गत मङ्सिरको चुनावले पुराना शक्ति तथा नयाँ शक्तिहरूबीचको बहस र आयामलाई स्पष्ट पारिदिएको छ। कुनै पनि व्यक्ति वा समूह मिल्न सक्ने या नसक्ने उनीहरूले बोकेका वैयक्तिक तथा राजनीतिक आचरण एवै मान्यताले निर्देशन गर्ने हुन्।
केहि हठ त्याग्दा देश र जनताले चाँडै ठूलो आर्थिक फड्को प्राप्त गर्ने सामथ्र्य भेट्ने थिए वा भेटछन् भने सम्झौता नै सहि। उनीहरूले त्यो साहस राख्दा कसैको अलग–अलग व्यक्तिगत, राजनीतिक वा पेशागत पृष्ठभूमिको मिलनले सुरु–सुरुमा केहि आलोचना निम्त्याए पनि जनताले व्यक्तिको वा पार्टीको पृष्ठभूमि भन्दा पनि परिणाममुखी परिवर्तनलाई र उसको सामथ्र्यतालाई चाँडै स्वीकार गर्दछन। आवश्यक्ता के हो र उसको परिपूर्ति कहाँबाट हुन्छ भन्ने सर्वसाधारणमा स्पष्ट चेत छ, राजनीति र प्रशासनमा स्थायीत्व हुनु नै दिगो विकास र शान्ति हो भन्ने बुझेका छन्।
कोही मिल्न सक्नु र नसक्नुमा हामी भित्र चेतन र अवचेतन मनोविज्ञान, हाम्रो जीवनशैली र अपनाउन सकिने अधिकतम गतिशिलता वा सकारात्मक लचकताले बाटो खोल्दछ। यती हुँदाहुदै पनि पिछडिएको र कम चुनावी–चेतनाले भरिएको समाजमा पछौटेपनलाई उखेल्न खोज्दा कसरी झन् बढी टुसा पलाउने गर्दछ भन्ने पनि उत्तिकै गहन हुन्छ। सम्पन्न आमचुनावले पनि समस्या समाधान गर्न सहि पहिचान गर्नुपर्छ भन्ने पाठ लिन सक्नेहरुको लागि प्रशस्तै दिएको छ।
किन, कसरी लिने र नलिने व्यक्ति वा दलका निजि, आन्तरिक मामिला होलान्। नयाँ दलको या विविध गठबन्धनको आवश्यकता थियो या थिएन भन्ने यस लेखको आशय होइन। शक्तिको निर्माण र विनिर्माणमा खास–खास समय र उसद्वारा सृजित परिस्थितिले कसरी उल्लटपुलट पार्दै हलचल ल्याउँछ भन्ने मात्र यहाँ चर्चा गर्न खोजिएको छ।
तत्कालीन नयाँ दलका बहसको बारेमाबाबुराम भट्टराईलाई बाम गठबन्धनमा सामेल हुनुपूर्वको राजनैतिक फाइदा उपेन्द्र यादव भन्दा रविन्द्र मिश्रसंग एकता गरेको भए बढी नै हुने थियो। यी तर्कहरु सत्य नजिक जस्तो लाग्दथे अहिले आएर प्रमाणित भयो। फगत त्यो हल्लामा मात्रै सिमित रह्यो र गठबन्धनमा पनि रहन सकेनन्। भट्टराई र मिश्र मिलेका थिए भने कम्तिमा उनीहरु एउटा नयाँ दलको हैसियतले सदनमा प्रतिनिधित्व गर्ने नै थिए र कम्तिमा दुवैजना आउने थिए।
यादवले जित्ने सम्भावना त थियो नै किनकि उनको मधेश केन्द्रित राजनीति र मधेश जनलहर। उनको उपस्थिति चुनावद्वारा २ नम्बरमै सिमित सहि तर अंकगणितिय सरकार निर्माण जोड र घटाउमा प्रबल शक्ति बन्ने नै। विवेकशील र साझा पार्टीको मिलनमा देखिएको तराजुका पल्लामा मिश्र र उज्वल थापाका फेस भ्यालु भन्दा पहिले भट्टराई र मिश्रको फेस भ्यालु तराजुको पल्लामा पक्का नि ‘हेभि–वेट’ भ्यालु निर्माण हुने थियो। किनकि विवेकशीलका सोसल मिडियामा या त विदेशमा या त उमेर नपुगेकाहरूको समूह बढी थिए।
परिणाममा भट्टराईको राजनैतिक खेल र उनको व्यक्तित्वले राष्ट्रिय दलको मान्यता बिना नै प्रवेश पाए। मिश्रले अधिकतम प्रयास गरे, बिना अनुभव खेल खेल्न सकेनन। निरपक्ष पत्रकारको ब्रान्ड नामलाई राजनीतिक ब्रान्डसम्म भने मज्जाले बनाए। भट्टराईभित्र राजनैतिक हठताको प्रयोगको सट्टामा गतिशीलताको प्रयोग बाम गठबन्धन्मा गरेका भए उनको स्थान फरक हुन्थ्यो होला। या उपेन्द्र यादवसंग तालमेल या एकता गरेका थिए भने अहिलेका सरकारको खेलमा निर्णायक हुन सक्थे, नजानेर उनले चुनावअघिको खेल खेलेका थिएनन्। उतिबेलाको उनको अन्तिम खेल रणनीति तात्कालिक परिस्थितिद्वारा उनको स्वभाव बमोजिम निर्मित थियो।
