मेरो घरमा पाकेको तिम्रो घरमा नपाक्न सक्छ, मलाई मन परेको कुरा तिमीलाई नपर्न सक्छ।
गाउँमा छिमेकीले भेट हुँदा सोध्थे, ‘खाना खायौ?’ अँ खाएँ भन्यो, यतिकैमा कुराकानी सकियो। माथिल्लो घरमा चामल नहुँदा तल्लो र पल्लो घरमा गएर लिइन्थ्यो। आफूले लिएपछि दिने भनेर।
अहिले पनि गाउँमा ऐँचोपैँचो चल्छ, चामल होस् वा पिठो। नुन, तेल, बेसार पनि ऐँचोपैँचो चल्छ। एउटाको घरमा तरकारी फल्यो भने नि बाँडिन्छ। चाडबाडमा नयाँ परिकार पाक्यो भने पनि दिइन्छ। एउटा घरमा पाकेको अर्को घरमा र अर्को घरको एउटा घरमा। गाउँमा परिवार र घर बाँडिन्न। अरू सबै थोक बाँडिन्छ।
सहरमा सबै बाँडिन्छ। एक छाना हुन्छ। अनेकन् परिवार अडेको हुन्छ। तर एउटा कोठाको खबर अर्को कोठालाई थाहा हुँदैन। गाउँमा पुरै गाउँको खबर थाहा हुन्छ। यता सहरमा सबै गुमनाम। सहरमा केही थाहा पाउन पाउन ठुलै घटना भएको हुनुपर्छ।
म सहर पसेको ६/७ वर्ष हुन लाग्यो। घर बद्लिए। घरसँगै रहरहरू पनि। सानो छँदा सुनिन्थ्यो। सहरमा सबै सेवा पाउँछ। हुन पनि हो रहेछ। पैसा भएपछि सबै खरिद गर्न मिल्छ। तर पैसा अनिवार्य छ।
पैसा बिना यो सहर अन्धकार छ। रित्तो छ। खाली छ। घर पैसाले टिकेको छ। सम्बन्ध पैसाले अनि साथीभाइ पनि पैसाले नै हो। पैसा बिना केही छैन। सहरमा घर हुनेलाई चिन्ता छैन। सहरमा चिन्ता घर नहुनेलाई हो।
बिहान उठेदेखि साँझ नसुतेसम्म के खाने के लगाउने भन्ने चिन्तामा हुन्छ। यसको लागि परिश्रम त गर्नै पर्यो। काम हुँदाको दिन पैसा आउने हो। काम नगर्दा कसले दिन्छ। आजकल मान्छेहरू पैसा सापटी दिँदा लिने मान्छेको स्रोत हेर्दछन्। त्यो जायज छ। किनभने सबैले पैसा पसिना बगाएर कमाएको हुन्छ। आफ्नो मेहनतको पैसा आएन भने के गर्ने? यही कारण बरु सहकारी, बैंकतिर डिपोजिट गर्लान् तर अरूलाई दिँदैनन्।
पहिला पहिला गाउँतिर यस्तो कारोबार धेरै हुन्थ्यो। जब सहकारीहरू गाउँतिर छिर्न थाले। मान्छे रित्तो हुन थाले। एक अर्का माथिको विश्वास घटेर गए। तनाव र चिन्तामा देखिन्छन्। सबै सहकारी भन्न मिल्दैन। तर केही–केहीले गरेको देखियो सुनियो।
सहरमा घर ठुला–ठुला मात्र हुन्। तर मन कमैको मात्र हुन्छन्। यसो भन्दा लाग्ला सहरमा मन नभएकाहरू बस्छन्। यो होइन। सहरमा पनि धेरै त भन्दिनँ, केही राम्रा व्यक्तित्व भएका मान्छे पनि छन्।
म गाउँमा छँदा आफन्त बाहेक अरू कसैसँग न त बोल्थेँ न चिन्दथेँ। त्यसमाथि धेरै बोल्न आउँदैन मलाई। धेरै बोलेको मन पनि पर्दैन मलाई। तर सहर आएपछि नबोलेर बस्न पनि भएन। आफूले चाहिने कुरामा बोलेको जस्तो लाग्छ। म कहिले पनि अरूले के भन्छ वा के गर्छ भन्नेको पछि लाग्दैन।
