कञ्चनपुर, कोरोना र कर्मचारी- १
काठमाडौं होस् चाहे कालिकोट। किसान होस् चाहे कर्मचारी। सारा विश्ववासीको ध्यान नाटकीय ढंगले केन्द्रित भएको छ– कोरोना भाइरसमा।
यस्तो लाग्छ कोरोनाबाहेक बाँकी सबैको ध्यान कोरोनामै छ। अनि कोरोना चाहिँ बेफिक्री विश्व भ्रमणमा निस्किएको छ।
सन् २०१९ बिदाई हुने क्रममा थियो र सन् २०२० को आगमनमा केही घन्टा बाँकी थिए। चीनको वुहानमा सन् २०१९ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ मा पहिलो पटक देखा पर्यो कोरोना भाइरस। ग्रीक शब्द 'कोरोना'बाट आफ्नो नाम पाएको यस भाइरसको नामको शाब्दिक अर्थ हुन्छ 'क्राउन' अर्थात् 'काँडा आकारको'।
कोरोना भाइरसबारे अनेक चर्चा र हल्ला सुनिन्छन्। कोही भन्छन्- 'कोरोना भाइरस मान्छेले बनाएको हो रे!'
कोही भन्छन्- 'कालाजातिका मान्छेलाई कोरोनाले छुँदैन।'
'विश्वका कम्युनिष्ट मुलुकमा कोरोनाले असर गरेकै छैन' भन्ने तर्क पनि सुनिन्छ।
बहस यो पनि छ- 'कोरोना संक्रमितमध्ये ३–४ प्रतिशतको मात्र मृत्यु हुन्छ।'
समग्रमा के हो भने, कोरोनाले प्रभाव देखाउँदैछ। सिकाउँदैछ। छोटो समयमा दिन दुई गुणा रात चौगुणा प्रभाव बढाउँदैछ।
दुई सय देश र स्वायत्त क्षेत्रहरू कोरोनाबाट प्रत्यक्ष अप्रत्यक्ष ग्रसित छन्।
विश्वका ठूल्ठूला नेताहरू कोरोनाकै बारेमा मत दिँदै छन्। कोही आफ्नो देशलाई एक हप्ता, कोही तीन हप्ता, कोही तीन महिना लकडाउन गर्नुपर्ने बताइरहेका छन्। नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिरहेका छन्। यही सेरोफेरोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि छन् जो भनिरहेछन्, 'अमेरिका बन्द गर्नलाई बनेको होइन।
चैत महिना। मौसमी हिसाबले घामको न्यानोपन बढ्दैछ तर कोरोनाले गर्दा लाखौं नेपालीको मनमा चिसोपन बढ्दैछ।
काठमाडौं र अन्य पहाडी जिल्लाको अवस्थाभन्दा भारतसँग सीमा नाका जोडिएका, अझ सुदूरपश्चिमी तराईका जिल्ला कैलाली र कञ्चनपुरमा अवस्था फरक र अचम्म बनाउने खालको छ।
त्यसै पनि नेपालीहरू नयाँ वर्ष र सुदूरपश्चिममा मनाइने विषु पर्वको लागि भित्रिने महिना। गहुँबाली भित्र्याउन पनि भारतबाट मानिसहरू अरू बेलाभन्दा बढी भित्रिरहेछन्। त्यसमाथि कोरोना भाइरसको विश्वव्यापी चर्चा र त्रासले फर्किनेको संख्या पनि उत्तिकै छ।
नेपालले पहिलो पटक चैत ११ गतेदेखि १८ गतेसम्म, दोस्रो पटक चैत २५ गतेसम्म र तेस्रो पटक वैशाख ३ सम्म लकडाउन घोषणा गर्यो। अत्यावश्यक बाहेक मानिसलाई घरबाट ननिस्किन अनुरोध गर्यो।
लकडाउन छ। सीमानाका बन्द छन्। सीमामा सशस्त्र प्रहरी बल तैनाथ छ। उता पारितिर सीमा सुरक्षा बल पनि उत्तिकै चौकन्ना छन्। तर पनि मान्छे रोकिने छाँटकाँटै छैन।
भोलिदेखि त आउँदैनन् होला भन्यो, फेरि उत्तिकै मान्छे।
सरकार र प्रशासनको कडाइपछि मान्छेहरूले आउने बाटो परिवर्तन गरे। तरिका फेरे। घना जंगल छिचोलेर आउन थाले। नदीमा पौडिएर प्रवेश गर्न थाले। ट्युबको भरमा महाकाली तर्न थाले। रातको जुनेलीमा लडिबुडी गर्दै सीमा नाघ्न थाले।
गलत तरिकाबाट कानुनको बर्खिलाप हुनेगरी मान्छेहरू भित्रिँदा कहिले सशस्त्र प्रहरी, कहिले नेपाल प्रहरी, कहिले भारतीय एसएसबी, हुँदा हुँदा अब गलत बाटोबाट आएको मान्छेलाई गाउँलेले नै पक्रिन थाले। जसरी समाते पनि राज्य हो, आफ्ना नागरिकलाई व्यवस्थापन गर्नैपर्छ। त्यसैले प्रशासन, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको कार्यबोझ निकै बढेको छ यति बेला।
संसार कोरोनामय बनिरहँदा म कञ्चनपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छु। प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ– नूरहरि खतिवडा।
नवप्रर्वतन सोच भएका नूरहरि सर कोरोनाविरूद्धको युद्धमा अनवरत 'कमाण्ड पोस्ट' सम्हालेर बस्नुभएको छ। म उहाँको पछिपछि छु। यो कुनै युद्धभन्दा कम छैन। पलपल रणनीतिहरू परिवर्तन गर्नुपरेको छ। कहिले तरकारी बन्द, कहिले खाद्यान्न बिक्री समेत बन्द, कहिले बैंक बन्द। हिँडडुल गर्नुपरे अनुमतिपत्र दिनुपरेको छ। जिल्लाभर समन्वय गर्नुपरेको छ। मन्त्रालयको एक-एक निर्देशन नतिजामुखी भई कार्यान्वयन गर्नुपरेको छ।
पुरानो संस्था भएकाले नागरिकको विश्वास पनि जिल्ला प्रशासन कार्यालयप्रति बढी नै छ। त्यसैले अहोरात्र खटिएर भएपनि काम गर्नुपरेको छ। कहिलेकाहीँ त दिनमा सोह्र घन्टासम्म। र, सफलता पनि आशातित रूपमा मिलेको छ।
सर भन्नुहुन्छ, 'सारा विश्वलाई केवल एउटै मुद्दामा सोच्न बाध्य पार्ने यो कोरोना बडो गज्जबको चीज आयो। यसले मान्छेको जीवनशैली नै परिवर्तन गर्नेछ। जसरी इशापूर्व र पछि भनेर कालखण्डलाई विभाजन गर्ने घटनाको रूपमा इसा मसिहको जन्मलाई लिइन्छ। भविष्यमा हेर्दै जानुहोला कोरोनाअघि र कोरोनापछि भन्ने मानक स्थापित हुनेछ।'
क्रमशः