म बालापनका ती दिनहरू खुब सम्झन्छु। सुन्दर पहाडको खोला र जङ्गल पार गर्दै घण्टौँ लगाएर विद्यालय पुगेको, भोक लाग्दा साथीको झोलाबाट खाजा चोरेर खाएको। साँच्चै ती दिनहरू सम्झँदा अहिले पनि आँखाबाट पत्तै नपाई आँसु खसिदिन्छन् याद बनेर।।
आज बिहानै म कक्षा ८ मा पढ्दा सरले कक्षाकार्य दिएको एउटा शीर्षक मेरो दिमाग यात्री बनेर आउन पुग्यो। आफू यात्री बनेर थकाइ मार्न मेरो दिमागमा पुगेको त्यो दिनले मेरो दिमागलाई भने लामो होमवर्क दिएर गयो।
सरले त्यो दिन दिनु भएको शीर्षक थियो- ‘भविष्यमा के बन्ने?’
मैले बडो चाखलाग्दो तरिकाले लेखेको थिएँ- ‘भविष्यमा म डाक्टर बन्छु।’ लेख्न पनि किन नलेख्नु, कहिलेकाहीँ जङ्गलमा गोठालो जाँदा सँगैको साथीलाई बिरामी बनाएर उपचार गर्ने डाक्टर जो बनेको थिएँ। पानीको औषधि, सिमली भुवाको रुई, फाटो कपडा चिरेर पट्टि आदि त मेरा दैनिकी नै थिए। यतिसम्म कि घरमा कोही बिरामी हुँदा पनि नजानेरै झपारेर यो खानु त्यो नखानु भनेर अर्ति दिन माहिर थिएँ म। आहा! क्या रमाइला है ती दिन पनि।
समय सधैँ एकनासको नहुने। घरमा आमा बिरामी हुँदा राम्रो उपचार गर्न सक्ने क्षमता नभएको परिवारमा हुर्केको म कसरी डाक्टर बन्न सक्थेँ र! जिन्दगीले मलाई डाक्टर होइन ‘म्यानेजमेन्ट’ विषय लिएर पढ्न बाध्य बनायो।
पढाइमा राम्रै विद्यार्थी भएता पनि बाध्यताले सधैँ ‘डिस्टर्ब’ गरिरहने क्या! कहिले कलेजमा फी, कहिले घरधनीले भाडा, कहिले पेटले मिठो स्वाद खोजेर त कहिले घरले जिम्मेवारी खोजेर होस्, अचेल यी सबै कुराले गर्दा मनमा एउटै कुराले स्थान बनाइरहन्छ; विदेश। त्यसो त आफ्नो सुनौलो भविष्यको खोजीमा मिठो सपना र कल्पना बोकेर साउदी, कतार, मलेसिया लगायत विभिन्न देशहरूमा प्रवेश गरेका नौजवानहरू मरुभूमिको तापिलो घाममा आफ्ना सपनाहरू सुकाएर स्वदेश फर्किएका पनि छन्।
कतिपय युवाहरू त रेगिस्तानको तातो हावाले पोलेर आइसका डब्बाहरूमा चिसो खाँदै नेपाल फर्किएका पनि छन्, लास बनेर।। यी यस्तै कुराले मात्रै हो डर लाग्ने मनमा नत्र मन त यो देशदेखि अघाइसक्यो नि।।
हामीसँग प्रकृतिले दिएको अनुपम उपहारहरू छन् तर ती उपहारहरूलाई चलायमान बनाउन सक्ने जनशक्ति देशले उत्पादन गर्न सकेको छैन। राज्यको लगानी र ध्यान पनि छैन देशको स्रोत उपयोग गर्न तर्फ। दोष नि कसलाई दिनु? हाम्रो देशको राज्य व्यवस्था भनेको पुँजीवादीहरूको हातमा छ। यो देशको राजनीति र हाम्रो देशमा नेताहरू रहँदासम्म हामी जस्तो मध्यम वर्गीय परिवारमा हुर्केका नौजवानहरूले थोरै पढ्ने, नेताको पछाडि नाराबाजी गर्ने र अन्त्यमा नेतालाई सामाजिक सञ्जालबाट गाली गर्न बाहेक रोजगार पाउन गाह्रो छ।
