‘जुम्लाको तापक्रम कति पुग्यो?’ ‘त्यस्तै माईनस चार पाँच डिग्री।’ म्यासेज भ्यू भएन। अर्को दिन फेरि प्रश्न आएको थियो ‘जमिएको त छैन नी माइनमा?’ ‘बाँचिएकै छ।’ ‘बाँच्नु ठूलो कुरो हो जीवनमा।’
ठट्यौलीमा यस्तै सवाल जवाफ भएको थियो एक तराईमा बस्ने आदरणिय मित्रसँग।
अर्का एक आत्मीय मित्रले काठमाडौंमा भेट हुँदा जुम्लाको तापक्रमबारे सोधेको याद छ। त्यतिबेला भनेको थिए ‘माईनस एघारसम्म।’ उनले आश्चर्याक्तिमा पुनर्प्रश्न गरे ‘साँच्चै माइनस एघारमा त हावा पनि जम्छ होला है?’ तर जति बढी जाडो छ उति बढी हावा चलेको हुन्छ। यहाँ जम्ने पानी हो। यदि हावामा पानी हुने भए जम्थ्यो कि। तर, यहाँको हावामा पानी नै हुन्न। अर्थात सुख्खा हावा चल्छ। हावा चलेका थाहा पाउन महशुस गर्नुपर्छ। कक्षा ६ को विज्ञान कितावमा यस्तै लेखेको छ।
यहाँको हावामा सापेक्षिक आद्रता कम छ। आद्रता कम हुने हुनाले हिउँदमास हामी जुम्लीहरूका हात, खुट्टा, ओठ फुट्छन्। अनुहारको छाला फाट्छ।
अचेल जाडो मौसमलाई लक्षित गरेर बजारमा बहुराष्ट्रिय कम्पनीहरुले विभिन्न उत्पादनहरुको पूर्ति बढाएका छन्। ओठ फुट्नबाट बच्न लिप गार्ड, छालालाई मुलायम बनाउन भ्यास्लिन, जाडोमा पनि गोरो र सुन्दर हुने क्रिमहरु प्रशस्त छन् र तीनको माग पनि बढेको छ। यस्ता वस्तुहरुको माग बढाउन थरिथरिका विज्ञापनहरुले संचार माध्यमहरुमा कब्जा जमाएका छन्।
विज्ञापनकै प्रभावले यतिबेला सबै उमेर समूहका मानिसहरु प्राय कस्मेटिक सामानहरु प्रयोग गरिरहेका छन्। तर पहिले पहिले भने यसको परम्परागत उपचार पद्धति थियो। सानोमा हामी आफैंले पनि प्रयोग गरेको याद छ। हाम्रो हात फुटे भने दुई चार दिन हातमा सल्लाको खोटो लगाउँथ्यौं। पछि तातोपानीले हात धोयो भने सफाचट। खुट्टामा पनि खोटो लागाएमा फाटेको ठिक हुने।
हामीले सल्लाको खोटो आज पनि नेपालबाट भारत निकासी भैरहेको देखेका छौं। त्यसबाट धेरै प्रकारका औषधि बन्ने गरेको पनि सुनेका छौं। एक पटक हामीलाई स्वास्थ्य पढाउने शिक्षकले सल्लाको खोटोबाट एक सय पाँच प्रकारका औषधि बन्ने र बाँकी भएको अलकत्रा बन्छ भनी पढाएको याद छ । सरले भनेकै जति प्रकारका औषधि बन्ला नबन्ला तर हामी आफैंले प्रयोग गर्दा भने गज्जबको औषधि हो रहेछ भन्ने बुझेका छौं।
नभए घरमा भएको तोरीको तेल लगाए पनि हुने। अनुहार, जीउ, हात, खुट्टामा तोरीको तेल लगायो भने त मान्छे आजको जस्तो गोरो र सुन्दर हुन लगाउनुपर्ने क्रिम फ्लप हुने।
