एकदिन नजिकका काका नाता पर्नेकाे घरमा काम विशेषले गएकाे थिएँ। बिहानै। उनी सुतेका थिए। घरकाे ढाेका भने लिपिसकेकाे थियाे। भान्साकाे चूल्हो वरिपरि पनि लिपेकाे आलै थियाे। त्याे सबै गर्ने काकी थिइन्। सबेरै उठेर सबै भ्याइसकेकी थिइन्।
काकासँग कामले भेट्न आएकाे बुझेपछि काकीले काकालाई भनिन्, 'उठ्ठैनाै, भतिजा क्या कामले आयाछुन, यति छकल्यै (यति बिहानै)। अल्छी काँइका।' काकीकाे स्वर अलि ठूलाे थियाे। यसैमा काकाकाे अकल्पनीय जवाफ आयाे। नराम्ररी गाली गर्दै उनी बाेले 'छुपक्क हाे (चुप लाग) घाेडी।'
काकी केही बाेलिनन्। उनकाे अनुहार मलिन भयाे।
पछि बुझेकाे, काकाले प्रायः काकीलाई नराम्ररी गाली गरिरहने रहेछन्। एकदिन रक्सी भट्टिमा उनले सबैका अगाडि भनेछन्, 'मेरा घर चार घाेडी छन्। तीन गाेठ बस्ने, एक हरिकी (नाम परिवर्तन) आमा।' हरि उनकाे छाेराे हाे।
अर्काे दिन फेरि रक्सी भट्टिमै भएकै बेला छाेराले फाेन गरेछ, 'बा घर आऊ' भनेर। उनले प्रश्न गरेछन् 'तेरी आमा कहाँ गई?'
छाेराले आमा घाेडी खाेज्न गएकी छन् भनेछ। काकाले त्यसैमा थपेछन् 'तेरी आमा घाेडी, घाेडी खाेज्न जान्या त भई।'
घाेडा-घाेडी जनावर हुन्। उनीहरूलाई चरन क्षेत्र पाटनमा छाेडिन्छ। पाटनमा चराउन जानुपर्दैन। जनावर खुला र छाडा हुन्छन्। उनीहरूकाे शारीरिक सम्पर्क एउटै घाेडासँग हुदैन। धेरैसँग हुन्छ। आफैंले जन्माएकाे बछेराेसँग पनि हुन्छ। उनीहरूको यो स्वाभाव प्राकृतिक हो।
तर मान्छेलाई यही नाम दिएर काका गाली गर्दैथिए। काकी वा कुनै महिलालाई 'घोडी' भन्नू उनीहरूकाे संसर्ग जाेसुकैसँग भइरहेकाे छ भन्ने अर्थ लाग्छ। काकाले काकीलाई जनावर भन्दै थिए।
***
एक अर्का काकाले केही समय अगाडि ५० हजार रूपैयाँ 'जारी' ल्याए। उनकी श्रीमतीले अर्कैसँग बिहे गरेवापत् पाएको 'क्षतिपूर्ति'।
काकासँग बिहे भएकाे झण्डै १५ वर्षपछि काकीले अर्काे बिहे गरेकी हुन्। उनले अर्काे बिहे गर्नुकाे कारण लाेग्नेले दु:ख दिएर, कुटेर, जाँडरक्सी खाएर वा तथानम बाेलेर हाेइन। एकअर्काको मायामा सुखदुःख साट्ने भनेर बिहे गरेका श्रीमानले वेवास्ता गरेपछि उनले आफ्नो साथी रोजेकी हुन्।
काका-काकीको सम्बन्ध सुरूमा ठिकै थियो। बिहे गरेकाे तीन वर्षमा छाेरा जन्मियाे। छाेराे जन्मिनु र काका एसएलसी पास हुनु सँगसँगै भयाे। काका पढ्न भनेर सहर गए। सहर गएपछि काकीलाई सम्पर्क गर्न छाेडे। काकीले सम्पर्क गर्न खाेज्दा पनि कुरा गर्न चाहेनन्।