हुन त देशमा केही छैन भन्नु पनि मूर्खता नै हो जस्तो लाग्छ। तल्ला घरे साइँलो दाइ दुई वर्ष पहिले राजनीतिमा लागेर तराईमा पक्की घर बनाइसके, पल्ला गाउँको छिमेकी काका ०७४ मा वडा अध्यक्ष हुनुभयो गाउँकै स्थानीय बजारमा दुई तले घर ठड्याउनु भयो अनि तल्ला गाउँको माइलो काकाले प्रदेशबाट अनुदान ल्याउँदै गाडी मोटर जोडिसक्नु भयो। तर देशमा बस्नलाई केही न केही त हुनै पर्ने रहिछ।
अचेल घरबाट कहिलेकाहीँ फोन गरेर बाआमाले आयोगको तयारी गर भन्नुहुन्छ। तर म भने यता सहरको गल्लीहरूमा कालो मास्क लगाएर आफ्नो सपनाहरूलाई मार्दै एकोहोरो टोलाएर हिँडिरहेको हुन्छु। म सोच्छु, आयोगको तयारी गर्दा ३/४ वर्ष त लाग्छ। त्यो बेलासम्म ऋणले बस्ने घर समेत रहने हो कि होइन!
सहरको गल्ली भित्रको सानो कोठाबाट छोरोले अचेल युट्युबमा कुन देशले कस्तो कामदारको लागि आवेदन खुला गरेको छ? कुन देश जान कति पैसा लाग्छ? कुन देशमा सानो लागतमा गएर ठुलो कमाइ गर्न सकिन्छ भन्ने कुराहरूको बारेमा सोचिरहेको कुरा गाउँमा अनपढ आमा-बालाई कसले सुनाइदिने?
हुन त हाम्रो देश नेपाल कृषि प्रदान देश भनेर चिनिन्छ। कृषि प्रधान देशको नागरिक भएर पनि खाडी, कोरिया लगायत देशमा कृषि कामकै लागि बर्सेनि लाखौँ युवाहरू बिदेसिएका छन्। गाउँ छोडेर सहर, सहर छोडेर विदेश जाने यो त ट्रेन्ड नै बनिसक्यो अहिले हाम्रो देशमा।
देशमै व्यवसाय गर्छु, आधुनिक कृषि गर्छु भनेर ऋण माग्न जाँदा पनि ऋणदाताले नपत्याउनु तर विदेश जान्छु भन्दा चाहे जति ऋण दिने प्रवृत्तिले पनि होला धेरैजसो युवा पलायन भएका। विद्यार्थी भिसामा विदेश गएर मनग्ये आम्दानी गरी पाँच वर्षपछि परिवार बोलाउन सक्ने युवाहरू देशमा फर्केर लगानी गर्न किन तयार छैनन्? नेपाल अनि विदेश बिचको दूरी कम गर्न हाम्रो देशले के रणनीति बनाएको छ र नेपाल बस्नु?
अचेल मनमा उब्जिने धेरै प्रश्न छन्। जस्तै-
नेपाल किन बस्ने?
नेपाल बसेर भविष्य बन्ला र?
नेपाल बसेर परिवारलाई खुसी राख्न सकिएला र?
पढाइसँगै पार्ट टाइम काम गरेर जीविकोपार्जन गर्न सकिने अवस्था नेपालमा आउला र?
हो, यी नै प्रश्नको जवाफ खोज्दा खोज्दै कतिपय युवाहरूले विदेशमा आफ्नो श्रम बेच्न बाध्य छन्।
बस्न मन त कसलाई पो हुँदैन र आफ्नै ठाउँको चिसो हावा पानी खाएर। तर देशमै बस्ने बहाना नै पो के छ र? छ भनौँ भने त्यही आमा-बाको निःस्वार्थ माया छ। आफ्ना मनका बह सुनिदिने चराचुरुङ्गी छन्। म रुँदा पनि हाँसी दिने सेतै हिमाल छन् अनि बेलाबेला बेरोजगार भनेर जिस्काइदिने त्यही छिमेकी छन्। नत्र त दिमागमा त्यही विदेश बाहेक के छ र? a