त्यसका अलावा गाई, भैंसीको घ्यू वा खसिको बोसोले पनि हात खुट्टा कोमल हुने।
यसपालिको दशैंमा आमाले घरमा काटेको खसीको बोसो तताएर भाँडोमा राखेकी थिइन्। किन यसो गरेको भनी सोध्दा आमाले हिउँदमा खुट्टा फाटेपछि लगाउने हो भनिन्।
हिउँदमास जीउ सुरक्षाको लागि परम्परागत उपचार पद्धति छ। गाउँमा बुढापाकाहरुले आफूले सकेसम्म परम्परा थामेका छन्। सहरको पहुँचमा भएका सबै उमेरकाहरु भने बुहुराष्ट्रिय कम्पनीका मालसामान उपभोग गरिरहेका छन्।
बुढापाकाहरुको सीप र स्थानीय प्रविधिको प्रयोग गरेर जाडोको सुरक्षा गर्नेगरी अपनाउनुपर्ने उपचार पद्धतिलाई विकास गर्ने गर्ने र हाम्रो आयुर्वेद विज्ञानलाई आधुनिकिकरण गर्ने विषयमा सोच्न सकेको खण्डमा हामीले बहुराष्ट्रिय कम्पनीको भर पर्नु पर्ने थिएन।
अघिल्लो वर्ष पुसको पहिलो हप्ता जुम्ला बहुमुखी क्याम्पस परिसरमा रहेको धारोमा बिहान अनौठो दृश्य देखियो। धाराको पानी खस्नेतिर ढुंगा राखिएको थियो। त्यो ढुंगादेखि धारोसम्मको उचाइ एक मिटरसम्मको थियो। रातभरि धाराबाट खसेको पानीको थोपाथोपा जम्दै धारासम्म बरफको लठ्ठी जस्तो आकार लिएको थियो। पछि त्यसलाई धेरैले आफ्नो फेसबुकको वालमा राखेका थिए। यो वर्ष केही दिन अगाडि पंतिकार तातोपानी गाउँपालिकाको गिडिखोलामा जाँदा चौबिसै घण्टा पानी आइरहने धारोमा बरफ जमेर पानी भर्ने ठाउँसम्म नभएको देख्दा औधि आश्चर्य र औधि रमाइलो लागेको थियो।
साउनको महिना फेसबुकमा एउटी साथिले सोधिन् ‘जुम्लामा त हिउँ परेको होला है?’ त्यस्ता अरु साथीहरुपनि छन् जो जुम्लामा सँधै हिउँ परिरहन्छ सोचिरहेका हुन्छन् र त्यस्ता प्रश्न गरिरहन्छन्। पाँच हजार मिटरभन्दा माथि सँधै हिउँ जम्छ। त्यो भन्दा तल सँधै हिउँ पर्दैन। जुम्ला उपत्यका समुद्र सतहदेखि ११ सय मिटरको न्युनतम उचाइमा रहेको छ। त्यसैले यहाँ निकै जाडो मौसम मंसिर देखि फागुनसम्म अन्त पानी पर्यो भने यता हिउँ पर्छ।
तर कहिलेकाहीँ जाडो निकै बढ्यो भने कार्तिक र जेठको पहिलो हप्तासम्म पनि हिउँ देख्न पाइन्छ।
यो वर्ष मंसिर २८ गते निकै थोरै हिउँ पर्यो। हिउँले जमिन पनि भिजेन। तर पनि जुम्लामा परेको हिउँले फेसबुकको भित्ताहरु सेताम्य भए। यता नभएकाहरुले “वाओ” भन्दै कमेन्ट गरे। देशका मुख्य मिडियाहरुमा फोटो फिचरसहितका मुख्य समाचार बने।