दसैंमा घर आउँदा उनले एक अर्कै महिलाका फाेटा लिएर आए। तिनलाई 'गर्लफ्रेण्ड' भन्दै आफ्नी भाउजूहरूलाई देखाए। नजिकका नातेदारलाई पनि देखाए। कुरा सबैतिर फैलियाे।
काकीले पनि अरूकै मुखबाट थाहा पाइन्। केही बाेलिनन्। उनले केही भनिन् वा भनिनन्, कसैले सुनेन। दबिएरै बसिन। पढे-लेखेकी थिइनन्। परिवारकाे सहमतिमा बिहे भएकाे थियो। बिहेमा दाइजो लिएर आएकी थिइन्।
काकाकाे प्लस टु सकियाे। घर आए। काकीलाई वास्तै गरेनन्। पछि काकी माइत गएर बस्न थालिन्। लगातार तीन-चार वर्ष माइत बस्दा पनि उनलाई लिन काेही गएन।
साह्रै भएपछि काकीले प्रहरी कार्यालयमा ठाडाे निवेदन दिइन्। ठाडाे निवेदनकाे कारवाही भनेकाे मिलापत्र गराउने हाे। दुवै पक्षका ठालु, भलाद्मीले प्रहरी कार्यालयमा गएर मिलाए। सँगै बस्नु भने। काकी घरै बस्न थालिन्। मिलापत्र गराएर के गर्नु, नियति उही थियो। जसको भरमा त्यो घर आएकी थिइन्, उसैले वास्ता नगरेपछि उनी फेरि माइतै गइन्। प्रहरी कार्यालयमा अर्काे पटक जान ठूलाे प्रक्रिया पूरा गर्नुपर्छ। जुन उनले आँटिनन्।
पछि काका विदेश गए। काकी एक्ली नै भइन्। अनि उनले अर्काे बिहे गरिन्। बिहे गरेकाे थाहा पाउनेवित्तिकै हिजाे आफ्ना भनेकाहरू सबै विराेधी भए। 'दुई पाेइल्या, जूठी' भन्दै हाेच्याए। सरदार भीम बहादुर पाँडेको 'त्यस बखतकाे नेपाल' मा लेखिएकै छ, 'पाेइल गएका महिलालाई दुई लिङ्गे भनिन्थ्याे।' काकीले पनि यस्तै शब्दको प्रहार भोगिन्।
काका विदेशबाट आए। गाउँका भलाद्मी लिएर जारी काट्न गए। अनि उनको हात पर्यो ५० हजार रूपैयाँ।
यी घटना प्रतिनिधि हुन्।
हाम्रो समाजमा पुरूषले धेरै 'जन्मसिद्ध छुट' पाउँछन्। तिनै छुट महिलालाई 'बन्देज' हुन्छन्।
बम्बइकाे चाैकीदार हुनु, पाकेकाे आम खानु।
ओल्लिका काेलिउनाे (काखामा) बस्नु, पल्लीलाई माम खानु।
माथिका हरफ देउडाका हुन्। देउडा पश्चिम नेपालकाे हिमाल र पहाडकाे गीत हाे। यी हरफ लयमा सुन्दा मिठा छन्। अर्थ केलाउँदा रुखा, झर्रा र उराठ लाग्दा छन्।
गीतको अर्थ छ- बम्बई गएर चौकीदारी हुनु। पाकेको आँप खानू।
(पश्चिम हिमाल-पहाडमा भारत गएर पाउने सबभन्दा गतिलो जागिर चौकीदारी हुन्थ्यो। अनि पहाड-हिमालका भएकाले आँप खान मनपराउने। तराईकालाई स्याउ-सुन्तला मनपरेझैं।)
अर्को लाइनले भन्छ- एउटीकाे काखमा बस्नू, अर्कीलाई चुम्बन गर्नू।
गीतका शब्दले भने झैं पुरुष खुला छ। उसले खुला रुपमा दुई महिलासँग आफ्नो चाहना पूरा गर्न पाउँछ। के एक महिलाले यो गीतले भनेजस्ताे सम्भव छ? गर्न पाउनू-नपाउनूको बहस अलग्गै होला, के यस्तै शब्द राखेर महिलाले गाउने गीत बन्न पनि छुट छ?
