आफ्नो स्वास्थको पहिलो चिकित्सक आफैं हौं।
मानिसले आफ्नो स्वास्थ्यलाई तन्दुरूस्त, मजबुत र फूर्तिलो बनाइ राख्नु जरूरी छ। स्वस्थ र निरोगी शरीरका लागि अपनाउनु पर्ने सावधानी र सचेतनाको सामान्य जानकारी स्वयमंमा हुनु जरूरी छ।
हामीले खाने खानाकै कारणबाट विभिन्न रोगहरू उत्पन्न हुने गर्छन्।त्यसैले, दैनिक खाना, खाजामा ध्यान पुर्याऔं।
कतिपय रोग आफ्नै लापरबाहीका कारण लाग्छन्। त्यस्ता रोगहरूको प्रत्यक्ष-अप्रत्यक्ष असर अरूले पनि भोग्नुपर्ने हुन्छ।
त्यसको भयाभह उदाहरण हो-डिसेम्बर ३१ देखि चीनको वुहान सहरमा फैलिएको कोरोनाभाइरस(कोभिड-१९)नामक घातक भाइरस।
जुन भाइरसका कारण विश्वमा लाखौं मानिस संक्रमित छन् भने हजारौंले ज्यान गुमाइसकेका छन्।
एकजनामा देखापरेको कोरोनाभाइरसले विश्वभरिनै फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले त यसलाई विश्वव्यापी महामारी रूपमा घोषणा गरिसकेको छ। चीनपछि दक्षिण कोरियामा कोरोनाले उग्र रूप लिएकफो थियो। यद्यपी कोरियामा स्थिति सामान्य बन्ने प्रयास हुँदैछ भने कोरोना सल्किएर अहिले युरोपियन र अमेरिकन देशहरूमा पुगेको छ।
कोरिया प्रवेश
राजधानी सउलदेखि ३ सय ५० किमी दक्षिण सहर थेगुस्थित एक अस्पतालमा जनवरी १९ मा कोरोनाको एक बिरामी भेटिएको थियो। चर्चमा गएर फर्किएको मानिसमा कोरोनाको लक्षण देखिएपछि जनवरी २० मा अन्य केही नागरिकहरूमा फैलिएको थियो।
जति छिटो कोरोनाका संक्रमितहरू बढ्न थाले त्यति नै धेरै सर्तकतामा जोड दिइयो। संक्रमित सहर थेगुमा बढी सतर्कता अपनाइयो। सडक, यातायात, कलकारखाना, चर्च, विद्यालयहरूमा विशेष क्षेत्र घोषणा गर्दै औषधि छरियो र सरकारले नागरिकहरूलाई विशेष कामबाहेक बाहिर ननिस्कन अनुरोध गर्यो।
भाइरस फैलिँदै फैलिँदै गयो। जनवरी २० देखि फैलिएको भाइरस एक दुई जनामा हुँदै फेब्रुअरी पहिलो सातामा केही सय पुग्यो। फेब्रुअरी अन्तिमदेखि मार्च पहिलो सातासम्म दैनिक एक हजार मानिससम्म संक्रमित भए। हिजोआज निकै कम मानिस संक्रमित हुँदै गएका छन्।
यता युरोप र अमेरिकी राज्यहरूमा भने भाइरसका नयाँ संक्रमितहरूको संख्या बढ्दो छ। दैनिक हजारौं जना संक्रमित हुने गरेका छन् भने सयौंले ज्यान गुमाइरहेका सन्चार माध्यममा आइरहेका छन्।
राष्ट्रपति मुनको साहसिलो कदम
कोरोनाले उग्ररूप लिँदै गएको संकेतपश्चात राष्ट्रपति मुन जे इनले कोरोना संक्रमितहरूलाई भेटे। रोगको उपचारमा खटिएका चिकित्सकको टोलीहरूलाई हौसला दिए र भाइरस फैलिन नदिन र फैलिहालेमा हुने मानवीय क्षति न्यूनीकरणमै ध्यान केन्द्रित गराए।
देशमा संक्रमित फैलिन नदिनका लागि देशवासीलाई अनुरोध गरे। सर्तकता अपनाउन नागरिकसमक्ष आग्रह गरे। सरकार, कर्मचारीतन्त्र र नागरिक सबै उत्तिकै जिम्मेवारी बन्नुपर्ने सुझाव दिए।
