जल तथा मौसम विज्ञान विभागले नेपालभर केही दिन भारी वर्षा हुने देखिएकाले सचेत रहन सूचना जारी गरेको छ। योसँगै विभिन्न विपदका समाचार आउने क्रम पनि बढेको छ।
हामी भूगोल र भौगोलिक अवस्थितिका कारण सधैं विपदको सिकार हुँदै आइरहेका छौं। यो क्रम वर्षायाममा झनै बढ्छ। हरेक वर्षजस्तो बाढी, पहिरो, डुबान, आगलागी जस्ता विपद र भूकम्पले पनि हाम्रा संरचनामा असर पारेका छन्।
हामीले ठूलो धन, मेहनत र समय खर्चेर बनाउने सडक, पुल, भवन, खानेपानी तथा ढल र विद्युतीय लगायत अन्य संरचनामा सानादेखि ठूला विपदले असर पारेको देखिन्छ। यसले गर्दा ती संरचनाको पुनर्निर्माण, मर्मत तथा स्तरोन्नतिमा मात्र हाम्रो समय र लागत बढ्छ।
हामीले भोग्दै-देख्दै आएका यस्तै विपद तथा अन्य कारणबाट किन हाम्रा संरचना बढी प्रभावित भइरहेका छन् त?
सबभन्दा पहिले सडक र यससँग सम्बन्धित संरचनाको चर्चा गरौं।
हरेकजसो वर्षायाममा हाम्रा राजमार्ग अवरूद्ध हुन्छ र विभिन्न स्थानमा सडक तथा पुलमा बाढीपहिरोले असर गर्छ। यसैगरी विभिन्न समयमा अरूण, मौवा, तुरीया, रातु, सत्ती, महुली, भप्सी लगायत खोलानदीमा पुल भासिएको वा भत्किएको समाचार पनि हाम्रा लागि नौलो होइन। हाम्रा राजमार्ग मात्र नभई ग्रामीण सडकमा पनि पानी, बाढीपहिरोले गम्भीर असर गर्ने गरेको छ।
कठिन भूगोलमा सडक बनाउँदा अपनाउनुपर्ने न्यूनतम विधि पनि नअपनाई गरिने निर्माणले पनि विपदमा जोखिम बढाएको छ। सडक र पुल मात्र होइन, हामीले निर्माण गर्ने अन्य संरचनाको विकास समेत बालुवामा पानी हाले सरह हुने गरेको छ। खानेपानीको मूल पहिचान तथा वितरण प्रणालीको विकास, ढल निकासको उचित व्यवस्थापन, विद्यालय र अन्य सरकारी भवन निर्माण, जलविद्युत संरचनाको विकास पनि दिगो र प्रभावकारी छैन।
ठूलो धनराशी खर्चेर डिजाइन तथा निर्माण गरिएका विद्यालय तथा अन्य सरकारी भवनमा भूकम्पका बेला परेको प्रभाव, खानेपानी तथा ढल निकासको अवैज्ञानिक वितरण तथा निकास प्रणाली र त्यसले ल्याइरहने समस्या आदि यसका ज्वलन्त उदाहरण हुन्।
के यस्तो नियतिलाई केबल विपदका कारण परेको असर मात्र भनेर हामी पन्छिन मिल्छ?
कदापी मिल्दैन।
अर्बौं खर्च गरेर बनाएका संरचना बर्सेनि ध्वस्त भइरहँदा हामीले संरचना बनाउँदा लिएको नीति, अध्ययन प्रक्रिया, पद्धति, आदिमै त्रुटि भए-नभएको समीक्षा हुन जरूरी छ। हामीले हरेक वर्ष उस्तै प्रकृतिको कामका लागि बजेट खर्च गरिरहने तर उपलब्धि न्यून हुँदा यसको जवाफदेही को हुने हो?