आफूले सही लागेका कुरामा बोल्छु गर्छु। सानोदेखि मलाई अर्काको आदेशमा काम गर्न निकै गाह्रो लाग्ने। तर यता सहर छिरेपछि अरूको काम गर्न लागेपछि आदेशको पालना गर्नु पर्यो। त्यो मेरो कर्तव्य पनि त हो।
घर यति ठुला हुन्छन्। एउटा घरमा धेरै परिवार अटेका हुन्छन्। तर बोलचाल अनि देख भेट कम मात्र हुन्छ। कतिलाई त एकै छाना मुनि बस्छौँ भन्ने पनि थाहा हुँदैन। आ–आफ्नो कर्ममा व्यस्त छ सहरको जीवन। एकले अर्कोलाई ख्याल गर्ने समय पनि त कहाँ हुन्छ। आफू जिउनु पर्यो अनि आफ्नो परिवारको जिम्मेवारी त्यसमाथि।
यो सहरमा मान्छेले के खायो, के लायोमा चासो बढी। खायो खाएन मतलब छैन। उनीहरूलाई देखाउनु पर्ने रे। अझ भनौँ एउटाले जे गर्यो अर्कोले त्यसको सिको गर्नुपर्ने रे। आफ्नो जीवन हो। आफ्नो तरिकामा बाँच्न पनि नपाइने कस्तो अचम्म छ।
यो सहरमा बस्नेहरूले भोगेका भोगाइ-
छिमेकी तिम्रो जस्तो हैसियत छैन मेरो
छलछाम गरेर खाने नियत छैन मेरो
पसिना बगाउँछु, हात खियाउँछु जीवन सहज छ
तिमी अर्काले दिएकोमा खुसी हुन्छौँ यही फरक छ
दिनरात के पाक्यो सोध्छौँ तिमी मसँग जवाफ छैन
खाली पेट छैनौँ हामी केहीको अभाव छैन
मान्छु तिमीसँग भएका चिज हामीसँग छैन होला
तर मौन रहनुमा रित्तो भन्ने नै त हैन होला।
कसैले खायो खाएन सोध्नुस्। तर के पाक्यो? के खायौँ? यी प्रश्न कसैलाई नसोध्नुस्। आफूसँग धन भयो भन्दैमा, आफ्नो घर भयो भन्दैमा, आफ्नो परिवार राम्रो भयो भन्दैमा, आफ्नो जीवन राम्रो चल्यो भन्दैमा अरूलाई आफ्नो स्तरको रहनुपर्छ भन्ने सोच कहिले नराखौँ।
कसैले एक छाक खाना खान सक्ने स्थिति छैन भने। बरु खाना देऊ। तिमीसँग केही चिज बढी छ भने दान देऊ। तर अरूको जीवनमा मानसिक तनाव नदेऊ। यो जमाना हरेक चिज पैसासँग दाँजिन्छ। मान्छेहरू यसै पनि सब ठिक नहुन सक्छ। तिमीले सोध्ने प्रश्नको उत्तरको भाव बुझ्ने गर।
के तिम्रो जवाफ दिन ऊ तयार छ? या कुरा मोडिरहेको छ? खानाको चिन्ता र चासोभन्दा पहिले उसको जीवनमा चासो देऊ। ऊ व्यक्ति हर्षित हुनेछ। जो तिम्रो जवाफ दिन उचित मानिरहेको छैन। कहिलेकाहीँ अरूको पनि सुन। आफ्नो बारेमा मात्र नसुनाऊ। सक्छौँ अरूको कुरा ध्यानका साथ बढी सुन। यसले तिमीलाई सहज बनाउनेछ।
मान्छे बोल्न रुचाउँछन्
म सुन्न रुचाउँछु।
मान्छे अरूसँग रमाउँछन्
म आफैसँग रमाउँछु।
अरूको रोजाइ, मेरो रोजाइ हुन सक्दैन
कसैको कुराले कहिलेकाहीँ छुन सक्दैन।
तिमी जस्तै अरूमा नखोज भो
आफू सही अरू गलत पार्न नखोज भो।