करिब एक दशकअगाडि मैले मेरो छोरालाई बिदामा घुमेर फर्किएपछि यात्रा वृत्तान्त लेख्न लगाएँ। छोराले अन्कनाएर लेख्न अल्छी मान्यो। उसलाई प्रोत्साहन गर्न मैले भनेँ, ‘ल नाति-बजू दुवै जनाले लेख्ने, कसको राम्रो हुँदो रहेछ?’
मेरी सासू मा हौसिएर लेख्न थाल्नुभयो। नाति पनि प्रोत्साहित भएर लेख्न राजी भयो। सासू माको यात्रा वृत्तान्त लेखाइ पढेपछि मैले उहाँलाई अनुरोध गरेको थिएँ, ‘मा, तपाईंले जीवनमा धेरै आरोह-अवरोह देख्नुभएको छ, चुनाव लड्नुभएको छ, समाजसेवाका लागि गाउँ-गाउँ दूरदराज हिँड्नुभएको छ। आफ्ना छोराछोरीको भाग्य र भविष्य बनाउन धेरै संघर्ष गर्नुभएको छ। लेख्नुहोस् न आफ्ना जीवनका कथाहरू।’
उहाँ मुस्कुराउनुभयो। एकछिन टोलाउनुभयो। सोचेँ- उहाँ आफ्नो विगतमा पुग्नुभयो।
एकछिन पछि ‘हुन्छ’ भन्ने भावमा टाउको हल्लाउनुभयो। तर उहाँको टाउको हल्लाइअनुसार आफ्नो जीवनका कथा लेख्नुभएन। न त पछि मैले नै झक्झक्याएँ।
समय बित्दै गयो। माले बिस्तारै सामान्यभन्दा फरक व्यवहार गर्न थाल्नुभयो। पटक-पटक पुगेको ठाउँमा जाँदा पनि यस घरमा पहिलोचोटि आएको भन्न थाल्नुभयो। अनि छिनछिनमा चिया खान खोजिहाल्ने। बाहिर गएर आएपछि ढोका खोलेर चाबी बाहिर ढोकामै झुन्डिएको अवस्थामा छिमेकीले ढोका ढकढक गर्दै चाबी बुझाउन आएका घटना बढ्न थाले। कहिले मध्यरातमा उठेर ‘लौ बिहान भएछ’ भन्दै नुहाउनु खोज्दा हामी उहाँलाई जिस्क्याउन थाल्यौं। तर के हुँदैछ भन्ने कुरा बुझेनौं।
यसै प्रसंगमा हाम्रा पारिवारिक मित्र डाक्टर दाइ-दिदीले शंका गर्नुभयो- ‘कतै आमालाई हल्का डिमेन्सिया (बिर्सने रोग) सुरू भएको त होइन?’
यही प्रश्नबीच मेरी श्रीमतीले पनि सबै लक्षण विचारेर डाक्टरकहाँ जचाउन जाँदा त्यो कुरा मिल्न गयो। अनि उपचार सुरू भयो। एकदिन मा नातिलाई स्कुल पुर्याउन जानु भएपछि धेरै बेरसम्म घर फर्केर आउनुभएन। मा मर्निङ वाक गर्ने भएकाले त्यतै जानुभयो भन्ने सोचियो। पछि निकै बेरसम्म घर नआएपछि हामीले खोजी गर्यौं।
निकै बेरपछि घर नजिकै उहाँलाई भेट्यौं। बिस्तारै घर आउँदै हुनुहुँदो रहेछ। अनि सम्झिन थाल्नुभयो, अर्कै बाटो पो लागेछु भनेर।
