आलु, प्याज, गोडभेँडा, फर्सी...... एकाबिहानै ठेलागाडामा तरकारी बोकेर सहरका गल्लीगल्लीमा पुग्ने तरकारीवालाको यस्तै आवाज सुनिन्छ।
सहरमा बस्नेहरू प्राय:ले यो आवाज नसुनेको कुनै दिन हुँदैन। घरको कौसीमा, वा मूल गेटमा मान्छे उभिएको देख्नासाथ तरकारीवाला आशावादी हुन्छन्, साहुनी(महिलालाई) साहुजी (पुरुषलाई) सम्बोधन गर्दै सोध्छन्, के चाहिन्छ? मिलाएर दिन्छु राख्नुस् न।
अर्को घरको कौसीबाट आवाज आउँछ ए! भैया आलु कसरी दिने? साहुनी आएर हेर्नुस् न मिलाएर दिन्छु तरकारीवाला जवाफ फर्काउँछन्।
दुई चार जना महिलाहरू ठेलागाडा अगाडि जम्मा भइहाल्छन्। सबैको एउटै आवाज हुन्छ, ‘ए! भैया अलि मिलाएर देऊ है......’
‘साहुनी तपाइ चिन्ता नमान्नुस् मिल्नेसम्म मिलाइ हाल्छु नि हामीलाई भोलि पनि यही ठाउँमा आउनु छ। एकैदिन कमाएर त हुँदैन’, आश्वस्त पार्न खोज्छन्।
यस्तै भलाकुसारी भइरहँदा अर्को तरकारी कै ठेलागाडा आइपुग्यो तरकारीवाला पनि तीन जना पुगे।
छानीछानी आफ्नो घर अगाडि तरकारी, फलफूल किन्न पाएपछि क्रेतालाई पनि हाइसन्चो हुने नै भयो।
एकजना महिला कौसीबाट कराइन्, ‘ए! भैया के के ल्याको छ? खै गाडा यता लिएर आउ त ... ।’
‘हस् साहुनी’, निकै आज्ञाकारी भएर ती तरकारीवाला दाइ घरबेटी आमाकै गेटनिर पुगे।
अघिसम्म तिमीको साइनो लगाएकी आमाले अहिले तँ भनेर सम्बोधन गरिन्। ‘अलि मिलाएर दे है भैया सधैं राख्ने मान्छे हुँ , ठग्लास् नि फेरि।’
काठमाडौंकी सभ्य, शिक्षित घरबेटीले तँ साइनो लगाउँदा पनि तरकारीवाला दाइ ‘हस् साहुनी’ भन्दै उल्टै सम्बोधन गरिरहेका देखिन्थे।
यो दृष्यले राजधानीवासीले उपत्यका बाहिर त्यो पनि तराइ मधेसका मान्छेलाई कस्तो सोच्दा रहेछन् भन्नलाई गाह्रो भएन।
एकजना मधेस मूलकै महिला तरकारी किन्न आइपुगिन्, उनी हिन्दी लवजमै कारोबार गरिन् र फटाफट हिँडिन्।
फेरि अर्को ठेलागाडावाला स्याउ, नास्पाती, अनार भन्दै आइपुगे।
अघिजस्तै आवाज आयो, ‘ए! भैया अनार कसरी दिने?’
‘अरे साहुनी छतबाट कसरी दिने भनेर हुन्छ आएर हेर्नुस् न मिलाएर दिऊँला’, फलफूलवाला दाइले जवाफ फर्काए।
ती महिला आइपुगिन्, फलफूल हेरिन्।
पटक पटक ‘भैया’ भनेपछि ती दाइ रिसाए, ‘हेर्नुस् साहुनी म बिहारी होइन धेरै ठाउँमा तिमीहरू बिहारी, इन्डियन भन्दै हाम्रो अपमान गर्छन्। म पनि तपाईंजस्तै नेपाली हुँ, तराइकै बासिन्दा हुँ म। अबदेखि भैया होइन ए भाइ भन्नुस्।’ ‘हामीचाहिँ तपाईंको इज्जत गर्छौं, साइनो लगाउँछौं हजुर तपाईं भन्छौं तपाइहरू चाहिँ कालो छाला देख्यो कि भैया भन्ने? तपाईहरूलाई ‘ए नेवार्नी’ भनेर हामीले बोलाएका छैनौं क्यारे।’
ती महिला रिसले चुर भइन्, ‘मलाई नेवार्नी भन्ठान्या? नाकमा फूली देख्दैनौ?’ अहिले चाहिँ भैया नभनी गइन् ती महिला।
ती महिला गएपछि दाइको साइनो लगाएर एकैछिन कुरा गरेँ।
‘तपाईंहरू आफैं व्यापारी भएर तरकारी, फलफूल बेच्दै हिँड्ने तर किन्ने मान्छेलाई किन साहुनी, साहुजी भन्नुहुन्छ दाइ?,’मेरो प्रश्नमा एकैछिन हाँसे। ‘नराम्रो किन भन्नु? दिदी, बहिनी भन्दा रिसाउलान् भनेर साहुनी भनेको हो’, उनले जवाफ फर्काए।