हामीले गर्ने प्रायः जसो निर्माणका लागि सरकारी निकायहरूले अध्ययन तथा डिजाइन तयार गर्न परामर्शदाता छनोट र निर्माण गर्न ठेकेदार छनोटका लागि लागत अनुमान र कार्यसूची तयार गर्ने गरेका छन्। हाल गाउँपालिका र नगरपालिकाबाट स्थानीय स्तरमा डिपिआर तयारी तथा अन्य अध्ययनका नाममा ठूलो धनराशी खर्च हुने गरेको छ। स्थानीय निकाय आउनुपूर्व सम्बन्धित विधामा काम गरिरहेका सरकारी अड्डाहरूले समेत फरक नाममा सोही प्रकृतिको काम गर्ने गरेका छन्।
स्थानीय निकायको कुरा गर्दा अपारदर्शी तवरले परामर्शदाता तथा ठेकेदार छनोट गर्ने, अध्ययन गुणस्तर न्यून भए पनि त्यसलाई अवमूल्यन गर्ने र केवल बजेट खर्चतर्फ मात्र ध्यान दिने, गुणस्तरीय निर्माणका लागि आवश्यक लागत अनुमान तयार गर्ने तर निर्माण गुणस्तर जस्तोभए पनि आँखा चिम्लने गरेको देखिन्छ।
यसैगरी आर्थिक पारदर्शितामा समेत ठूलो प्रश्न खडा हुने गरेको छ। केन्द्रीय र प्रादेशिक निकायबाट काम गर्ने अड्डाहरूको परामर्शदाता र ठेकेदार छनोट काम स्थानीय निकायको भन्दा केही पारदर्शी भए पनि मिलेमतोमा ठेक्का हाल्ने, ठेक्का हात पार्न हरेक अस्त्र प्रयोग गर्ने खालका गतिविधि निरुत्साहित नभएको देखिन्छ।
एउटा अध्ययन वा निर्माण गर्न ठेक्का हाल्ने परामर्शदाता वा ठेकेदार कम्पनीले आफूले कबोल गरे बमोजिमको गुणस्तर कायम नगर्ने, कुनै अध्ययन कार्यका लागि निश्चित अनुभव भएको विषय विज्ञ प्रयोग गर्नुपर्नेमा अनुभवविहीन व्यक्ति प्रयोग गर्ने, निर्माणका लागि गुणस्तर कायम गर्न आवश्यक निर्माण सामग्री सही तथा उचित मात्रामा प्रयोग नगर्नुका साथै कमसल वस्तुको प्रयोग गर्ने गरेको देखिन्छ।
हामीले निर्माण गरिरहेका संरचना दिगो नहुनुका केही अन्य कारण पनि छन्। पहाडी भूगोलमा सडक निर्माण गर्दा पहाड कटान गर्ने तर त्यसको उचित स्थिरीकरण नगर्ने, स्थिरीकरणका लागि ढुंगाको गारो लगाउने वा ग्याबिनमा ढुंगा भर्नेबाहेक अन्य उचित विधि प्रयोग नगर्ने, पानी निकास निर्माण नगर्ने आदि गतिविधिले समस्या पैदा गरेको छ।
पहाडी मात्र नभइ सहरी सडक र राष्ट्रिय राजमार्गमा समेत उचित निर्माण पद्धति र डिजाइन अवलम्वन नगर्दा हरेक वर्षातमा असर पुग्ने गरेको देखिन्छ। भूगोल सुहाउँदो डिजाइन बनाउनुपर्नेमा एउटा ठाउँ र प्रयोजनका लागि बनाइएको डिजाइन अर्कै ठाउँमा हुबहु प्रयोग गर्दा सो अनुसार हुने निर्माणले समेत समस्या निम्त्याउने गरेको देखिन्छ।
यसका कारण वर्षातमा सडक हिलाम्मे हुने, भासिने, पहिरो खस्ने समस्या हुन्छ भने पुल जस्ता संरचना भत्किने वा भासिने समेत हुन्छ। सोको पुनर्निर्माण तथा मर्मतसम्भारमा ठूलो धनराशी खर्च भइरहेको छ।
भवन निर्माण गर्दा अनुभवहीन निर्माणकर्मी, कमसल निर्माण सामग्री, आवश्यकभन्दा कम निर्माण सामग्री प्रयोग, जमिनको आवश्यकता अनुसार जग लगायत संरचना प्रयोग नगर्ने आदि कारणले समस्या पारेको देखिन्छ। यसैगरी वैज्ञानिक तवरबाट खानेपानीका पाइप नबिछ्याउने र आवश्यक अभिलेख नराख्नाले पानी चुहावट हुने, सडक वा अन्य संरचना मर्मत गर्दा पाइप फुट्ने र वितरण प्रणालीमा असर गर्ने गरेको देखिन्छ।