हामी गम्भीर भयौं। डाक्टरसँग सरसल्लाह गर्यौं। डाक्टरले यसको कुनै उपचार नभएको भन्दै अब बिस्तारै बिस्तारै बढ्दै जाने बताए।
‘धेरै किसिमको डिमेन्सियामध्ये उहाँलाई पुरानो कुरा सम्झिने तर नयाँ कुरा बिर्सिने किसिमको लागेको छ। उहाँले अब पुरानो कुरा गर्न मन पराउनु हुन्छ। पुरानो ठाउँ र पुराना मान्छे याद गर्नु हुन्छ। त्यसैले उहाँलाई उहाँको बाल्यकाल बितेका ठाउँमा राख्यो भने धेरै सहज अनि रमाइलो मान्नुहुन्छ,’ डाक्टरले सल्लाह दिए।
हामी चाहन्थ्यौं- आमा हामीसँगै हुनुहोस्। अझ नातिहरू उहाँसँगै हुर्किएकाले अजी (बजू) सँग विशेष आत्मीयता अनुभूति गर्थे र माया पनि। नातिहरूले हाम्रो नेपाली संस्कृति र संस्कार उहाँबाटै सिके। बाजे बजूको माया र छहारी पाएको बच्चा अलि फरक हुने देखिएले हामी उहाँको छहारी साथमा रहोस् भन्ने चाहन्थ्यौं।
तर उहाँ हरदम नेपाल जाने कुरा गर्न थाल्नुभयो। कुनै पनि बेला भनिहाल्नु हुन्थ्यो, ‘मलाई नेपालको टिकट काटी देओ न।’
पछि त उहाँ आफ्नो सामान सुटकेसमा हालेर तल झर्दै 'अब म नेपाल जाने' भन्न थाल्नुभयो।
उहाँका दुई भाइ छोरा र नातिनातिना नेपालमा भएकाले पनि होला, उहाँ नेपाल जाने कुरामा जिद्दी नै गर्न थाल्नुभयो। आफन्त र डाक्टरको सल्लाहपछि उहाँलाई सोही समयमा नेपाल जाँदै गर्नुभएका शुभचिन्तक बिके पाण्डेको साथमा पाँच वर्षअगाडि नेपाल पठायौं।
उस्तै रोगले ग्रस्त आफ्नो बुवाको वर्षौं सेवा गरेका अनुभवी पाण्डे सरले आमाको सेवा र हेरचाह गर्दै नेपाल पुर्याउन अविस्मरणीय भूमिका निर्वाह गरिदिनुभयो।
जसै आमा नेपाल पुग्नुभयो, उहाँमा सकारात्मक परिवर्तन सुरू भयो। उहाँ इलाममा परिवारसँग खुसी देखिन थाल्नुभयो। नातिनातिना अनि छोराबुहारी र आफन्तसँग रत्तिनुभएको सुनियो। हामीले उहाँलाई मिस गरे पनि आफ्नो पुरानो थलोमा साथीभाइसँग भेट गर्दै वरपर घुम्नु थाल्नुभएको सुनेर हामीले आनन्द महशुस गर्यौं।
हामीसँगको प्रत्येक फोनवार्तामा छोरीसँग सधैं एउटै वाक्य दोहोर्याउनु हुन्थ्यो, ‘तिमीहरू यसपालि दसैंमा आउने हैन?’