छैन।
अर्को देउडाको हरफः
ओरिउनाकाे कर्णाली, पाेरिउनाकाे भेरी।
ओल्ली हैन पल्ली हैन, माझाैनाकी मेरी।।
पहिलाे लाइनले पश्चिम पहाडका नदी बुझाएको छ।
दाेस्राेले पुरुषलाई महिला छनोटको अधिकार दिएको छ।
प्राणीशास्त्र अनुसार सबै प्राणीले प्राकृतिक समागम र वंश विकासका लागि आफ्नो जोडी छान्छन्। मान्छेबाहेक प्रायः सबै जनावरमा छनोट अधिकार स्त्रीमा हुन्छ। उदाहरण, पोथी मयूरले भाले मयूरको नाचका आधारमा छनोट गर्छ। मान्छेको समुदायमा महिला छान्ने अधिकार पुरुष केन्द्रित छ। यसमा पनि उसको दबदबा र शक्तिको प्रयोग धेरै हुन्छ।
हाम्रो समाजमा पुरूषले झैं कुनै महिला केटा हेर्न भन्दै गाउँगाउँ जाँदैनन्। जबकि, आफ्नो जोडी छान्ने अधिकार उनलाई पनि उत्तिकै हुन्छ, जति पुरूषलाई।
तर हामीकहाँ यहाँसम्म त के, महिलालाई अझै कैदमै राख्न चाहने समाज छ।
पद्मशम्शेरले पहिलाेपटक छाेरीहरू पढ्न स्कुल खाेलेका थिए। घरका झ्यालभित्र खुम्चिन बाध्य छोरीहरू किताब बोकेर पढ्न जाँदा 'बाँच्याे भने यस्ताे पनि देख्न पाइँदाेरहेछ' भन्ने समाज थियो।
सात दशक बित्यो, छाेरीप्रतिकाे दृष्टि कायमै छ। छाेरीहरूले अझै पनि समाजले चलाएको चलनभन्दा फरक केही गर्नेबित्तिकै औंलो ठड्याउने थुप्रै छन्।
घर होस् वा सरोकारवाला ठाउँ, महिलाले आफ्ना तर्क राखे 'महिला जान्ने पल्टिएको राम्राे हुन्न, पाेथी बासे अलच्छिन हुन्छ,' जस्ता भनाइ सुन्नुपर्छ। यतिमात्र हाेइन उनका श्रीमानलाई समेत 'स्वास्नी तह लगाउन नसक्ने, जाेइटिंग्रे' भनिन्छ। सँगसँगै ती महिला कसकी छाेरी हुन्? उनका आमाबाबुले कस्ताे संस्कार दिएकाे हाे? माइतीको पृष्ठभूमिसम्मै पुगिन्छ।
कुनै दुई पक्षबीच हुने भनाभनमा पनि त महिलाकै शरीर, याैन र चरित्रदेखि परिवारसम्म जोडिन्छ। कसैका गाईवस्तुले बाली खाए, वा छोराछोरीले गल्ती गरे, गालीकाे शिकार महिला नै हुन्छन्। समाजमा महिलाको बोली सुनिँदा मात्र पनि गर्जिने यस्ता वाक्य खासै हाम्रा चासो बन्दैनन्। तर महिलाको आत्मविश्वास गलाउने, झैझगडा निम्त्याउने, अर्कोपटक मुख खोल्नै डराउने बनाउने काफी हुन्छन्। पितृसत्तात्मक समाजको गहिरो राजनीतिक प्रभुत्वका अवशेष हुन् यी शब्द।
एउटा पुरुष कतिसम्म हुन्छ भने, चिया वा भट्टिमा बसेर आफ्नी प्रेमिका संख्या गन्छ। यति जनासँग याैन सम्बन्ध राखेँ भन्दै गर्वका साथ सुनाउँछ। यस्तो पुरूष समाजमा सधैं सुकिलो, मायाको विश्वासमा परेकी ती महिला भने 'जूठी' भन्ने हाम्रो समाज कहिले बदलिन्छ? यो समाजले पुरूषलाई जेमा छुट दिएको छ, त्यसमा महिलाको पनि सराबर हक हुन्छ भन्ने चेतना कहिले पलाउँछ?