङ्कहरू वर्णन गर्न सक्ने भइसक्यो।
प्रारम्भमा जंगल त्यसपश्चात् नदी किनार र त्यसपश्चात् चौतारासँग जोडिएर विकास भएको मानव सभ्यता आज शिक्षालयसँग जोडिएको छ। मानव सभ्यताको पदयात्रा मार्ग करिब यहीँ नै हो। घाँस-दाउरा, पाखा-पखेरासँग जीवन व्यतीत गरेकाहरू पनि आफ्ना नातिनातिना सुटबुट लगाएर स्कुले बनिदिइन सोच्छन्।
हाम्रो जिन्दगीका प्रश्नहरू र उत्तरहरू त घाँस दाउरासँगै सती गए, यिनीहरूका जीवन्त रहुन् सोच्दा हुन्! उनीहरूले जीवनको विधि नै बुझ्न नपाए पनि शाखा सन्तानले सूचना र प्रविधि बुझुन् चाहन्छन्। आफूले सुकुलमा बस्न धौधौ वाला जिन्दगी जिउनु परे पनि नातिनातिनाले स्कुल वाला जिन्दगी जिउन सोच्दा हुन्। ज्ञान आर्जन र ज्ञान उपयोगमा अब्बल होउन् र जीवन महत्त्व बढाउन सोच्दा हुन्।
जटिल प्रश्नहरूबाट सरलताको सुरुवात हुन्छ। आधा जीवन सक्काउने विद्यालयदेखि विद्यावारिधिसम्मको शिक्षा आर्जन गर्न मानिस किन उद्धत छ? किनकि उसलाई आधा जीवन सकिएपछि नै जीवनको खास सुरुवात हुन्छ भन्ने लाग्छ। फेरि नि मानिस पलायन हुनुलाई विकसित हुनु ठान्ने प्राणी पनि हो। आदिम युगदेखि आजसम्मको मानिसको इतिहास पलायनकै इतिहास हो। यसै कारण मानिस दिनानुदिन यान्त्रिक बनिरहेको छ।
शिक्षाले मानिसलाई यान्त्रिक होइन, भावनात्मक बनाउनु पर्छ। नेपालको सन्दर्भमा बेलायती औद्योगिक क्रान्ति र औपनिवेशिकताबाट पूर्ण प्रभावित शिक्षा पद्धतिले हरेक विद्यार्थीलाई प्रडक्टको रूपमा अर्थ्याउने काम गरेको महसुस हुन्छ। शिक्षणको प्रतिफल के हो भन्ने विषय नै प्रस्ट नभएको शिक्षा पद्धतिको अवलम्बन गर्दै हामीलाई मार्ग निर्देशित गर्न खोजिएको धेरै भयो।
आज पुँजीवादले शिक्षालाई फेन्सी बनाएको छ। ज्ञानको गहनताभन्दा औपचारिक शिक्षा आर्जनको मूल्य बढी हुन गएको छ। शिक्षाको मूलभूत लक्ष्यलाई विषयान्तरण गरिएको छ। शिक्षालाई शिक्षाको मूल उद्देश्यबाट विमुख गराइँदै छ। बेलायती औद्योगिक क्रान्ति पछिको शिक्षा इतिहास यसै प्रकार छ। विद्यार्थीलाई वस्तु सम्झिने ढाँचाबाट मानव विकासलाई महत्त्व दिइने शिक्षा पद्धतिको विकास सरोकार वालाहरूको मूल लक्ष्य बन्नुपर्छ।
विद्यार्थी वस्तु वा पदार्थ होइनन्, यी त सृष्टिका उन्नत बिउ हुन्। यिनीहरूलाई फक्राउनु पर्छ भन्ने भावलाई बढवा दिइनु पर्छ। ‘हुम्लादेखि हार्वर्ड’ सम्मका शिक्षा–सरोकार वालाले यहीँ सोच्नुपर्छ। साथै, शिक्षा कति आत्मपरक र कति यन्त्रपरक हुनुपर्छ भन्ने गहन विषय हो। शिक्षा पद्धतिलाई यहीँ घनचक्करबाट माथि उठाउनु पर्छ।
सूचना, विज्ञान प्रविधि र भौतिक विकासमा मानिसको पहुँच बढ्दो छ। यसले सिकाइलाई थप प्रभावकारी बनाउनुको सट्टा सतही बनाइरहेछ। विकल्पहरूले विषयहरूलाई सतही ढङ्गले मात्र बुझ्न उद्धत गराइरहेछन्। ज्ञान आर्जन स्रोतका विकल्पहरू बढ्दै जाँदा जिज्ञासा भावमा कमी आउँदै गरेको भान हुन्छ। संस्कार, जीवन उपयोगी सीप र सामाजिक सम्बन्धका आयाम ‘लर्न’ गर्ने तरिकामा ‘कस्मेटिक पन’ ल्याइँदै छ।