छोरीले जवाफमा ‘हुन्छ हामी आउँछौ मा’ भनेपछि माको मुहार उज्यालो देखिन्थ्यो।
छोरीको मन न हो, आमाको एकोहोरो दसैंमा आउने होइन? भन्ने जिज्ञाशाले मन थाम्न गाह्रो भयो। हामी सन् २०१७ देखि नै प्रत्येक वर्ष नेपाल गयौं अनि कोरोना महामारी सुरू हुनुभन्दा अगाडिसम्म पालैसँग दसैंमा नेपाल गयौं। माको हातको टीका लगायौं, आशीर्वाद थाप्यौं।
कोरोना महामारीले पछिल्ला दुई वर्ष नेपाल जान पाएनौं। यही दुई वर्षमा माको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गयो। अब त उहाँले कसैलाई चिन्नसमेत छाड्नुभयो। अरू त अरू, आफैंले जन्माएका छोराछोरी पनि चिन्न छोड्नुभयो।
फोनमा जति नै कुरा गरे पनि छोरीलाई चिन्नुहुन्न। साथमै रहेका छोराबुहारी र नातिनातिना पनि चिन्न छाड्नुभयो।
हामीले देखेको मा अब उही मा रहनुभएन। मेरी श्रीमती उर्मिला (उहाँकी छोरी) ले आफ्नी माको विगत सम्झिँदै भन्छिन्, ‘मेरी मा यस्तो हुनुहुन्थ्यो। उसबेलाको महिलालाई घरबाट निस्कन गाह्रो जमानामा पनि झोला बोकेर महिलाको हकहितका लागि र महिलाको आयआर्जनका लागि नारी विकास कोष अनि लुथरनको कार्यक्रम लिएर गाउँगाउँ पुग्नु हुन्थ्यो। सीमापारि दार्जिलिङ गएर आफू सीप सिकेर आउने अनि इलामका महिलालाई अनेक सीप सिकाउनु हुन्थ्यो। महिला संगठनको गतिविधिमा सक्रिय उहाँ चुनावमा समेत भाग लिएर जितेर अबिरैअबिरले रातै भएर घर आउनु हुन्थ्यो।’
इलाम जिल्लाकै पहिलो फोटो स्टुडियो चलाएर सयौं मानिसको फोटो खिच्दै आफैं अँध्यारो कोठामा बसेर नेगेटिभ धुँदै फोटो तयार गरेको ती सक्रिय मा सम्झिँदै अहिलेकी माको अवस्था देखेर बेला बखत उनी भक्कानिन्छिन्।
भर्खर भर्खर इलाममा बस चल्दै गर्दा काठमाडौं पढ्न जाने छोरालाई बस चढाएर बिदा गर्दै घर आएर भक्कानिँदै गरेकी मा अनि छोरा कलेज छुट्टीमा दसैंमा इलाम आउँदैछ भनेर महिना दिन अगाडिदेखि ‘मेरो छोरालाई यो मन पर्छ, ऊ मन पर्छ’ भन्दै किन्दै सन्तानको मायाले मिठो कुरा जोगाएर राख्ने ती माले आफ्ना सन्तान नै नचिनेको क्षण सम्झेर भावविह्वल हुन्छिन्।
माइखोलाको वृद्धाश्रम भनेपछि मरिहत्ते गर्ने आमाको अघिल्लो जन्मदिन त्यहीँका वृद्धवृद्धासँग दिवाभोजसहित मनाउँदा पनि आमालाई कहाँ छु र के गर्दैछु भन्ने भेउ नपाएझैं लागिरहेको थियो।
वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहालले मेरो साथी भनेर सम्बोधन गर्दा आमाले केही सम्झिएझैं गरी फिस्स हाँस्नु भए पनि प्रतिक्रियाविहीन आमाको विगत सम्झिएर उहाँकी सहयात्री दाहाल आफैं भावुक देखिन्थिन्।
दाइ अनि भाउजू र नातिले सुनाउने गर्नुहुन्थ्यो, ‘जबसम्म आमाको शरीरले धान्थ्यो, तबसम्म जहिल्यै इलाम बजार तल टारमा रहेको आफ्नो माइती अर्थात जन्मथलो महभीरमा जान खोजिरहने। मुवालाई भेट्न जान्छु भनेर उताको बाटो हिँड्न खोजिहाल्ने उहाँको दैनिकी थियो।’
