समय परिवर्तन सँगसँगै मानिसका आवश्यकता पनि परिवर्तन हुँदै जानु स्वभाविक नै हो।
विज्ञानले नयाँ-नयाँ अनुसन्धान एवम् आविष्कारहरू गर्दै यी आवश्यकतालाई केही मात्रामा भए पनि सम्बोधन गर्ने प्रयास गरेकै छ।
यसैक्रममा विकास भयो 'मोबाइल फोन' र योसँगै विकास भयो सामाजिक सञ्जाल अनुप्रयोगहरू जस्तै: फेसबुक, इन्स्टाग्राम, भाइबर , ट्वीटर आदि।
हरेक सञ्जालहरू निर्माण गर्नुको उद्देश्य समाजलाई जोड्ने हुनुपर्दछ। हाम्रो मुलुकमा सबभन्दा चर्चामा आयो 'फेसबुक'। छो
टो समयमै यसले आफ्नो प्रभाव तीव्र गतिमा देखाउन थाल्यो। हेरक उमेर समूहका मान्छेहरू आफ्ना दैनिक क्रियाकलापलाई यसैसँग जोड्दै उठेदेखि नसुत्दासम्म यसैमा पोष्ट भएका सामग्रीको चर्चा गर्दै, यसलाई जीवनको एउटा अभिन्न अंगको रूपमा नै स्वीकारेको देखिन्छ।
जसरी पानीबिना माछाहरू तड्पिन्छन्, त्यसैगरी सामाजिक सञ्जालको अनुपस्थितिमा मानिसहरू पनि तड्पिएको देखिन्छ।
हरेक हप्ता फुर्सद भनेको एक दिन शनिबार, साथीभाइ तथा आफन्तजनसँग भेटघाट हुने र सम्भव नभए फोन बाट नै सन्चो- बिसन्चो सोध्ने क्रम चलिरहेकै थियो।
दिउँसो करिब चार बजेतिर दिदीले फोन गर्नुभयो, कुराकानीकै क्रममा सोध्नु भयो- आज दिउँसोको खाजा के खायौं त ?
मैले घरमै म:म बनाएर खाएको कुरा सुनाएँ।
उताबाट आश्चर्य हुँदै दिदीले भन्नुभयो- किन त फेसबुकमा पोष्ट नगरेको ?
मैले आफ्नो रुचि अनुसार, आफ्नै परिवारले मात्र खान बनाएको चिजको सामाजिक सञ्जालमा कुनै महत्व नभएको बताएँ तर दिदीले मेरो कुरा मान्न तयार हुनु भएन। उहाँको कुरा सुन्दा, म:मको फोटो नराखेर मैले ठूलै गल्ती पो गरेकी जस्तो लाग्यो। साँच्चि नै आजभोलि सामाजिक सञ्जालका वालपेपरहरू हेर्दा लाग्दछ कि सबै नेपालीहरूले पेटभरि नै खाएका होलान्!
बिहान-बेलुकी चिया, कफी पिएको, नास्ता लिएको, खाना खाएको फोटो, अन्य विशेष अवसरहरू जन्मदिन, विवाह वार्षिकोत्सव आदिमा केक काटेको, पार्टी-भोजभतेरमा सहभागी भएर खाएको, चाडपर्वहरूमा साकाहारी, मांसाहारी परिकारहरू आदिका थरिथरि तस्बिरहरू पोष्ट भएको पाइन्छ तर अधिकांशको कुनै सामाजिक महत्व हुँदैन।
फोटो राख्नु हुने धेरैजसो महानुभावहरूलाई लाग्दो हो, उहाँहरूले खानु भाको छ, उहाँहरू मात्र बाँच्नु भाको छ तर विनम्रताका साथ भन्न चाहन्छु। हामी पनि बाँचेकै छौं, हो!
