कञ्चनपुर, कोरोना र कर्मचारी- २
चैतको सुरूदेखि नै भारतमा कोरोनाको कहर बढ्दै थियो। नयाँ-नयाँ ठाउँमा संक्रमितहरू भेटिने क्रम सुरू भइसकेको थियो। त्यहाँबाट दैनिक भित्रिइरहेका हजारौं नेपालीलाई रोकेर व्यवस्थित ढंगले प्रवेश गराउन नसके अवस्था भयावह हुने डर सबैमा पसिसकेको थियो।
संक्रमण बढ्न सक्ने भएकाले मानिसहरू भारत आउने-जाने गाडी रोक्नुपर्ने, पारि पूर्णागिरि पर्वतमा मेला भरेर नेपाल आउने भारतीय तीर्थारूलाई रोक्नुपर्ने, हेल्थ डेस्क राखेर काम गर्नुपर्ने सुझाव दिइरहेका थिए।
प्रशासनले पनि स्थानीय सरकारसँग समन्वय गरी सोची-सोची कदम चाल्दै थियो।
दुई देशको कुरा भएकाले सीमा-नाका बन्द गर्न सरकारले निर्णय गर्नुपर्छ। तर यसपालि कोरोना भाइरसका कारण परिस्थिति बिग्रन नदिन कञ्चनपुर प्रशासनले आन्तरिक निर्णय गरेरै सीमा-नाकामा आवतजावत ठप्प गर्ने जोखिम मोल्यो। कदम कठोर भए पनि स्वागतयोग्य भयो।
स्वागत यसकारण हुन सक्छ, मान्छेहरू उकुसमुकुसमा थिए। आममानिसले अनुभूति गर्ने गरी कसैले त केही गरिदेओस् भन्ने चाहना थियो। र, आशा-भरोषा सम्भवतः सबभन्दा बढी जिल्ला प्रशासनसँगै थियो।
भोलिपल्ट त सरकारले नै निर्णय गरेर पूरै सीमा-नाका बन्द गर्यो। जसलाई बुझ्ने भाषामा 'लकडाउन' भनियो। अहिले पनि देशमा लकडाउन छ।
लकडाउन अवधि पटक-पटक थपिँदैछ। अनि आदेश छ 'अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनू।'
पञ्चायतकालमा बनेको संक्रामक रोग ऐन, २०२० ले गरेको व्यवस्था यति बेला सान्दर्भिक भएको छ। मानिसहरू जहाँको तहीँ अडिएका छन्। धेरैलाई यसले अप्ठ्यारो परेको छ, यद्यपी समाजका लागि, राष्ट्रका लागि एकमात्र उत्तम विधि यही हो।
सीमा-नाकामा रोकटोक। अन्तर्राष्ट्रिय उडानहरू बन्द। सार्वजनिक, निजी जस्तोसुकै यातायात ठप्प। आफ्नै घरमा पार्किङ गरी राखेको गाडी चलाउन पनि सवारी पास चाहिने अवस्था। आवागमनमा रोक भए पनि भारतबाट भित्रिने भिड रोकिएको छैन।
लाग्छ उनीहरू 'फुल कन्फिडेन्स'का साथ भनिरहेछन्, 'अरे यार, लकडाउन पो भएको हो, मनोबल डाउन भएको छैन नि।'
सीमामा आवागमन ठप्प भएको सुरूका केही दिन भारतबाट रोजी-रोटी र रोजगारी छाडेर रोगबाट बच्न 'भागेका' नेपालीहरू हरेक बिहान ठूलो संख्यामा दशगजामा भेला हुन थाले। जिन्दगी हो यसले भगाउँछ, नमज्जाले भगाउँछ। अझ गरिबलाई त प्याकप्याकी हुने गरी भगाउँछ। त्यही चित्र देखिन्थ्यो दशगजा अर्थात 'नो म्यान्स ल्यान्ड'मा। 'नो म्यान्स ल्यान्ड'मा जम्मा भएपछि न यता आउन पाइयो, न उता जान। भारत भन्छ 'जाऊ', हामी भन्छौं 'पर्ख'।
जेनतेन 'नो म्यान्स ल्यान्ड'सम्म आई पुग्नेलाई दुई दिन त मन्त्रालयसँग अनुमति लिएर, स्वास्थ्य परीक्षण गरेर, चौध दिन सेल्फ क्वारेन्टाइनमा बस्ने लिखित प्रतिबद्धता गराएर, गाडीको व्यवस्थापन समेत गरिदिएर आ-आफ्नो घर-ठेगानमा पठाइयो। तर 'दो दिन कि चाँदनी, फिर अँधेरी रात' भनेजस्तो तेस्रो दिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेपछि बाटोका नेपालीको 'नो म्यान्स ल्यान्ड'सम्म पुग्ने बाटै हरायो। अवस्था झन् दर्दनाक बन्यो।
आकाशै खसे पनि मानिसहरू भारतबाट आउने क्रम रोकिने संकेत देखिँदैन। उता रेल चल्न छाड्यो। बसहरूले आधा बाटोमै यात्रु झार्न थाले। अटो, टेम्पो, ट्याक्सी गुड्नै मानेनन्। झिटी-गुन्टा बोकेर 'मार्चपास' शैलीमा पराई भूमिबाट नेपालीको लर्को मातृभूमितिर सोझियो। न बाटोमा पसल खुला छन्, न केही खान पाइन्छ। कैयौं नाबालक केटाकेटी छन्। कैयौं छन् अस्वस्थ्य, गर्भवती र सुत्केरी पनि। अवस्था, व्यवस्था जे भए पनि 'नेपालीले पायो भने गर्छ'।