मिडियादेखि सामाजिक मिडियासम्मले हिउँको सुन्दरतालाई प्रचार गरे। केही मिडियमले किसान खुसी भनि लेखे तर आजभोली किसान दुखी छन् लामो समयसम्म हिउँ नपरेकाले। त्यतिबेला परेको थोरै हिउँले पनि खास सकारात्मक असर गरेन। यति हुँदाहुँदै पनि हिउँमा रमाउनेको संख्या भने उल्लेख्य देखियो।
तर खास हिमालमा बस्नेहरुलाई हिउँ सँधै सुन्दर लाग्दैन रहेछ। हिमालमा बस्ने भोटे जातका मान्छेहरुले घरको छतमा, नजिकको गुम्बा र देवलहरुमा फरफ फरक रंगका पतकाहरु राख्नुको कारण पनि उही हो। तर आजाभोली भोटेहरुका लागि यो संस्कार भएको छ। तराईमा बस्ने भोटेले पनि घरको छतमा पतका राखेको हुन्छ। जे होस वातावरणलाई थप सुन्दर बनाउन मान्छेले गर्ने प्रयत्नको समाजशास्त्र पनि गज्जबको छ।
मुस्लिमहरु सबैले बुर्का लगाउँछन्। उनीहरुको सुरुको बासस्थान अरव हो। अरव मरुभूमि बढी भएको ठाउँमा हिड्दा आँखामा, मुखमा बालुवा पस्ने भएकाले त्यसबाट बच्न बुर्का लगाउन थालिएको बुझ्न सकिन्छ। तर पछि मुस्लिमहरु जहाँ–जहाँ पुगे त्यहाँ–त्यहाँ बुर्का पुग्यो। महिलाहरु बुर्का लगाउन थाले। पछि यसैलाई महिलाहरुले लगाउनुपर्ने धार्मिक मान्यता स्थापित भयो।
तापक्रम घट्दै माइसन पुगिसकेको छ। सानोभन्दा सानो पानीको मुहान भएको ठाउँमा पनि ठूलो भन्दा ठूलो बरफ जमेको छ।
नदिको पानी भने जम्न सकेको छैन। तर अत्यधिक जाडोले पानीको वेग निकै कम भएको छ। बिहान नदि किनारमा पुग्यो भने बरफका टुक्राहरु तैरिदै बगेको एक अद्भुत दृश्य फेला पार्न सकिन्छ। सल्लो, धुपी, झुलो, गोव्रे, खर्सु लगायत कोणधारी पतझर जंगलका रुखहरु बाहेक अरु सबै रुखका पातहरु झरेर रुख पुरै नांगिएका छन्।
पात झरेर नांगिएको रुखमा पनि एक सुन्दर दृश्य देख्न सकिने रहेछ। सुन्दरता सँधै वसन्त ऋतुमा मात्र हुँदैन रहेछ। सुन्दरता खोज्नको लागि वसन्त नै कुर्नुपर्छ भन्ने हुँदैन रहेछ।
पात झरेर नांगा भएका मेहेल, रुइस, चुम्लाया, झिल्लेटी, भत्कुँडो, अैरि, कुँइएसी चुम्लाया लगाएतका अनेकौं जंगली बोट विरुवाहरुका नांगै छन्। वरीपरिका सल्ला, झुलो लगायतका रुखहरुले तिनलाई गिज्याइरहेका छन्। त्यस्तै जुम्लीहरुलाई ठुलो लाभ दिने आरु, ओखर, स्याउ नास्पातीका रुखहरुका पात पनि झरेका छन्। तीनीहरुपनि नांगै बसेका छन्।
तीनलाई पनि तीनै हरिया रुखहरुले गिज्याइरहेका छन्। तर नांगौ भएका रुखहरुको मज्जाको जवाफ हुँदो रहेछ। उनीहरु मुस्कुराउँदै भन्दा रहेछन् ‘हेर हामी नयाँ कोपिलाको तयारी गरिरहेको छौं अब हामी सबैले देख्नेगरी झन ठूला हुन्छौं।’