देशवासीलाई सम्बोधन गर्दै उनले कोरोनाभाइरस रोकथामका लागि सरसफाइमा ध्यान दिन आग्रह गरे। मास्क लगाउन आग्रह गरे अनि जमघट नहुन अनुरोध गरे।
यसैगरी स्वास्थ्य क्षेत्रमा किट उत्पादनमा जोड दिए। मुलुकभर परीक्षणशाला स्थापना गरे र संक्रमित ब्यक्तिको सम्पर्कमा रहनेहरूको खोजी र उनीहरूलाई परीक्षण गर्न आग्रह गरे।
मास्क उत्पादन हुने कारखानाहरूमा गएर मास्क, स्यानिटाइजर उत्पादनमा जोड दिन आग्रह गरे।
उनले कोरोनाविरूद्ध युद्ध घोषणनै गरे। कोरोना संक्रमित उपचार, स्याहार र रोकथामका लागि उनले २५ खर्ब अमेरिकी डलर छुट्याए।
त्यसपश्चात, देशको अर्थतन्त्रमा गिरावट नआओस् भन्दै साना तथा मझौला उद्योगका राहतका लागि १५० ट्रिलिएन वन छुट्याए र मारमा परेका उद्योगहरूलाई वितरण गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्प, फ्रान्सका राष्ट्रपति इम्यानु अवम्याक्रो र स्वीडेनका प्रधानमन्त्री स्टेफेनलगायतका अन्य मुलुकले राष्ट्रपति मुन जे इनलाई भाइरस नियन्त्रण र औषधोपचारमा सहयोग गर्न अनुरोध गरेका छन्।
आपतकालीन अवस्था घोषणा
राजधानी सउलबाट तीन सय किमी दक्षिण सहर थेगुस्थित एक चर्चमा जनवरी १९ मा देखापरेलगत्तै उक्त सहरमा आपतकालीन अवस्था घोषणा गरिएको थियो। सरकारले नागरिकहरूमा भने कुनै प्रतिबन्ध लगाएन। चर्च, विश्वविद्यालय, बस, रेल स्टेसन, लगायतका भीडभाड बढी हुने स्थानमा सतर्कता अपनाउन सरकारले आग्रह गर्यो।
पहिलो संक्रमण देखिएलगत्तै सरकारले चिकित्सकहरूसमक्ष छलफल गरी औषधिजन्य सामग्री, किटलगायतका अन्य सावधानीका सामग्री उत्पादन गर्ने कम्पनीहरूलाई उपचार र परीक्षणका लागि आवश्यक सामग्री उत्पादनमा बढावा दिन आग्रह गरे।
सरकारले सुरक्षाका लागि किट्स उत्पादनसँगै आपूर्तिमा जोड दिएर धेरैभन्दा धेरै नागरिकमा परीक्षण गरायो।
हाल दैनिक १ लाख किट्स उत्पादन भइरहेको छ। दैनिक हजारौंलाई परीक्षण गरिहेको छ भने किट्स लगायतका अन्य सुरक्षाका सामग्री अन्य देशमा वितरण गर्ने तयारी गरिरहेको छ।
परीक्षण र सरसफाइमा सतर्कता
कोरियाले मुलुकभर सरकारी अस्पताल, जनस्वास्थ कार्यालय, क्लिनिक गरी छ सयभन्दा बढी कोरोना परीक्षण र उपचार केन्द्र स्थापना गरी सेवामा बढावा दियो।
मुलुकभर ३ लाख ६४ हजार ९४२ जना मानिसमा कोरोना परीक्षण गर्न सफल भयो। परीक्षण सफल बनाउन नागरिकहरूले सरकारलाई सहयोग गरिरहेका छन्।
भाइरसको लक्षण देखिनेहरूको आइसोलेसनमा राखी उपचार भइरहेको छ। सरकारले उनीहरूसँग एक साताअघिदेखि सम्पर्कमा आउनेहरूको खोजी गर्दै परीक्षण र उपचारमा तीव्रता दिइरहेको छ।
