पहिले पहिले रिलवाला क्यामेरा हुन्थ्यो। साथीभाइ पैसा उठाएर एक रोल रिल किन्यो, लगभग छत्तीस वटा जति फोटो आउँथ्यो। त्यसमा पनि कुनै कुनैमा लाइट नमिलेर, कुनै कुनैमा लाइट छिरेर, कुनैमा फोटो खिच्न खिचिक्क पारेकै बेला आँखा झिमिक्क हुन गएको कारणले आँखा चिम्लिएको फोटो आउने जस्ता यावत समस्याले गर्दा एक रिलले अलि हेर्न हुने फोटा तीसभन्दा बढी निस्किँदैन थ्यो।
फोटो खिचेर मात्र भएन! धुलाउनु पनि पर्यो! धुलाउने काम पनि दुई चरणमा हुन्थ्यो। पहिला रिललाई डेभलप गर्ने भन्थे। अनि डेभलप गरेको रिललाई उज्यालोतिर फर्काएर सेता सेता कपालभित्रका काला काला अनुहार चिन्दै हरेक जनाले म यो यो फोटो मात्र धुलाउँछु भनेर छानेपछि मात्रै फोटो धुलाउने अन्तिम अर्डर दिइन्थ्यो। भन्नाको अर्थ, खिचेका जति जम्मै फोटा धुलाइँदैन थिए। पछि धुलाउने भनेर राखेको रिल मान्छेका एल्बममा वर्षौँ रहन्थे।
अहिलेको जस्तो हात-हातमा क्यामेरा नभएकोले फोटो खिचाउनु मान्छेको रहरको कुरा थियो। घरभित्रको चाडपर्व, घर बाहिरको सामाजिक कार्यक्रम, साहित्यिक गोष्ठी इत्यादिमा एक जनाले क्यामेरा समाएको देख्नासाथ ‘खोइ खोइ, मेरो पनि एउटा!’ भन्दै अघि सरेर तनक्क तन्किने कोही न कोही निस्किहाल्थ्यो।
लोग्ने-स्वास्नीको एक पोज खिच्न उभिएको बेला ‘म पनि है’ भन्दै छेउमा आएर उभिने मान्छेले गर्दा रिसले भित्रभित्रै मुरमुरिए पनि कोही केही पनि बोल्न सक्दैन थिए। क्यामेराम्यानले यता र उता, अगाडि र पछाडि गर्दै गरेका बेला फोटो खिच्न उभिएकी महिलाले सारीको सप्को र कपाल मिलाउँदा मिलाउँदै वरपरका मान्छे एकपछि अर्को गर्दै घुस्रिँदै आउँथे। अनि फोटो खिच्नेले ‘रेडी, वन, टु’ भनेकै बेला ‘एकछिन है, एकछिन है’ भन्दै एक जनाले रोक्दथ्यो र ‘ठुल्दिदी, तपाईं पनि आउनु न’ भन्दै कराउँथ्यो।
तर पनि सिङ्गल खिच्ने र डबल खिच्ने रहर हुनेहरूले क्यामेराम्यानलाई यताउता ओल्टोकोल्टो तानेर एक दुई पोज नभ्याउने पनि होइनन्। सामान्यतः यसो उभिएर अथवा बसेर खिच्ने चलन भएको भए पनि कोही कोही चाहिँ दिदी-बहिनी हात मिलाएर अनि कोही दुई भाइ अँगालो मारेर त कोही सिंगल नै खिचे पनि गुलाबको फूल सुँघ्दै गरेको पोजमा खिच्ने गर्दथे भन्ने कुरा पुराना एल्बमहरू हेर्दा थाहा हुन्छ!