जबकि उहाँको मुवा स्वर्गे हुनुभएको ४०-४५ वर्ष बितिसक्यो। अब उहाँले त्यो कुरा बिर्सिसक्नुभयो। मुवा अझै जिउँदै हुनुहुन्छ भन्ने बाल्यकालमा उहाँ पुग्नुभएको छ।
बेलाबखत भन्ने गर्नुहुन्थ्यो रे, ‘नानीको बुवा (आफ्नो श्रीमान) अझै खाना खान आउनु भएन।’ बुवा बित्नुभएको पनि दुई दशक बितिसक्यो।
यी कथाहरू यसकारण लेखिरहेछु- हामीले हाम्रा अभिभावकको अवस्था थाहा पाउनु पर्दोरहेछ। अनि उहाँहरू जिवन्त अर्थात सक्रिय हुँदा उहाँहरूको इच्छा पूरा गर्ने अनि सम्मान, माया र निरन्तर सम्पर्कमा रहेर यथोचित सद्भाव देखाउनुपर्ने रहेछ।
कसैको पनि कुनै समय यस्तो आउन पनि सक्छ। त्यसपछि पश्चाताप मात्रै बाँकी रहन सक्ने रहेछ। मेरी सासू मा जबसम्म स्वस्थ्य हुनुहुन्थ्यो, बडो सक्रिय जीवन जिउन चाहनु हुन्थ्यो। बेलायतमा रहँदा पनि भारतीयले सञ्चालन गरेको वेल्सको मन्दिर होस् वा कुनै संघसंस्थाको कार्यक्रममा, उहाँको सक्रिय सहभागिता हुन्थ्यो।
नाच्न-गाउन र धार्मिक अनुष्ठानमा बडो दिलचस्पी देखाउनु हुन्थ्यो। हामीले क्रुजमार्फत सामुद्रिक यात्रादेखि युरोपको विभिन्न ठाउँमा लैजान त सक्यौं, तर एक ठाउँ लैजान नपाएकोमा सधैं पश्चाताप लागिरहेछ।
जहाँ लगे पनि खुसी साथ तयार भए पनि आफैंले मलाई यहाँ लैजाऊ भनेर कहिल्यै भन्नुभएन। उहाँले एकपटक मात्रै मलाई अमेरिका जान मन छ भनेर भन्नुभएको थियो। जब उहाँका आफन्त अमेरिका जान तयार हुँदै गरेको थाहा पाउनुभयो, ती आफन्तकै अगाडि मुख फोरेर ‘मलाई पनि अमेरिका जान मन लागेको छ, म पनि सँगै जाऊँ कि क्या हो?’ भन्नुभएको थियो। तर अहँ! हामीले पठाउन सकेनौं, भनौं लैजान सकेनौं।
अब त आमालाई जहाँ लगे पनि, जति नै जे गरे पनि मतलब छैन। बस् यो कुराको पश्चाताप सधैं रहिरहनेछ। त्यसैले आफ्नो यही अनुभवलाई लिएर चिच्याएर भन्न मन लाग्छ, ‘हाम्रो मुख मिठासका लागि महिनौं अगाडि सर्दाम जुटाएर जोगाएर बस्ने आफ्नो मातापिताका लागि थोरै मिठो कुरा किन जुटाउन किन लोभ गर्छौं हामी?
हामी सानो छँदा हाम्रो औंला समातेर ठाउँठाउँ घुमाउन लैजाने हाम्रा आमाबुवालाई आफू आफ्ना श्रीमती र बच्चासहित घुम्न जाने ठाउँमा किन लैजान अल्छी मान्छौं? र यो बिर्सन्छौं कि, आमाबुवा छाडेर सँगै लगेका छोराछोरीले पनि भोलि हामीबाटै सिकेर हाम्रो बुढेसकालमा उस्तै व्यववहार गर्न सक्छन् भन्ने।
अनि सोध्न मन लाग्छ- ए छोराहरू हो, तिमी अबोध छँदा तिम्रो हात थाम्ने आमाबुवा अशक्त हुँदै जाँदा किन परपर हुन्छौ?
ए बुहारीहरू हो, आफ्नो आमाबुवाका लागि जे पनि गर्न तयार हुन्छौ तर आफ्नो सासू आमालाई किन बिर्सन्छौ हँ?
ए नातिनातिनाहरू हो, तिमीलाई बालख छँदा कथा अनि कुथुरी सुनाउँदै संस्कार सिकाउने बाजे-बजूलाई यसो कहिलेकाहीँ किन सम्झिदैनौं हँ?