हरिया सबैले नारायणगोपालको ‘झरेको पात झैं’ भन्ने गीत सम्झदै गिज्याउँदा रहेछन्। फागुनसम्म सहँदै बसेका बोट विरुवाहरु भने चैतमा जवाफ दिइहाल्दा रहेछन् ‘विचारा नारायणगोपालले गीतै गतल गाएछन्।’ त्यसपछि तीनै बोट विरुवाहरु फेरी भन्दा रहेछन् ‘हेर हामी के गरिरहेका थियौं।’ अब उनीहरु पनि नारायणगोपालकै गितबाटै जवाफ दिदा रहेछन् ‘म त लाली गुराँस भएछु, बनैभरि फूलीदिन्छु, मनैभरी फुलीदिन्छु।’ त्यसपछि तीनै विरुवाहरु सबैका प्यारा जसलाई हरियाले हेला गरेका थिए।
पात झरेका विरुवाहरुलाई बिछोडको विम्वको रुपमा प्रयोग गरिएको पाइन्छ। सम्बन्ध चुँडिएको मन जस्तो हुन्छ, त्यस्तै पात झरेको विरुवा सम्झने चलन छ। नारायणगोपालको गीत जस्तो। तर यीनै पतझर जंगलहरुको चक्रलाई नियालेर हेर्ने हो भने भन्न सकिन्छ नारायणगोतालको उक्त गीतको विम्व पनि गतल छ।
कुरुपताभित्र पनि सुन्दरता हुँदो रहेछ। विश्वसुन्दरी प्रतियोगिता जस्तो केवल छालाको रंगमात्र हेर्ने हो भने मात्र जाडो र त्यससँग जोडिएको वातावरण कुरुप लाग्ने हो। यदि गहिरिएर हेर्ने हो भने जाडो असाध्यै सुन्दर हुँदो रहेछ। जसरी हामी पारिजात, झमककुमारी घिमिरे, अरुणा रायलाई सुन्दर देख्छौं।
साहित्यकारहरु वसन्त ऋतलाई सुन्दर मान्दछन्। धेरैले वसन्त ऋतुलाई प्रेमसँग जोडेका छन् भने पात झर्ने जाडो समयलाई बिछोडको विम्व मानेका छन्। तर हामी जाडो हुने ठाउँका मान्छेहरुका लागि त प्रेमको मौसम भनेकै जाडो हो। अधिकांसले बिहे गर्ने समय पनि जाडो मौसम हुन्छ।
कार्तिक पुर्णिमाको उज्यालो, चिसो रातमा मन साँट्नेहरु मंसिरमा बिहे गर्छन्। यदि कसैको प्रेम सम्बन्ध बिग्रियो भने झरेको पात जस्तो उजाड मन भनेर बिरह गाउने चलन छैन। बरु बिरहको देउडा गीत भने फरक खालको गाइन्छ। देउडा यस्तो हुन्छः–
नक्कल पाड्न्या ऐना छियो, उई पुनि फुटिगो।
नआयै पुनीका(पूर्णिमा) रात, मायाजाल छुटीगो।।
पुसमा महिनामा प्रेम गर्नेहरु पुनः माघ, फागुनमा बिहे गर्दछन्। त्यसैले जाडोमा यता हरेकको मन प्रेमिल हुन्छ। त्यसैले त जाडोमा यस्तो देउडा गाइन्छः–
झमक्क तरकारी होइजा, चम्डेइलो भात होइजा।
तिम्रो मेरो भेट होइजा, पुसको रात होइजा।।
जमेको बरफ, परेको हिउँ, बिहान मोति झैं टल्कने तुसारो, सुख्खा हावा, शरिर चिस्याउने तापक्रम, पात झरेका विरुवा सबै–सबै सुन्दर छन्। यी दृश्यहरु अद्भुत छन्, मनमोहक छन्। त्यसैले त आश्चर्य मान्दै प्रिय मित्रहरु जुम्लाको जाडोबारे प्रश्न गरिरहन्छन्।