कोही कोही चाहिँ क्यामेरा देख्ने बित्तिकै लुक्न खोज्ने पनि हुन्थे। ‘आउनु कि आउनु’ भनेर तानेर अघि सार्दा पनि पछि हट्ने मान्छेहरू नभएका होइनन्। कोही कोही चाहिँ फोटो खिच्न त्यति मन नगर्ने तर कसैले कर गरेको बेला ‘लौ न त’ भनेर उभिइदिने मान्छे पनि हुन्थे।
क्यामेराम्यानको फेरि भिन्नै पोज हुन्थ्यो! घाँटीमा क्यामेरा झुन्ड्याएर यता र उता ताहुरमाहुर गरिरहेको बेला मान्छेले उसलाई ‘मेरो पनि, मेरो पनि’ भन्न आउने अनि मुखले नभन्नेहरूले पनि आस राखेर ऊतिर पुलुक्क पुलुक्क हेर्ने भएकोले क्यामेरा बोक्ने मान्छेलाई एक किसिमको पावरको गर्व हुन्थ्यो।
अरू बेला जति कमजोर भए/देखिए पनि क्यामेराम्यानको जिम्मा पाएको मान्छेको छुट्टै पदीय ओज हुने गर्दथ्यो। क्यामेरामा एक आँखोले चियाउँदै र अर्को आँखो चिमिक्क चिम्लिएर मुख र गालाको छाला चाउरी पर्ने गरी तन्काउँदै अनि एक खुट्टो अघि र अर्को खुट्टो पछि सार्दै, घरी बस्न खोज्दै त घरी उठ्न खोज्दै लामो समय लिएर फोटो खिच्ने मान्छेको रवाफ गजबको हुन्थ्यो। वास्तवमा भन्ने हो भने चाडबाड र पिकनिक जस्ता अवसरहरूको खास रौनक त क्यामेराम्यानको हाउभाउ बिना अपूरो नै रहने गर्दथ्यो भन्दा फरक नपर्ला!
उसो त त्यसरी क्यामेरा बोक्नेको अघिपछि लागेर मात्र फोटो खिच्नुपर्ने बाध्यता त थिएन। रहर हुनेहरू खल्तीमा पैसा बोकेर फोटो स्टुडियो गई गई पनि फोटो खिचाउने गर्दथे। स्कुल, कलेजका विद्यार्थीहरू पनि ग्रुप ग्रुप गई स्टुडियोमा फोटो खिचाउँथे।
जे होस्, त्यसरी अनेक प्रकारले अनेक अवसरहरूमा खिचेका ती पुराना फोटाहरू आजका दिनमा आइपुग्दा जीवनको मिठो सम्झनामा परिणत भएका छन्। पुरानो एल्बम हेर्दै ‘अबुई, तिमी त कस्ती अर्कै पो थियौ है? लौ यो फोटोमा म कुन हो चिन त! लौ भान्जालाई चिनेनौ? आमा नि त! काकी त पहिले कस्ती हिरोइन जस्तै पो हुनुहुँदो रहेछ! ल हेर जमानाको फेसन, माइला मामाको गोगो पेन्ट, लौ यो सानाबाको दारी-जुँगावाला पोज!’ भन्दै गर्दा आउने आनन्द अमूल्य छ।
जीवन भन्ने कुरा केवल धन सम्पत्ति संकलनको दौडाहा मात्र होइन, बरु पुराना पलहरूको सम्झनाको मिठास पनि हो भन्ने सत्यलाई एल्बमका ती पुराना फोटाहरूले प्रमाणित गर्दछन्।
क्यामेरा भनेको यस्तो मेसिन हो जसले बेलाबेलाका क्षणहरूलाई कैद गरेर सुरक्षित राखिदिन सक्दो रहेछ। तर आज हामीलाई पुरानो फोटोहरू हेर्दा जुन आनन्द आउँछ, त्यही किसिमको आनन्द हामीले आज हात-हातमा बोक्ने गरेको स्मार्टफोनले खिचेका अनगिन्ती फोटोहरूले भविष्यमा पनि देलान् त?
हामीले आज हरेक व्यक्तिले हात-हातमा बोकेका फोनका क्यामेराले सजिलै खिच्ने गरेका फोटोहरू यति धेरै छन् भनेर साध्य छैन। असाध्य भएपछि तिनको जतन पनि नहुने रहेछ।
फेसबुक तथा अन्य मिडियामा कैद फोटोहरूको पनि मलाई चाहिँ त्यत्ति धेरै भर लाग्दैन किनकि सफ्टवेयर प्रोग्रामहरू फेरबदल भइरहने कारणले गर्दा आज खिचेका फोटाहरू एक दुई दशकपछि अलप हुने हुन कि भन्ने डर लाग्छ मलाई त! त्यसैले यी फोनले खिचेका फोटाहरू मध्ये आफूलाई चित्त बुझेका केही केही फोटाहरू छानेर बेलाबेला पहिलेकै जस्तो कागजमा धुलाउने गरेको छु मैले।
तपाईं पनि बेलाबेला फोटो धुलाएर एल्बममा राख्ने गर्नुस्। एक दिन तपाईंलाई त्यो पुरानो बेलाको याद आउन सक्छ र त्यतिखेर ‘हत्तेरिका! धुलाएर राख्नु पर्ने रहेछ भन्ने पछुतो नहोस्।