मानिस स्वभावैले स्वार्थी प्राणी हो। जहाँ कहीँ, जोसुकैसँग स्वार्थले नजिकिने र टाढिने गर्छ। यसलाई अनौठो मान्नुपर्ने त्यस्तो केही छैन तर मान्छेहरू केही सफलता प्राप्त गर्ने बित्तिकै कसरी आफ्नो रवैया फेर्छन् भन्ने उदाहरण आजभोलि पाइलैपिच्छे देख्न पाइएको छ।
यस्तो होइन कि तिनीहरूले सफलता सित्तैमा पाएका थिए, थाहा छ हामीलाई पनि एउटा सफल व्यक्ति बन्न कडा मेहनत गर्नुपर्छ भन्ने र थाहा छ तिनीहरूले गरेको कडा परिश्रम पनि। समय सँगै परिवर्तन हुनुपर्छ, यो प्रकृतिको नियम हो तर नियम हो भन्दैमा आफ्नो विगतको हविगत, पृष्ठभूमि यति छिट्टै भुल्नु कदापि राम्रो होइन भने मेरो बुझाइ हो।
मान्छेले गर्ने व्यवहार र हेर्ने दृष्टिकोण पनि समय सँगै परिवर्तन हुँदोरहेछ। अब व्यक्तिको कुनै भ्यालु, इज्जत कसैले गर्छ जस्तो लाग्दैन, मान्छेले आफ्नो आवश्यकता, जरूरत अनुसार मान्छेको पद, अहोदा, धन सम्पत्ति, सोसियल स्टाटसबाट मिल्ने फाइदा अनुसार त्यसको इज्जत गर्छन्। पहिले आफ्ना लाग्ने, आफ्नोपन देखाउने भेट्दाखेरी आफ्नोपनको आभास हुने मान्छेहरू आजभोलि मलाई देखेर टाउको बटारेर तर्केर हिँडेको देख्दा दु:ख लाग्छ।
म कहिलेकाहीँ सोच्छु सम्बन्धहरूमा दुरी आउनलाई कुनै झगडा, हानथाप नै हुनुपर्छ भन्ने नहुँदो रहेछ। बस् तिनीहरूभन्दा अलि पछि, अलि कमजोर परेर हेर अनि तिनीहरूको रवैया हेर मान्छे पहिले र अहिले कति फरक भेटिन्छन् भनेर।
जिन्दगीमा सबैभन्दा पिर त्यतिखेर लाग्दोरहेछ, जहाँ हामीले कसैलाई आफ्नो प्रेरक व्यक्तित्व वा भनौं आदर्श मानेको व्यक्तिले आफूप्रतिको देखाउने देखावटी व्यवहार र हेर्न दृष्टिकोणको वास्तविकता थाहा हुन्छ।
हरेक समाजले कसै न कसैलाई एउटा आइडल मानेको हुन्छ र त्यसको प्रभाव स्वाभाविक रूपमा त्यो समाजमा बस्ने मानिसमा पर्दछ। व्यक्तिको चरित्र निर्माण, गर्ने व्यवहार र अरूलाई हेर्ने दृष्टिकोण पनि समाज अनुसार फरक पर्दछ। फेरि हाम्रो समाजमा जागिरलाई एक अलग्गै दृष्टिकोणले हेर्ने चलन छ।
एक हिसाबले हेर्ने हो भने ठिकै पनि हो, तर जो सफलताकै लागि जिन्दगीको २५/३० वर्ष लगाउँदा पनि सफल भएन भने यसको जिम्मेवारी कसले लिने ऊ विचारत: घर न घाटको हुन्छ। त्यसैले समाजको सफलता मापन गर्न, सफल भएको मान्ने जुन दृष्टिकोण छ त्यसलाई पनि समय परिस्थिति अनुकूल हुने गरी परिवर्तन र परिमार्जन गर्नु जरूरी हुन्छ। साथसाथै मान्छेका रवैया,अहमता आदि सोच पनि परिवर्तन हुन्छ। सफल हुन सफलता प्राप्त गर्न कुनै एउटा निश्चित क्षेत्र मात्रै हुँदैन। फरक/फरक क्षेत्र छन् फरक तरिका छन् त्यसैले कसैलाई वर्तमानलाई हेरेर मुखामुख गरी कसैलाई होच्याउने, खिसिट्युउरी गर्नु त्यति राम्रो होइन।
समय बलवान छ तिमीहरू जसरी परिवर्तन भयौं त्यसरी नै असफल व्यक्ति पनि कुनै दिन समयको चक्रसँग परिवर्तन भई भेट हुन सक्छ। कसैसँग गुनासो, आग्रह पूर्वाग्रह होइन बरू आफू प्रयोग भइएको थाहा नपाउनु आफैमा एक पश्चाताप हुँदो रहेछ। कसैले सित्तैमा गरेको तारिफमा मख्ख भई नाक फुलाउनु सबभन्दा ठूलो कमजोरी हो भन्ने कुरा बुझ्न मलाई यति धेरै समय लाग्यो तर केही छैन थाहा त पाएँ नि यहाँ जो कोहीले सोझोपनको फाइदा उठाउँछन् भन्ने।
मान्छेले यति छिट्टै कसरी परिवर्तन हुन सकेका हुन् छक्क पर्छु र विगत कसरी यति छिट्टै भुल्न सकेका हुन्, अचम्म लाग्छ मान्छेको यस्तो चरित्र देख्दा सोच्न बाध्य बनाउँछ। जीवन एक लामो यात्रा हो, यहाँ सफलता, असफलताहरू आउँछन्, जान्छन् तर जिन्दगी सन्तुलित बनाउन यी दुबै उत्तिकै महत्वपूर्ण तत्व मानिन्छन्।