बडादसैंको दिन, परिवारका सबैजना सदस्यहरू भेला भएर टीका लगाउने तयारी गर्दै थियौं।
टिकाको शुभ साइत भने बिहान ११:२० बजे मात्र थियो। परिवारका अधिकांश युवा सदस्यहरू भने श्रृंगार-पटार र फोटो खिच्नमा मात्र व्यस्त थिए।
सबैको ध्यान कतिबेला टीका लगाइन्छ र तत्काल फोटो फेसबुकमा अपलोड गर्ने भन्नेमा मात्र देखिन्थ्यो।
टीका लगाउने बित्तिकै हातमा भएका मोबाइल, ल्यापटप आदिबाट फोटो, भिडिओ पोष्ट गर्ने होडबाजी चल्यो र चर्चा हुन लाग्यो कति लाइक भो, कमेन्ट भो अनि कति सेयर भो।
सबैको टाउको मोबाइलतर्फ मात्र निहुँरिरहेको, कसैलाई कसैको खबर लिने फुर्सद थिएन।
घरमा आफन्तजन आउने-जाने क्रम चलिरह्यो तर मात्र वृद्धा हजुर आमा र हजुर बुवाले मात्र घरको प्रतिनिधित्व गर्नुपर्ने अवस्था थियो।
अन्य सदस्यहरू टीका लगाउने, आशीर्वाद लिने-दिने भन्दा पनि फोटो, भिडिओ र फेसबुकमै ध्यान दिएको पाइन्थ्यो।
यो देखेर मेरो मनमा प्रश्न उब्जियो, साँच्चि नै! सामाजिक सञ्जालले समाज जोड्दै छ कि, तोड्दै छ ?
यो क्षेत्र प्रतिको झुकाव युवापुस्तामा मात्र सीमित रहेन। घर-घरमा वृद्ध-वृद्धाहरूले पनि यो क्षेत्रमा गहिरो चासो लिने गरेको देखिन्छ।
केही दिन अघिको कुरा हो, हाम्री हजुरआमाको जन्म दिन परेको थियो।
बिहानै उहाँलाई ठोग गरें, आशीर्वाद लिएँ र मनपर्ने उपहारसहित जन्म दिनको शुभकामना दिएँ।
साँझपख आफन्तजनहरूलाई डाकियो, केक काटियो, रमाइलो गरियो। उता हजुरआमा भने मसँग खासै खुसी देखिनँ।
मलाई लाग्यो कि, उहाँलाई उपहार पो मन परेन कि! पछि बुझ्दै जादा थाहा भयो, अरू सबै नाति-नातिनीहरूले उहाँको फोटो फेसबुकमा राखेर जन्म दिनको शुभकामना दिए रे, तर मैले यसरी दिइनँ। यही कारणले हजुरआमाको नजरमा मैले उहाँलाई माया गर्दिनँ भन्ने भ्रम भएछ।
आफ्नै अगाडि प्रत्यक्ष साक्षात्कार गर्न मिल्ने आदरणीय हजुरआमाको तस्बिर फेसबुकमा राख्नुपर्ने आवश्यकता नभएको भन्दै मैले उहाँलाई सम्झाउन कोसिस गरें तर असफल भएँ।
हिजो आमाले पनि भन्दै हुनुहुन्थ्यो, तिमीसँग सानिमा रिसाएकी छिन्।
मैले सोधें- किन रहेछ ?
आमाको भनाइ अनुसार मैले सानिमाले पोष्ट गरेका कुनै पनि फोटोहरूमा लाइक-कमेन्ट गरेन रे, त्यही भएर मैले उहाँलाई माया गर्दिनँ भन्ने अर्थ लागेछ।
मैले निराश हुँदै भनें- सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाका भरमा मायाको मूल्यांकन गर्नुभएन, हामी पनि मन पराउँछौ, माया गर्छौ, हो!
सामाजिक सञ्जालमा तस्बिर र भिडिओ अपलोड गर्ने कुरा गर्दा विदेशमा बस्नुहुने नेपालीहरूलाई बिर्सनु हुँदैन।
नयाँ लत्ता-कपडा किनेका तस्बिरदेखि नयाँ बच्चा पाउन लागेका अवसरहरूलाई बडो आकर्षक ढंगले प्रस्तुत गरेको पाइन्छ।
अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत जस्ता मुलुकमा पुगेपछि पहिलो तस्बिर समुन्द्री किनारमा लिएर पोष्ट नगर्ने नेपाली पनि बिरलै होलान्।
पल्ला घरे पण्डित बा कि छोरी अस्ट्रेलिया पुगेको छ महिना नबित्दै फेसबुक लाइभमा आइन्।
हातमा वाइनको गिलास, नजिकै चिकेन बारबेक गरेको, अर्ध नग्न अवस्थाको, अर्ध चेत शरीर, अंग्रेजी गानामा नाचेको भिडिओ देख्न पाइयो।
यो भिडिओले सामाजिक सञ्जालमार्फत समाजमा कस्तो सन्देश दिन खोजेको हो, मैले बुझिनँ।
कुनैपनि व्यक्तिलाई आफ्नो जीवन स्वतन्त्रतापूर्वक जिउने अधिकार छ। त्यसमा हस्तक्षेप गर्न मिल्दैन। तर पनि आफ्नो पारिवारिक एवम् सामाजिक दायित्व भुल्नु त भएन नि!