एउटा कुरा भन्न मन लागेको छ- मेरी सासू माले छोरा र बुहारी अनि नाति यस्तो पाउनुभएको छ, काठमाडौंमा पढ्दै गरेका टिनएज नाति कलेज छुट्टी हुने बित्तिकै आफ्नो डिमेन्सियाले गाँजेकी अजीको मायाले तुरून्तै इलाम पुगेर माया अनि स्याहार सुसारमा लागिहाल्छन्।
अजीको जमानाको गीत गाइदिएर मनोरञ्जन गराइरहने नातिसँगै अजी पनि पुराना हिन्दी र नेपाली गीतमा स्वर थापिरहनुभएको भिडियो हेर्दा जो कोही भावुक हुन्छ। अनि भन्न मन लागिरहन्छ- नामै सुयोग्य, सबै बाजे बजूहरूले यस्तै सुयोग्य नाति पाइदिए हुन्थ्यो।
इलाम क्याम्पसका सहायक क्याम्पस प्रमुख रहेका कान्छा छोराले आमाको स्याहारसुसारमा समय दिन हुँदाखाँदाको जागिर छाडे। यो कुराले सबैको यस्तै छोरा हुन् भन्न मन लागेर आउँछ। अनि आफ्ना श्रीमानसँग पालो गरेर रातभर नसुती सासू माको दिसापिसाबदेखि सम्पूर्ण सेवामा हाँसीहाँसी तत्पर कान्छी बुहारीको मातृसेवा भाव देखेर सबै सासूहरूले यस्तै बुहारी पाऊन् भनेर भन्न मन लाग्छ।
हाम्रा बीचमा डिमेन्सियाले ग्रस्त धेरै आमाबुवा हुनुहुन्छ होला। उहाँहरूलाई केही कुरा याद नै रहँदैन। याद गरौं, यो उहाँहरूको कमजोरी होइन, जो कसैलाई पनि हुन सक्ने एउटा रोग हो। जसमा उहाँहरूलाई केही थाहा हुँदैन अनि आफूलाई उहाँहरूले चाहेर पनि सहयोग गर्न सक्नु हुन्न। यस्तो अवस्थामा उहाँहरू भर्खर बामे सर्दै गरेको केटाकेटीभन्दा पनि माया लाग्दो अवस्थामा पुग्नु हुँदो रहेछ।
उहाँहरूले एउटै कुरा दोहोर्याइरहन सक्नुहुन्छ। उही गल्ती गरिरहने गर्न सक्नुहुन्छ। यस्तोमा हामी सन्तानले झर्कोफर्को गर्ने वा बेवास्ता गर्ने गल्ती गरिएला। अझ झिँझो मानेर कराउने, रिसाउने गरिएला। आखिर मैले केही गरे पनि नगरे पनि मेरा आमाबुवालाई केही त थाहा हुँदैन भनेर सम्पर्कै नगर्ने, वास्तै नगर्ने पनि गरिएला। ती अशक्त आमाबुवालाई थाहा नभए पनि सँगै रहेका बढ्दै, हुर्किँदै गरेका आफ्ना सन्तानलाई थाहा हुन्छ है।
आफ्ना आमाबुवालाई बेवास्ता गर्ने छोरा-बुहारी छन् भने यस्ता रोग लागेका आमाबुवालाई थाहा नहुने भएकाले चित्त त नदुख्ला। तर उहाँहरूको अचेत मनले दिएको श्राप भने पछि गएर लाग्न सक्ला है।
एउटा कुरा फेरि दोहोर्याएर भन्न मन लागेको छ- आफ्ना बुवाआमा, सक्रिय हुँदै, होस छँदै, उहाँहरूको इच्छा पुर्याऊँ। उहाँहरूले चाहेको कुरा दिन सकौं। अरू केही गर्न नसके पनि माया र सम्मान दिऔं। कसैको भविष्य देखेको छैन। आज उहाँहरूको यो दिन, भोलि हामी कोही कसैको पनि हुन सक्छ।
सन्तान भएर सन्तानको धर्म निर्वाह गरौं। आज हामीले निर्वाह गरेको सन्तान धर्म नै भोलि हाम्रो सन्तानले पनि निर्वाह गर्ने होलान्। आखिर भिरमा फाल्न लागेको डोकोको कथा नपढ्ने र नसुन्ने हामीमध्ये कमै होलाऔं।
आज परेको मेरी सासू माको ७८ औं जन्मोत्सवको मंगलमय शुभकामना!