मलाई त यस्तो लाग्छ मानिसमा एक समान खालको व्यवहार हुनुपर्छ, सद्भाव सद्भावना हुनुपर्छ। आफूलाई अरूहरूले इज्जत गरून् भन्ने चाहना राख्नेले अरूलाई पनि इज्जत दिन जान्नु पर्दछ। हाम्रो विगत हामी सबैलाई थाहै छ र आउने भविष्यप्रति हामी सबै अनविज्ञ नै छौं अनि यो वर्तमानको केही छिनको सफलताले यति ठूलो घमण्ड पाल्नु लाजमर्दो कुरो हो।
के थाहा आज तिमी माथि छौ, भोलि म माथि तिमी तल पो झर्छौ कि!, त्यसैले त म बारम्बार भन्छु आकासमा उड्ने सपना देख्नु होस् तर जमिन नबिर्सनु भनेर। समयले कैंयौं सफल, बलवान, धनवान व्यक्तिलाई जमिनमा पछारेको देखेका, सुनेका छौं।
थाहा छ हामीलाई रावणको घमण्डले लङ्का डढेको, कौरवको वंश नास भएको र कंशको वद भएको पनि। जीवन कुनै दौड होइन न त कछुवा र खरायोको दौड नै।
सबै सफल भएका मान्छेहरू खुसी छन् भन्ने छैन र खुसी हुनलाई ठूलै सफलता प्राप्त गर्नुपर्छ भन्ने छैन। त्यसैले जीवनमा सफल हुनु जति जरूरी छ, खुसी हुनु पनि त्यति नै जरूरी छ।
एक भनाइ छ एक्लै हिँड्ने मान्छे पहिले पुग्छ तर सबैलाई साथमा लिएर हिँड्ने मान्छे टाढासम्म पुग्छ। एकदिन त्यस्तो समय आउने छ जहाँ तिम्रो सफलताको यात्रा टुंगिनेछ र मेरो त्यहाँबाट सफलताको यात्रा सुरू हुनेछ।
छिटो प्राप्त भएको सफलताले मान्छेमा अहमता पैदा गर्छ र ढिलो प्राप्त भएको सफलताले मान्छेमा समझदारी, बुद्धि र ज्ञान अनुभव पैदा गर्छ, त्यसैले मलाई चाँडै सफलता मिलोस् भन्ने छैन बरू ढिलो मिलोस् ममा त्यो सक्षमता पैदा गरोस्, मान्छे चिन्न सक्ने र किताब भन्दा पनि आसपासका मान्छे पढ्ने अक्कल पैदा गरोस्। सहीलाई सही र गलतलाई गलत देख्न दृष्टिकोण पैदा गरोस्।
संसारमा सबै मान्छे सबै क्षेत्रमा अब्बल हुन्छ भन्ने छैन, सबैको आ-आफ्नै खुबी छ, क्षमता छ त्यसैले अरूको भागमा आफ्नो भाग्य खोज्दै हिँड्दैमा सफलता प्राप्त हुने चिज होइन र कसैले मागेर, दिएर प्राप्त हुने चिज पनि होइन।
सफलताको मापन गर्न निकै कठिन छ, कतिसम्मको प्रगतिलाई सफल भएको मान्ने भन्ने मान्छेका आ-आफ्नै दृष्टिकोण, बुझाइ छन्। कोही जीवनमा स-साना उपलब्धीहरूमा पनि निकै उत्तेजित र खुसी हुन्छन् फेरि अर्कोथरी मान्छे छन् जहाँ सफलताले गगनै चुम्दा पनि खुसी हुँदैनन्। त्यसैले सफलता खुसीको कडी होइन, खुसी सफलताको कडी हो।
बच्चादेखि नै तिमीहरूले मलाई प्रतिस्पर्धी सम्झेऊ तर मैले तिमीहरूलाई सहकर्मी, सहयात्री, साथी जस्तै ठानेँ। खैर केही छैन जिन्दगीलाई हेर्ने मान्छेको आ-आफ्नै दृष्टिकोण हुन्छ, विचार र जीवन शैली हुन्छ, आ-आफ्नै आइडियोलोजी हुन्छ आफ्नै सपना हुन्छन्।
बस् मेरो मान्यता यति हो आफन्तको अगाडि मुख छोप्नु नपरोस्, अनुहारमा झुटको मुकुन्डो लगाउनु नपरोस्, भेटिएको समयमा राम्रै भलाकुसारी होस्। अब मेरो यति आग्रह हो कि सफलताको यति दम्भ नदेखाऊ एक दिन पछुताउनु पर्ला।
ढिलो चाँडो समय सबैको आउँछ। सबैलाई सफलता मिल्छ भन्ने छैन मान्छेमा धैर्यता, सहनशीलता, लगनशीलता, इमानदारी एकाग्रता र सकारात्मक सोच हुनुपर्छ सफलता पक्कै मिल्छ। धोबीलाई हतार भयो भन्दैमा रातमा घाम उदाउने कुरा हुँदैन। भरोसा कसैले नगरे पनि कसैले नपत्याए पनि आफूमा भरोसा राख्ने मान्छे एकदिन अवश्य नै सफल हुन्छ।
सफल भए भेटौंला पहिलेको जस्तै हाँसो मजाक गरौंला यदि सफल भइएन भने जिन्दगीले सिकाएको पाठलाई आत्मसाथ गरेर जिन्दगीको यात्रा पूरा गरौंला र तिम्रो सफलताको लागि कामना गरिरहुँला।