आफूले देखेका नयाँ आविष्कारहरू, भोगेका संघर्षहरू र प्राप्त गरेका उपलब्धिहरूलाई यस्तो तरिकाले पोष्ट गरौं कि हेर्ने व्यक्तिलाई कुनै सकारात्मक कार्य गर्ने उत्प्रेरणा मिलोस्।
मानिसहरूले सामाजिक सञ्जालमा पोष्ट गरिएका सामग्रीहरूका आधारमा को, कहाँ, कसरी बाँचिरहेको छ भन्ने कुरालाई सजिलै अनुमान लगाउने गरेको पाइन्छ।
खाएको, लाएको, घुमेको, हाँसेको, नाचेको अनि बाँचेको तस्बिरहरू देखेर भन्ने गर्दछन् , ओहो! फलानोलाई त कस्तो 'एश' रहेछ। उसलाई त दु:ख रहेछ। ऊ कति राम्री, ऊ त नराम्रो आदी इत्यादी। यसैलाई आधार मानेर सम्बन्धहरू जोड्ने र तोड्ने गरेको पनि पाइन्छ।
अमेरिका बस्ने बहिनीले फोन गर्दै भनिन्- आजभोलि त, नेपालीहरू पनि घुम्न थालेछन् है, फोटोहरू देखिन्छ फेसबुकमा' उनको कुरा सुनेर मलाई अचम्म लाग्यो। आफू पनि नेपाली भएको र आधा जीवन यही माटोमा बिताएको कुरा बिर्सिछन्,सायद।
घुमफिर गर्ने, खाने-लाउने, मनोरन्जन गर्न विदेश बस्नेले मात्र जानेछन् भन्ने जस्तो उनको भनाइ थियो।
मैले उनलाई नेपालमा पनि घुम्ने ठाउँ रहेको र नेपालीहरू पोखरा, चितवन, लुम्बिनी, मनाङ् , मुस्ताङ्, जस्ता विभिन्न ठाउँ घुमिरहन्छन्। अमेरिकामा जस्तो समुद्री तटमात्र घुम्ने ठाउँ भएजस्तो यहाँ सीमित हुनु नपर्ने कुरा बताएँ।
त्यसपछि उताबाट कल आएको छैन।
सामाजिक सञ्जालमा पोष्ट भएका फोटोहरू मात्र हेरेर नेपाल र नेपालीको अनावश्यक चर्चा हुनु कुनै नौलो कुरा भएन।
नेपालमा भए गरेका बन्द-हड्ताल, राजनीतिक अस्थिरता, बेरोजगार, आर्थिक-सामाजिक समस्याहरूलाई मात्र केन्द्रित गरेर नकारात्मक टिप्पणी गरेको मात्र देखिन्छ। समस्याको समाधानका विषयमा कसैको आवाज सुनिँदैन।
कुनै पनि निर्णय लिनुभन्दा पहिले त्यो कस्तो स्रोतबाट आएको जानकारीको पहिल्याउन सक्नु पर्दछ।
नामै 'फेसबुक ' अर्थात 'फेस' हरू मात्र पढ्न मिल्ने 'बुक', यसमा तन-मन पढ्न मिल्दैन अर्थात् यसले पूर्ण जानकारी दिन सक्दैन।
एक अध्ययनका अनुसार सामाजिक सञ्जालमा पोष्ट भएका करिब तीस प्रतिशत भन्दा बढी सूचना एवम् जानकारीहरू गलत रहेका र मात्र अफवाह फैलाउने भ्रामक सामग्रीको बाहुल्यता रहेको देखाएको छ।
हरेक क्षेत्रका आ-आफ्नै गुण र दोष भए जस्तै, सामाजिक सञ्जालका पनि लाभ र हानीलाई पहिल्याउन सक्नुपर्दछ। पुराना सम्बन्धहरूलाई ताजा बनाई राख्न, टाढा - टाढा रहेका आफन्त, साथीभाई, छरछिमेक आदिलाई समिप ल्याउन, नयाँ-नयाँ खोजी एवम् आविष्कारका सूचनाहरू प्राप्त गर्न, सुख सबैसँग बाँड्न, दु:खमा सहारा बटुल्न, आदिका लागि सामाजिक सञ्जाल एउटा माध्यम बन्न सक्नेमा दुई मत नहोला। विज्ञानका उपलब्धि सकारात्मक कर्ममा उपयोग गरिए बरदान र नकारात्मक कर्ममा प्रयोग गरिए अभिशाप बन्ने तथ्य आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने देखिन्छ।