मेरा धेरै केटी साथीहरू तराइ मूलका छन्। उनीहरूले राजधानीमा खासै अपमान भोग्नु परेको बताउँदैनन्। केटालाई भैया भन्छन् हामीलाई भन्ने शब्द नभएर होला नि खासै होच्याउँदैनन् भन्छन् उनिहरू।
तर केटा साथीहरू निकै पीडित भएको बताउँछन्। बाटोघाटोमा मात्रै होइन स्कुल, क्याम्पस र अफिसहरूमा समेत ‘भैया’ भन्ने शब्दले सम्बोधन गर्दा निकै अपमानित भएको बताउँछन्।
छाला कालो देखिनासाथ, लवज अर्कै खालको हुनासाथ क्याम्पसमा साथीहरूले समेत नसुन्ने गरी भैया भन्छन्, धेरै साथीहरूको बीचमा एक्लै परियो भने हाँसोको पात्र बनिन्छ।
पहाडका साथीभाइलाई जस्तो दाइ/भाइ भन्दा उनीहरूको के बिग्रन्छ र? एकपटक बानेश्वरको एउटा पसलमा झन्डै झगडा परेन यही भनाइका कारण। तराई मूलकै जस्तै देखिने व्यापारीकोमा कपडा किन्न तीन जना महिला पुगे, संयोगले म त्यहीँ पसल अगाडि फलफूल किन्दै थिएँ।
तीन जना महिला एकैपटक पसलमा छिरे र प्याच्च बोलिहाले, ‘ए भैया यो सारी कति पैसामा दिन्छौ?’
साहुजी फनक्क फर्किए र जवाफ फर्काए , ‘ओहो म्याडमहरू आउनु भएछ, म कालो भएर भैया जस्तो लाग्यो ? मेरो घर पाल्पा हो, तराईमा दस बाह्र वर्ष बसेको छु बोल्न मज्जाले आउँछ तर कृपया भाइ भन्नुस्, दाइ भन्नुस् तर भैयाचाहिँ होइन है।’
तीनै जना जिल खाए, माफी माग्दै भने ‘ओहो दाइ सरी है भन्नुस् न यो सारी कतिसम्ममा दिन मिल्छ .....।’
गहुँगोरो छालाले कतिसम्म घात गर्छ भन्ने कुरा यही घटनाबाट पनि प्रष्ट भयो। हामी किन सम्बोधनमा यति निच सोचाइ राख्छौं? आफूलाइ सम्मान चाहन्छौं भने अरुलाई सम्बोधन गर्दा के बिग्रन्छ र?
हुन त भैया नराम्रो शब्द होइन आफैंमा तर हाम्रा दाजुभाइलाई भैया भनेको मन पर्दैन भने दाइभाइ भनौं न के बिग्रन्छ र?
साना बच्चाहरूले समेत बाटोमा एक्लै बोतल कागज संकलनकर्तालाई देखे भने ए भैया भन्दै जिस्काउँछन्।
हाम्रो बोलीको प्रभाव अवोध बच्चामा कति छिटै देखिन्छ। एकदिन कपाल काटेर फर्कंदै गर्दा ६ वर्षको छोराले जिज्ञासा राख्यो, ‘ममी कपाल काट्ने अंकल सबै भैया हुन्छन हो?’
जवाफमा के भनौं के भनौं भयो जवाफ फर्काइनँ।
फेरि सोध्यो, ‘ममी मेरो साथीले भनेको कपाल काट्ने त भैयाले मात्रै हो रे तर पोहोर साल मेरो कपाल काकाले काटिदिनु भयो। अब हाम्रो काका पनि भैया हो?’ उसको प्रश्नमा केही भन्ने शब्दै भेटिनँ।
हामीले काममा समेत यस्तो साइनो, सम्बोधन थोपार्यौ कि अवोध बच्चाहरू समेत को भैया हो को होइन भेऊ पाउने भइसके।
कहाँबाट थाहा पाएको भनेर सोध्दा सजिलै भनिदियो, अस्ति नै एउटा घरको आन्टीले दादालाई भैयाकोमा गएर कपाल काटेर आइजा भन्नुभाथ्यो। आइस्यो, गइस्यो सिकाउने परिवारका साना बच्चाहरूले समेत भैयाको साइनो लगाउँछन् आफूलाई शिक्षित, सभ्य मानिनेहरू राजधानीवासीहरूले समेत छालाको रंग र कामको प्रकृति अनुसार भैयाको साइनो लगाउँछन्।
जब भैयाको साइनो थाप्नेहरूलाई नै त्यो शब्द पाच्य छैन, उनीहरूलाई आम पुरूषलाई जस्तो दाजुभाइ भनेकोमा रमाउँछन्, खुसी हुन्छन् भने किन कन्जुस्याईं गर्ने? आजैदेखि सबैले आत्मसाथ गरौं न अबदेखि भैया होइन भाइ भनौं न।