बिहानको मिरमिरे घाम उदायो। घामसँगै म पनि ब्युँझिएँ। पुगिसकेछु म एउटा अनजान सहर; अनजान व्यक्ति अनि स्वयम म आफै अनजान बनेर! दुई पङ्क्ति हाँसो, उज्यालो अनुहारका साथ मुसुक्क मुस्कुराउँदै बिहान उठेर घर-परिवारलाई अभिवादन गर्ने चरण लम्बिँदै थियो। सुरु भयो सामाजिकीकरण।
सामाजिकीकरणले हेरेन मानवमा भएको आचारसंहिताको मूल्याङ्कन। गर्यो त केवल अनुहारको मूल्याङ्कन। ‘ए खै कस्ती रहेछिन् फलानाकी फलानी?’ ती शब्दका ठेलीहरू मैले आरोहण गर्न नसक्ने हिमाल जस्तै विशाल थिए। मात्र मेरा लागि बनेका हुन्! कतैको एउटा चरा उडेर अन्तै बसाइ सरेको थियो। कतै मेरो सौन्दर्य, सपना, चञ्चलता, इच्छा चाहनाहरूको खहरे तलाउ त हुने हैन!
घरको कार्यलाई प्रभावकारी र रोचक ढङ्गबाट गर्दै थिएँ। कोहीलाई त्यही काम आहा लाग्ने भने कोहीलाई डाहा! मेरो सिकाइ, बोली व्यवहारले व्यवहारिकता झल्काउँथेन होला तर पक्कै नियत गलत थिएन। सबैसँग हार्दिकताका साथ व्यवहार गर्न खोज्थेँ तर नमिल्ने!
कुनै कार्य जटिल वा कठिन कार्यलाई म सजिलै सामना गर्न सिक्दै थिएँ। मेरो कामले मलाई सार्थक दिन्थेन होला तर मेरो मनको सोचाइको विषय म आफूसँग स्पष्ट हुन्थेँ। मेरो मानसपटलमा के बितेको छ, मलाई अनजान सहरमा के भइरहेको छ, त्यो कसैले बुझेको हुन्थेन। टाढाको सफर, निस्केको ३ दिनपछि घरतर्फ पुगेँ। आउन ३ दिन लागेता पनि अबको ३०० वर्ष मजाले कटोस् भनी सोच्थे !
सुरु भयो मेरो रङहीन दिन। होइन होइन, एउटै रङको दिनचर्या। रातो रङदेखि डराउने म रातो रङ नै मेरो लोभलाग्दो पहिरन बन्न पुग्यो। सबैको रोजाइको विषय नै रातो पहिरनमा जान्थ्यो। मेरो रोजाइ पहिरन फरक, श्रीमानको फरक अनि परिवारको रोजाइ फरक! यही सोच्दा मैले साँच्चै नै बुहारीको झट्का पाएँ अनि आफ्नो रोजाइलाई मानसपटलबाटै फालिदिएँ। दैनिकी भयो मेरो रातो पहिरन, रातो सिन्दुर, रातो टीका, रातो चुरा, रातो कुर्था-सुरवाल। सबै रातो रङ। त्यही माथि महिनावारिले पनि क्या मजाले साथ दिइरहेको थियो।
खै आफ्नो रोजाइ गरूँ कि अरूको! मेरो चित्त बुझाइ होस् या अरूको! ह्या होस्, मेरो चित्त नै सर्वश्रेष्ठ हो भन्दै अगाडि बढ्ने क्रममा मेरो सुनाइले अर्कै मोड लियो। झसङ्ग भएँ। साँच्ची म त बुहारी पो हुँ। रुख काटिसकेपछि हाँगा राम्रोसँग चल्दैन। त्यस्तै भएका थिएँ मेरा हातखुट्टा पनि। सबैको कुरा सुन्दा म त्यही रूपमा भएँ।