सिसिटिभी फुटेज र जिपिएसको माध्यमबाट खोजी गर्दै परीक्षण र उपचारमा जोड दिइरहेको छ।
परीक्षणका लागि करिब दस मिनट लाग्ने र एक घण्टाभित्रै संक्रमण भए/ नभएको पुष्टि हुने कोरोना परीक्षण गर्न सरकारले नागरिकसँग अनुरोध गर्यो।
इमर्जेन्सी अर्लट म्यासेज
विभिन्न दूरसञ्चार कम्पनीहरूले स्मार्टफोनमा इमर्जेन्सी अर्लट म्यासेज दिँदै आइरहेका छन्। कोरोना संक्रमित भएको स्थानको जानकारीसहित उक्त ठाउँमा नजान र जानै परेमा सावधानीका सामग्री अपनाइ जान अनुरोध गरिरहेको छ।
सरकारले स्यानिटाइजर र साबुन पानीले हात धुन,मास्क प्रयोग गर्न, रूघाखोकी लागेको भएमा मास्क प्रयोग गर्न, हाछ्युँ गर्दा अरूलाई नपर्ने गरी गर्न, परिचित वा अपरिचित मानिसहरूसँग हात नमिलाउन र अंकमाल नगर्न लगायतका सावधानी अपनाउन जोड दिँदै आइरहेको छ।
स्यानिटाइजर र मास्कको व्यापक प्रयोग
कोरियाका अस्पतालहरूमा स्यानिटाइजर र मास्क नि:शुल्क उपलब्ध छ। बस, रेल र अपार्टमेण्टका लिफ्ट, कलकारखानाका गेटमा स्यानिटाइजर राखिएको छ।
त्यस्तै, विभिन्न कामले अस्पताल जाने र कलकारखानामा कार्यरतहरूको नियमित ज्वरो नापिरहेको छ।
नि:शुल्क परामर्श
सरकारले कोरोनाभाइरसको संक्रमणको लक्षण देखिएमा फोन गरी परामर्श लिन अनुरोध पनि गरिरहेको छ। नजिकका अस्पतालहरूमा सम्पर्क गरी आफूमा भएको लक्षण बताउन र उपाचार विधि अपनाउन पनि सरकारले आग्रह गरिरहेको छ।
डरत्रास फैलाएन
हाम्रो देशको सामाजिक सञ्जालजस्तो यहाँको सञ्जालमा भयाभह फैलिएको छैन। छिनछिनमा तातिरहने हाम्रो सञ्जालजस्तो छैन यहाँ।
यहाँ बेकामका अनलाइन र युटुबे भाइरसहरू छैनन्। भएकाहरू आफ्नै उद्धेश्यमा व्यस्त छन्। बेकाममा मानिसभित्र डर, त्रास र निराशा फैलाएर बस्दैनन्।
आफ्नै नियम कानुन छ। आफ्नै लक्ष्य र उद्धेश्य छ अनि आफ्नै प्राप्ति।
हामीकहाँ जो पनि बकम्फुसे कुरा गरेर, आफैं चिकित्सक बनेर औषधोपचार विधि सिकाइरहेका छन् तर यहाँ त्यस्तो छैन। भइहालेमा कडा कारबाही हुन्छ,जरिमाना हुन्छ
नागरिकहरूमा चेतनाको स्तर
यहाँका नागरिकहरू सगग अनि संवेदनशील छन्। बस र रेलमा यात्रा गर्दा मास्क लगाउँछन्। एकआपसमा कुराकानी गर्दैनन्। परिचितसँग बोल्नै परे पनि टाढैबाट बोल्छन्। हात मिलाउँदैनन्। अपरिचित एकअर्कालाई हेर्दैनन्। कसैको नजिकै आएर कोही बोल्दैनन्। थुकको छिटा अरूको शरीरमा पर्नेगरी हाछ्युँ गर्दैनन्। यदि हाछ्युँ गरे पनि पछाडि फर्केर वा हातले छेकेर हाछ्युँ गर्छन्
सवारी साधनमा जनचेतना
कोरियामा गुड्ने बस, रेल, ट्याक्सी लगायतका सार्वजानिक सवारी साधनमा कोरोनासम्बन्धी जनचेतनात्मक जानकारी पढ्न, हेर्न र सुन्न पाइन्छ।
