आकाश सीमा होइन। यो एउटा विशाल क्यानभास हो जहाँ रङहरू खेल्छन्। आकाश अन्त्य होइन। त्यो बाटो हो ताराहरू भेट्ने। हाम्रो पहुँचलाई लोभ्याउने। धर्तीको यात्राभन्दा फरक।
अडिग पहाडहरू, लुकामारी खेलिरहेका बादलहरू, अनन्त–अनन्त छ आकाश। फराकिलो क्षितिज पार गर्दै बोलाइरहेछ मलाई। त्यसैले त उड्न मन छ। समयले कोरेका बन्धनहरू पार गर्दै।
स्काईवाकको करिब २५ तला अग्लो टावर चढेर काठमाडौं नियालिरहँदा निलो गगनले मलाई अँगाल्न आँटे जस्तो काउकुती लागिरहेको थियो। हामी मौन संवादमा थियौं। काठमाडौंमै हुर्केर पनि काठमाडौं नचिनेको मलाई सबै सबै नियाल्न लगाइरहेथ्यो। वल्लो कुनादेखि पल्लो कुनासम्म। निलो आकाशमा पनि सेता बादलहरू। त्यै बादलुको पहिरन जस्तै सेताम्मे भएर स्काईवाक उक्लिएकी म। कस्तो मिठो संयोग!
सुरूमा २२ तला लिफ्टमा अनि त्यसपछि ३ तला भर्याङ उक्लिनु पर्ने रहेछ। लिफ्टभित्र हुँदा ‘यो लिफ्ट यहीँ अड्किए के होला?’ भन्ने उट्पट्याङ सोच नआएको होइन। नेपालमा यति माथिसम्म उक्लिन लागेको यो पहिलो पटक थियो। अझ सिसामा हिँड्न जुत्तालाई कभर गर्नुपर्ने नियम रमाइलो थियो। सुरूमा त सिसाको सतहमा पाइला टेक्दा डरले मुटु ढुकढुक भयो। तल खसिएला कि जस्तो अनुभव! तर, जब आँखा आकाशतर्फ लगें उसैको सान्त्वनामा बिस्तारै हिँड्न थालेँ। त्यो डरले कुन बेला हो, पखेँटा हालिसकेछ। अब भने त्यही सिसामाथि मज्जाले सुतेर आकाशसँग धेरैबेर बात मारेँ। त्यो सिसाको पारदर्शिताले मलाई वायुमण्डलको एउटा अदृश्य पुलमा रमाइरहेछु जस्तो लाग्यो।
म झन् माथि चढेँ, जहाँबाट उपत्यकाको विशालता अझै स्पष्ट देखिन्थ्यो। त्यो उचाइबाट हेर्दा काठमाडौं सहर बिस्कुनझैं फिँजिएको थियो, फैलिएको थियो। टाढा–टाढा क्षितिजसम्म ठूला–ठूला घरका छतहरू, घना बस्ती। बेला बेला जिस्किन आउने बतासमा सहरको चहलपहलले संगीत भर्दै थियो। मुन्तिरको सडकहरूमा देखिने स–साना गाडीहरू चलायमान अङ्कहरू झैं लाग्थे। ती बाटामा बटुवाका पाइला, गुडेका गाडीहरूले समयको गतिसँगै कथाहरू कोरिरहेझैँ लाग्थ्यो। अलि टाढै हो तर संसद् भवनमा भित्र बाहिर गरिरहेका सांसदहरू पनि साना देखिन्थे। सबभन्दा महत्त्वपूर्ण कुरा त राज्यको केन्द्रीय सचिवालय सिंहदरबारमा फहराइरहेको झण्डा पनि मैलो देखिन्थ्यो।
आँगनमै थिए, नारायणहिटी, टुँडिखेल, घण्टाघर, मुलुककै पुरानो त्रिचन्द्र क्याम्पस, प्रज्ञा प्रतिष्ठान र दुवो र लड्डुमा रमाइरहेका कमलादी गणेशजी। तर मेरा आँखाले खोजिरहेथे, हाकुपटासी, बुलिन, खिँ र धिमेको धार्मिक धुन। त्यो पुरानो सांस्कृतिक उपत्यकालाई विकासको अस्पष्ट बर्कोले छोपेजस्तो लाग्यो।
अलि पर देखेँ स्वयम्भूनाथ। तर देखिनँ स्वयम्भूनाथका मैत्री र करूणाका दुई आँखा। छेवैमा थियो सेतो गुम्बा र सुनौलो स्तूप। उसले पनि खोजे जस्तो लाग्यो बुद्धको विपश्यना।
आकाशको काखमा लडिबुड गरिरहेका बादल चुमेर उडिरहेका जहाज बाटो खोजिरहेथे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको। फुलचोकीबाट छिरेर हवाई अड्डामा नपुगुन्जेल हेरिरहेँ त्यसैलाई। छेवैमा अरू कोही उड्ने तयारीमा त कोही ओर्लिरहेका। तर ती जहाजलाई के थाहा बूढानीलकण्ठको विशाल मूर्ति, कृष्ण मन्दिरको कला र भक्तपुरमा तलेजुको तन्त्र महिमा।
मलाई विमानले उडान भर्ने उचाइ र स्काईवाकमा बसेर आकाश अँगाल्ने मेरो उचाइ उस्तै उस्तै लागिरहेथ्यो। यता काठमाडौं प्रवेशद्वार, चारै भन्ज्याङमा पनि त लर्को थियो सपना बोकेर उपत्यका छिर्नेहरूको।