आफूलाई हेर्छु, नियाल्छु ऐनासँग। पुग्छु शिरदेखि पाउसम्म। रातोले पुरिइएको छु। त्यो रातो देखेर मन पनि चंगा होला भनेको त पूरै दंग भयो! आफूलाई हेरेर, आफै मुसुक्क मुस्कुराए आफ्नो कामतर्फ लाग्थेँ। मेरा दैनिक काम आदर सत्कार र रातो पहिरनले दिन गुजार्दै थिएँ।
अब त अलि परिवर्तन हुनपर्यो भन्दै अलिअलि परिवर्तन हुँदै थिएँ। अरू रङको रोजाइ पुग्थ्यो। अब त पहिलेको जस्तै लुगा लगाउँछु भनेर सोच्थेँ, लगाएँ पनि। बिस्तारै उताबाट झट्का सुन्थेँ- ‘बुहारी हो किन अरू लगाएकी?' रातो कुर्था सुरवाल लरक्कै परेर हातभरि चुरा भरेर हिँड्नु पर्छ भन्ने नमिठो जवाफ कानमा पर्यो।
होस् एउटा कानले सुन्छु अर्को मेरो कानले उडाउँछु भन्दै अघि बढिरहेकी थिएँ। तर बुहारी पो हुँ। मेरो विचार अपुरो भयो र बारम्बार नमिठो शब्दहरू कानमा परिरह्यो। किन होला मेरो व्यक्तिगत जीवनको ‘कोरियोग्राफी’ गर्छन्? यसो सोच्थेँ, साँच्ची म त बुहारी पो हो त! फेरि त्यही आत्मविश्वासका साथ जोसुकै कोरियोग्राफर भए पनि मेरो जीवनको डाइरेक्टर म नै हुँ भनेर आफ्नो चित्त आफै बुझाउँथेँ।
चाडपर्व र समाज परिपूरक छन्। दुवैले मलाई रातैले रंगाउन खोज्छन् तर म कदापि सक्दिनँ। म मेरो संस्कारले, मेरो व्यवहारले घर रंगाउन खोज्छु। उता भने मेरो कपडाकै आधारमा आकलन गरिदिन्छ मेरो समाज। के घर रंगाउन, घर उज्यालो बनाउन रातो नै चाहिने हो र? कपडा लगाएर मात्रै घर घर जस्तो हुन्छ र? उसलाई जेमा सहज हुन्छ, कुन रङले उसको मुहार उज्यालो हुन्छ त्यही लगाउन दिनु राम्रो पक्ष होइन र? उसलाई सहज वातावरणमा घुलमिल हुन सिकाएपछि घर यसै उज्यालो हुने हैन र?
मेरा आँखा एकदमै काँतर देखिन्छन्, रसिला अनि डरले भरिएका। कतै मलाई शिरदेखि पाउसम्म हेरेर मूल्याङ्कन गर्ने, कतै मेरो छाला हेरेर, कतै मेरो शरीर हेरेर अनि कतै भने मेरो पहिरन। ‘अहो! किन यस्तो कुर्था लगाएकी? किन यस्तो सिम्पल? बिहे नगरेको केटी जस्तो भएर हिँडेकी?’ जस्ता तमाम प्रश्नले दिमागमा बाढी परिसकेको थियो। अनि म भाउन्नै हुन्थेँ। कसलाई पोखूँ, कोसँग सुनाऊँ यी मेरा भाव? कसैलाई पोख्न सक्दिन थिएँ अनि आफै विवश महसुस गर्थेँ।
नयाँ ठाउँमा बसाइ सरेपछि पूरै नयाँ भएर अघि बढ्नु पर्ने रहेछ। ठिकै छ यही नयाँ सम्बन्ध, नयाँ सहर, नयाँ घर, नयाँ पहिरनलाई अँगाल्दै मेरा नयाँ दिनरूपीलाई अगाडि बढाउने छु। तर मेरो उही पुरानै आत्मविश्वास, पुरानै स्तर, पुरानै सीमा, पुरानै सकारात्मक ऊर्जा र सोच लिएर मेरो नयाँ घरलाई घरजस्तै बनाएर अगाडि बढ्ने छु।