कोरोनाभाइरस लाग्नबाट जोगिन र लागि हालेमा अपनाउनुपर्ने सावधानी र उपचारसम्बन्धी चेतनामूलक जानकारीका साथै लक्षण, बच्ने उपाय र परामर्शका लागि अस्पतालका फोन नम्बर लगायतका जानकारीहरू राखिएका छन्।
संक्रमित पूर्ण निको
मार्च १३ मा कोरोना संक्रमित भएर थेगुस्थित पोहाङ क्लिनिकमा भर्ना गरिएको ९७ वर्षीय एक वृद्धा पूर्ण निको भएर घर फिर्ता भएकी छन्। कोरोना संक्रमितको उपचार गरी निको हुन्छ भन्ने पछिल्लो उदाहरण हुन् उनी। कोरोना संक्रमित भएर उपचारपश्चात निको हुने उनी पहिलो वृद्धा महिला हुन्। क्लिनिकले उनलाई पूर्ण निको भएको घोषणा गरी घर पठाएको बताइएको छ। हाल उनी घरमै क्वारेन्टाइनमा बस्छिन्।
त्यस्तै, संक्रमितमध्ये ५० प्रतिशत बिरामी निको हुँदै घर फर्किरहेका छन्। शुक्रबार साँझसम्ममा ४ हजार पाँच सय २८ जना पूर्ण निको भएर घर फर्किए भने ४ हजार ६ सय ६५ जनाले उपचार सेवा लिइरहेका छन्।
१० मिनेटमा चेक
सउल महानगरपालिकाले मार्च २६ बिहीबारदेखि सार्वजानिक स्थलहरूमा आवतजावत गर्ने मानिसहरूको कोरोना जाँच्ने काम सुरू गरेको छ। १० मिनेटमात्र समय लाग्ने उपकरणमार्फत् मानिसहरूलाई कोरोना छ या छैन भन्ने जाँच हुन्छ।
परीक्षण गर्दा कोरोनाको लक्षण देखिएमा तुरून्त अस्पताल भर्ना गरिने पनि जनाइएको छ।
सेल्फ क्वारेन्टाइन
अमेरिका र युरोपियन मुलुकबाट कोरिया आउने नागरिकहरूमध्ये ३४ देखि १०१ जना सम्ममा कोरोनाको लक्षण देखिएपछि सरकारले उक्त देशबाट प्रवेश गर्ने सम्पूर्ण यात्रुहरूलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।
कोरियाका प्रधानमन्त्री चुङसे कुनले बिहीबार संसदीय बैठकमार्फत् विदेशबाट आएकाहरूमा कोरोनाको लक्षण नदेखिएता पनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न र यदि नियम उल्लंघन गरेको पाइए कारबाही गरिने बताएका छन्।
यसरी विभिन्न रणनीति अपनाउँदै कोरियाले कोरोनालाई हराउँदै जित हासिल गर्ने तर्फ उन्मुख भइरहेको छ। हाम्रो देशमा पनि कोरोनाको संक्रमण देखिएको छ। हालसम्म जम्मा ४ जनामा देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन्। हाम्रोमा संक्रमित सबै विदेशबाट आएका हुन्। तर ती संक्रमित सँगै आएका के कति छन् र कहाँ छन् भन्ने खोज्न सरकारमा उदासिन देखिएको छ।
सरकार अहिले पनि केही ढिलो अवश्य भएको छ तर यसलाई खेलाँची लिए यसले नै उग्र रूप लिँदैन भन्न सकिँदैन।
त्यसैले अहिलेको मुख्य काम भनेकै ती संक्रमित सँग कोको आएका थिए भनेर पहिचान गरी तिनीहरूको परीक्षण गर्नु र उनीहरूसँग सम्बन्धित व्यक्तिहरूको पनि परीक्षण गर्नु अहिलेको आवश्यकता हो।
सरकार! त्यसैले ढिला भइसक्यो अझ ढिला नगरौं। देशलाई भयाभह स्थितिबाट जोगाउन संघीय,प्रदेश र स्थानीय तहबाटै लागिपरौं।