ढल निकासका लागि उचित अध्ययन र भविष्यको आवश्यकताको पूर्वानुमान नगर्दा र कुन स्थानमा समस्या छ भनी उत्खनन् नगरी पत्ता लगाउने प्रविधि नहुँदा ढल मर्मत र स्तरोन्नतिमा सडक भत्काउनुपर्ने, चुहावटका कारण सडक भासिने र खानेपानीको वितरणमा असर पुग्ने गरेको छ।
एउटा प्रकृतिको भूगोल र कामका लागि बनाइएको डिजाइन अन्य फरक प्रारूपको कामका लागि प्रयोग गर्ने प्रवृत्ति हरेक किसिमको निर्माणमा हावी हुँदै गएको देखिन्छ। यसले गर्दा कुनै ठाउँमा आवश्यकताभन्दा धेरै लागत पर्ने र कतै चाहिनेभन्दा कम डिजाइन प्रयोग हुन्छ अनि संरचना पनि कमजोर बन्छ।
हामीले बनाउने कुनै पनि संरचना जीवनभर मर्मतबिना आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्षम हुँदैनन्। कुनै पनि संरचना मर्मतसम्भार र प्रबलीकरणका लागि उचित र नियमित अध्ययन हुनुपर्छ, तर हुने गरेको देखिँदैन। एउटा संरचनाको नियमित र यथोचित मर्मतका लागि लाग्ने लागत पुनर्निर्माणभन्दा धेरै नै कम हुन्छ।
पुलजस्ता संरचनाको नियमित मर्मत नभएमा भत्किने, भासिने सम्भावना बढ्छ। यसले निम्त्याउने क्षति झन् डरलाग्दो हुन्छ।
अर्को उदाहरण, ढलको नियमित मर्मत नभए निकासीमा समस्या हुने तथा सडक र सहरी क्षेत्र जलमग्न हुने स्थितिलाई लिन सकिन्छ।
कुनै संरचना बलियो र दिगो हुने गरी निर्माणका लागि धेरै विषयको उचित समन्वय हुन जरूरी हुन्छ।
सबभन्दा पहिले राजनीतिक वा आर्थिक प्रभावबाट नभई आवश्यकता र औचित्यका आधारमा संरचना विकास हुन जरूरी छ। हालको अवस्थामा प्राविधिक विषयलाई अवमूल्यन गरी कुनै निश्चित लाभका लागि बजेट बिनियोजन र खर्च हुने गरेको छ। यसपछि कुनै कार्यालय आफैंले गर्न सक्ने डिजाइन परामर्शदातामार्फत नगराएमा धेरै सरकारी बजेटको सही सदुपयोग हुने आशा गर्न सकिन्छ।
तर लागत अनुमान र कार्यसूची कुनै निश्चित परामर्शदाता लक्षित भइ बनाउने, परामर्शदाता छनोटमा मिलेमतो हुने, मुख्य ध्येय बजेट सक्ने र अनैतिक लाभ लिने मात्र भए हाम्रो अध्ययन कमसल हुने निश्चित छ।
डिजाइनको उपादेयता र गुणस्तर मापन नगरी प्रतिवेदन स्वीकृत गरेमा त्यसको असर संरचनामा पर्छ। कुनै डिजाइन उत्कृष्ट भए पनि ठेकेदार छनोटमा पारदर्शिता नअपनाउने, निश्चित उद्देश्य पूर्तिका लागि मात्र काम गर्ने, निर्माण सामग्रीको गुणस्तर तथा यथोचित प्रयोगमा ध्यान नदिने हो भने हामीले हाम्रो बजेट बालुवामा पानी हाले जसरी खर्च हुनेछ।
धेरै विपद जोखिम भएको हाम्रो देशमा सबै संरचना विपद थाम्ने बनाउन त सकिँदैन। तर डिजाइनको गुणस्तरमा ध्यान नदिइ बजेट खर्चलाई मात्र सफलता मान्ने र लाभ लिने प्रवृत्ति हावी हुँदै गएमा अझ धेरै विनाशको सम्भावना छ।
(लेखक सरकारी सेवामा इञ्जिनियरका रुपमा कार्यरत छन् )