एल्गोरिदम हाबी भएको छ। ज्ञानलाई प्राकृतिक ढङ्गले उन्नत हुन दिइएको छैन, एक पक्षबाट घोच्ने काम मात्र भएको पाइन्छ। अर्को तर्फ, सिकाइलाई चार भित्तामा सीमित राख्दै कोरा बनाउने काम पनि पुँजीवादले गरिरहेको छ। प्लास्टिकका हरिया पातमा भन्दा रुखका सुकेका पातमा बढी जीवन दर्शन हुन्छ भन्ने कुरालाई बेपरवाह गरिँदै छ।
बौद्धिक पक्ष माथि अनुभवात्मक पक्षहरूलाई हाबी गराउनु शिक्षाको मूल दायित्व हो। तर आजको नेपाली शिक्षा पद्धतिमा सिकाइलाई भन्दा परीक्षा नतिजालाई ध्यान दिइँदै छ। भोगाइभन्दा रटाइलाई महत्त्व दिइँदै छ। यसरी नै उच्च शिक्षा हासिल गरेको वर्गले समाजमा उल्लेख्य स्थान ओगटेको छ। औपचारिक शिक्षा हासिल नगरेका नागरिकहरूलाई दोस्रो दर्जाका रूपमा अर्थ्याइन्छ। यस्तो आडम्बरको खोल ओढाउने काम हाम्रा शिक्षालयहरूले गरिरहेको आभास हुन्छ।
क्यारम बोर्डको सेतो धुलोले लतपतिएको युवा नाङ्लो बुन्दा हात खोपिएर पनि मुस्कुराइरहेका बा’सँग आडम्बर ढङ्गले प्रस्तुत हुन्छ। हाम्रा कक्षागत पुस्तकमा किसानका तस्बिर झुत्रा हुन्छन्। शिक्षाले समाजमा यस्तै बिम्बहरू निर्माण गर्न खोजिरहेछ। अनि हाम्रो शिक्षा पद्धतिले ‘जीवन मर्म’ सिकाइरहेछ कसरी भन्न सकियो र!
भोगाइहरू जीवनपर्यन्त सम्झनामा रहन्छन्, पढाइ नरहन पनि सक्छ। यस कारण सिकाइलाई बौद्धिक श्रमद्वारा भए पनि भोगाइमा रूपान्तरण गराउने काम हाम्रो शिक्षा पद्धतिले गराउनु पर्छ। विद्यार्थीको शैक्षिक पाण्डित्यलाई अनुभवमा रूपान्तरण गराउने अनेक उपायहरू अवलम्बन गर्नुपर्छ। यो नै शिक्षाको प्रगतिशील चरित्र हो।
स्कुलहरूले फक्राउनेभन्दा जड सोचहरू विकास गराउने काम गरिरहेछन्। प्रश्न सोधिन्छ, भविष्यमा के बन्छौ? उत्तर आउँछ— डाक्टर, पाइलट वा इन्जिनियर।
विद्यार्थीका उत्तरमा विविधता नै हुँदैन। किनकि विद्यार्थी स्वनिर्देशित हुनै पाइरहेका छैनन्। उनीहरू जडवत परिवेशद्वारा निर्देशित छन्। स्कुलमा नेपाली भाषामा बोल्दा सजाय दिने काठमाडौँका केही निजी स्कुलहरूको शैली घरघोर जडता र पूर्वाग्रहको अर्को ज्वलन्त उदाहरण हो।
स्कुलहरू गमला हुन्, उच्च शिक्षालयहरू जमिन हुन्। स्कुले शिक्षाले स्वभावको विकास गराउँछ, उच्च शिक्षाले स्वज्ञानको पहिचान गराउँछ। जसको बलमा विद्यार्थीले स्वनिर्देशित हुनसक्ने क्षमताको विकास गर्छन्। मानिस जिन्दगीमा के—कसो गर्ने भन्ने तर्फ उद्धत हुन्छन्।
स्कुले शिक्षाले बामे सर्न सिकाउँछन्, उच्च शिक्षाले अनगिन्ती मध्ये कुन बाटो हिँड्ने भन्ने सिकाउँछ। आफ्नो बाटो आफै पत्ता लगाउने सामर्थ्य निर्माण गराउँछ। ‘अग्निपथ’ चयन गर्ने कि ‘जलपथ’ चयन गर्ने भनेर। हाम्रो देशको स्कुले शिक्षा हरेक दिन ज्ञान सिकाउने हुनुपर्यो, उच्च शिक्षा अनुभव थप्ने हुनुपर्यो। जस कारण हरेक नागरिक परीक्षा र जिन्दगी दुवैमा उत्तीर्ण हुने सामर्थ्य आर्जन गर्नेछन्।