तर एकाएक मेरो आँखा नेपालको पहिलो पाँच तारे होटल, होटल अन्नपूर्णमा गएर रोकियो। त्यहाँ निर्माण तीव्र छ। भनिन्छ भत्कनु पनि निर्माणको प्रारम्भ हो। त्यै अवस्थामा छ अन्नपूर्ण।
नजिकै थियो बुढो घण्टाघर। रानीपोखरीमा वर्षौंदेखि प्रेमको बल्छी हानिरहेको। समय र प्रविधिले पनि कति साथ दिएको, घण्टाघरको उचाइलाई उछिन्ने गरी अर्को उस्तै टावर बने पनि, त्यही टावरमा बसेर, त्यो प्रेमालापको साक्षी हुन पाइने। म भने अनन्त आकाशसँग मेरो प्रेमको पनि साक्षी खोजिरहेथेँ।
मुन्तिर नियाल्दा, दरबार हाई स्कुलको प्राङ्गणमा पङ्क्तिबद्ध विद्यार्थीहरू थिए। सायद उनीहरू राष्ट्रिय गान गाउँदै थिए। मानौं उल्लास र अनुशासन अभ्यास गरिरहेका कलिला नानीहरूको काँधमा थियो पूरै देशको भविष्य।
ठिङ्ग उभिएको थियो पुरानो राजदरबार, आजको नारायणहिटी दरबार सङ्ग्रहालय। आफ्नो शाही गौरव सम्झाउँदै थियो बेला बेला। विशाल परिसर र बगैँचाले सहरको बीचमा सुन्दरताको अर्को आयाम थपेको थियो।
अलिक पर, सुन्दर नवनिर्मित धरहरा, हिजोको विरासतको गर्वसहित आकाशतर्फ फर्किएको थियो। आकाशतिर त स्काईवाकको टुप्पोमा पनि झन्डा फरफराइरहेको थियो। त्यै झण्डाले बोकेको थियो यो सहरको बलियो पहिचान।
धरहरा अघिल्तिरको टुँडिखेल, खेल मैदान जस्तै देखिएको थियो। इतिहासको हरेक कालखण्डको साक्षी खुलामञ्च, साँच्चै खुला थियो। पुस्तौं पुस्ताको जीवन रक्षा गरेको वीर अस्पतालको सुकिलो विरासत–इतिहास र आधुनिकताबीचको अद्भुत साक्षात्कारजस्तो लाग्थ्यो।
आकाशमा उडिरहेका परेवा र चरा–चुरूङ्गीहरूले स्वच्छन्दता सिकाइरहेका थिए। अनि म उभिएको त्यो ठाउँ—स्काईवाक, मानौं एउटा विश्राम विन्दु हो, जहाँ समय केही क्षण थामिएको छ र मेरो मनले यो सहर, यो आकाश, यो क्षितिजलाई बिर्सन नसक्ने गरी चित्र कोरिरहेको छ। म आकाशलाई हेर्छु ऊ सूर्यको मधुर प्रकाशले मेरो भावनालाई उज्यालो बनाउँदै थियो। ऊर्जा थप्दै थियो।
शिवपुरी राष्ट्रिय निकुञ्जको हरियो जङ्गल आँखामा छुट्टै सुखद अनुभूति ल्याउँदै थियो। धुवाँ र कोलाहलले भरिएको सहरको बीचमा हरियो बलियो उभिएको शिवपुरीले प्रकृतिको अचल शक्ति महसुस गराइरहेको थियो। सधैंझैँ शान्त रसमा मौन उभिएका थिए फूलचोकी र चन्द्रागिरि।
स्काईवाकको उपल्लो टावरबाट चारैतिर नियाल्दा काठमाडौंका यी सबै ऐतिहासिक, प्राकृतिक र आधुनिक स्थलहरूले मनै लोभ्याउने कथा सुनाइरहेका थिए। स्काईवाकको उचाइले मात्र होइन, अनुभवले पनि मलाई अझ उचाइमा पुर्याएको थियो। मौन मुस्कुराउँदै थिएँ म। अनि मलाई नियालिरहेको आकाश बोलिरहेको थियो— 'यो त तिम्रो यात्राको एउटा विश्राम मात्र हो बेला, गन्तव्य अझै पर छ।'
कसरी पुगिन्छ, कति लाग्छ शुल्क?
काठमाडौं उपत्यकाको मुटुमा रहेको स्काईवाक पुग्न सजिलो छ। रत्नपार्कबाट जम्मा पाँच मिनेट पैदलमै पुगिन्छ। आफ्नै गाडीमा आउनेलाई पार्किङको सुविधा छ। यहाँको रोमाञ्चक अनुभवका लागि १ हजार तिर्नुपर्छ। अझ थप उचाइमा उक्लिन चाहनुहुन्छ भने, अर्को ५ सय तिरेर त्यसको आनन्द लिन सकिन्छ। ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बालबालिकाले भने नि:शुल्क मज्जा लिन पाउनेछन् स्काइवाकको। ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट छ । स्काईवाक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्छ।