बुढापाका भन्थे 'दिल्ली दूर नही।' प्रमाणितै भयो। मान्छेहरू हिँडेरै दिल्लीबाट कञ्चनपुरको सीमा क्षेत्रसम्म पुगे।
विभिन्न हन्डर र ठक्कर खाएर सीमामा पुगेका नेपालीलाई नेपाल भित्रिन झन् सकस छ। सरकारले अन्तिमपटक भनेर चैत ११ गते प्रवेश दियो। त्यसपछिका दिनमा पनि मानिस आउन खोजिरहे। अब आउनेलाई सरकारले पूर्व सूचना अनुसार प्रवेश दिएन। सबैजना उतै भारतमै रोकिनुपर्यो। न यताबाट जाने भारतीयहरूले जान पाए।
नेपालमा पनि थुप्रै भारतीय काम गर्छन्। कञ्चनपुरको एउटै चिनी मिलमा करिब ३ सय भारतीय कामदार छन्। इँट्टाभट्टाहरूमा उस्तै। सबै यतै थुनिएका छन्। पहाडबाट भारत जान झरेका केही भारतीयलाई महेन्द्रनगरमा क्वारेन्टाइनमा राखिएको छ।
उता भारतीय प्रशासनले नेपाल आउन खोज्नेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालेछ। यता कञ्चनपुर जिल्लामा २९ भारतीयलाई 'क्वारेन्टाइन'मा राखिरहँदा उता 'चम्पावत जिला'मा २ सयभन्दा बढी नेपाली छन्। गड्डाचौकी पारि वनबासाको शारदा इन्टर कलेजमा केही नेपालीलाई राखिएको छ। केहीलाई टनकपुर र खटिमामा।
यति गर्दा पनि मान्छे महाकाली तरेर, जंगल छिचोलेर, सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिर्ने र नेपालबाट बाहिरिने क्रम पूर्ण रुपमा रोकिएन। नेपालबाट जानेको भन्दा आउनेको 'तादात' बढी देखियो।
कञ्चनपुर सीमाको हिसाबले आफैंमा संवेदनशील छ। १२९.५० किलोमिटर सीमाना भारतसँग जोडिएको। भारतीय भूमिमा सहजै आवतजावत गर्न मिल्ने दर्जनौं बिन्दु छन्। त्यसमाथि चैतको महिना, आँट्यो भने पानी कम भएको महाकाली नदी तर्न पनि अप्ठ्यारो छैन।
धेरै सुदूरपश्चिमेली भारतमा मौसमी ज्यालादारी, मजदुरी र रोजगारीका लागि जान्छन्। चैत महिना त्यसै पनि गहुँ बाली भित्र्याउन र नयाँ वर्षमा मनाइने विषु पर्वका लागि फर्किने समय हो। त्यसमाथि नयाँ दिल्लीबाट 'सबसे' नजिकको नाका भएका कारण पूर्व सप्तरीसम्मका मान्छे यही नाकाबाट आएको देखिन्छ।
उता सीमानामा आफ्नै खालका दुःख छन्। यता कञ्चनपुरको भूगोलभित्रका मान्छेको दैनिकी आफ्नै खालको छ। मानिसहरूले चाहिने खाद्यान्न थन्क्याई सके। फाट्टफुट्ट तरकारी, फलफूल, दूग्धजन्य पदार्थ दैनिक किनमेल गर्छन्। कतिलाई घरबाहिर निस्किने बहाना भएको छ- किनमेल। कतिलाई बहाना- राहत।
लकडाउन उल्लंघन गर्दै, राहत दिएजस्तो गर्ने, फोटो खिचाउने, फेसबुकमा अपलोड गर्ने अनि लाइक र कमेन्ट हेर्दै दंग पर्ने भाइरसभन्दा खराब प्रवृत्तिको पनि कहिलेकाहीँ माया लागेर आउँछ।
लकडाउनको छैठौं दिनदेखि तरकारी बजार (सब्जी मन्डी) हरू पूर्ण बन्द छन्। खाद्यान्न पसल पनि खोल्न दिइएको छैन। बरू प्रशासनलाई घरघरमै घुम्ती पसल पुर्याउन सके थप सुरक्षित हुनेछ भन्ने लागेर स्थानीय तह, उद्योग वाणिज्य संघसँग मिलेर घुम्ती पसल सञ्चालन गरिएको छ।
भिमदत्त नगरपालिकामा सुरूमा चार वटा गाडीबाट, त्यसपछि मागअनुसार गाडी थपेर सुरू भएको घुम्ती पसल सेवा अरू पालिकाले पनि सुरू गरेका छन्।
थाहा छैन, यो लकडाउनको लहरो कतिसम्म तन्किन्छ? कहिलेसम्म थर्किन्छ यो कोरोना भाइरसको पहरो? त्यो पनि थाहा छैन।
तर पनि राज्यको भूमिकामा सीमा क्षेत्रमा सशस्त्र प्रहरी, जिल्लाभित्र नेपाल प्रहरी, गाउँगाउँमा स्वास्थ्यकर्मी, स्थानीय तह र जिल्ला प्रशासन लगायतका कर्मचारी अहोरात्र खटनपटनमा छन्। नयाँ रोगलाई परास्त गर्न निरन्तर प्रयत्नरत छन्।
क्रमशः
(लेखक जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)
यो पनि पढ्नुस्ः
'हेर्दै जानुहोला, कोरोनाअघि र कोरोनापछि भन्ने मानक स्थापित हुनेछ'