खेल भित्रको दाउपेच र त्यसभित्र पनि प्रचण्ड र केहि अन्य उच्च राजनीतिक व्यक्तित्वहरू बीचको आपसी टकरावले बाम गठबन्धनबाट नेपाली कांग्रेसकाबीच तालमेल मार्फत् आफूलाई विजय गराए, किनकि त्यस खास समयमा उनीसँग दुईवटा मात्र विकल्प थिए– एक जित्नु र अर्को जसरी नि जित्नु।
सरकारबाट प्रतिपक्ष भूमिकाअब यसैमा निर्बाचन पश्चातको दृश्य हेरौँ। कुनै एक नयाँ पद्दतिको सिर्जना र विकासको लागि कुनै एक पुरानो अस्तित्वको अन्त्य बिना नयाँ निर्माण हुन्न भन्ने नेताहरुलाई ज्ञान थियो। तर पनि मानवीय गुण भनेको एकछिनमा छाँडू भन्दा छाडिन्न, न त नयाँ त्यतिकै बन्न सक्छ। सुन्दरताको निर्माण एक नवीन सुरुवात भित्रको अर्को सुरुवात हो। जहाँ पुरानोको विनिर्माण पहिलो आधारभूत कार्य हो भने प्राप्त परिणाम स्वीकार गर्नु नयाँपनको थालनी हो।
नेपाली कांग्रेस सरकारमा रहेर उसमाथि थोपरिएका अनेक आरोप र आशंकाका बाबजुद निष्पक्ष्य चुनाव गरायो जुनकुराले नयाँ संविधान सर्वमान्य भइसकेको भन्ने असल सन्देशको बाहक बन्यो। तरैपनि खास समयमा एक नम्बरको पार्टीको नाताले जुन दूरगामी विकासको नारा बेच्न सकेन। कारण ऊभित्र एउटा उज्यालोको खाँचो थियो जुन मतदाताको घर घरमा पुगेर केही आशाको दियो बलिदेको होस्, त्यो नितान्त भएन। जनतासम्म लैजान देउवामा त्यो चमत्कारिक एवम् उर्जाशील भिजन थिएन, उनले गरेका निर्वाचन पूर्वका केहि स्वार्थपूर्ण गलत अभ्यासले मतदातालाई आत्मविश्वास जगाउन सकेन।
केहि आलोचकका आधारलाई हेर्ने हो भने निर्वाचन पूर्वको पार्टीगत सिद्धान्त विपरित माओवादी तालमेल राजनैतिक सिद्धान्तले नभई क्षणिक राजनीतिको निर्माणक्रममा बन्नपुगेको स्थिति नै अफापसिद्ध हुनु उनीहरुकै बहसको विषय होला तर भावी आर्थिक योजना र विकासको खाका प्रस्तुत गर्न नसक्नु गौर्ण कदापी होइनन्, भारतले नाकाबन्दी लगाउँदा भारत रिसाउँछ भनेर नाकाबन्दीलाई शब्दमा नाकाबन्दी भन्न नसक्नु नै अन्तत्वोगत्व प्रत्याक्षमा ठुलो मूल्य चुकाउनु पर्यो। किनभने संसारका कुनै पनि मानिस आफ्नो देश र सार्वभौमिकताक बारेमा संवेदनशील हुन्छन् र सहँदैनन् भन्ने कुरा कुनैपनि राजनेता मै हँु भन्नेले पहिले बुझ्नु र बोल्नु जरुरी थियो, तर त्यो ठानेन।
नेपाली कांग्रेस केन्द्रिय संसद निर्माणको लागि समानुपातिकमा एमाले संगै ३१,७३,४९४ को तुलनामा ३१,२८,३८९ ल्याई बराबरी हुनु अनि प्रतक्षयमा चाहिँ एमालेको ८० सिट हुँदा उसको २३ सिट मात्र हुनु माथिकै कारणले ठुलो भूमिका खेलका छन्। यद्यपि पपुलर भोटलाई आधार मान्ने हो भने कांग्रेसले नयाँ नेतृत्व खोजेको मात्र हो, यो हार एक अत्यन्त जरुरी सूचनाका रुपमा जनताले उसको नेतृत्वलाई मन लागे जे पनि गर्न पाइन्छ र? पाइन्नी नि भन्नेकुरा मूल्य सहित सम्झाएका हुन्। पुरै हराएका होइनन्।
परिणाममा जंगलको सिंहासनमा बसेको सिंह सर्कसमा देखिएझैं उसलाई शक्तिहीन भएर प्रतिपक्षमा बस्नु पर्दा पक्कै पनि अनौठो पीडा त हुन्छ नै, तर त्यो पहिले सोच्दै, जनताको मन जित्ने र जोखिम हटाउन लाखौँ अवसर थिए, उपयोग गरेनन्, नियति त सबैले भोग्नु नै पर्छ। त्यसै गरेर ५ वर्ष कांग्रेसले निभाउने दयित्व देखियो। किनकि यो अवस्थामा फेरी पनि सत्ता उसकै हातमा आउन ठूलै हलचल आउनु पर्छ, बाहिरी शक्ति लागेर माओवादी, फोरम र राजपाहरुलाई एकठाउँ ल्याई सरकार बनाउन सम्भव त छ तर भुँइचालो नै आउनु पर्छ। देशको दिर्घकालिन विकसका लागि राम्रा व्यक्तिहरू आफँै भिजन सहित आउन सक्छन् र त्यो नेपाली कांग्रेसले लिएर आउन सक्नुपर्छ।
माओवादी महत्त्वपूर्ण खेलाडीयुद्धबाट मूल राजनीतिक प्रवाहमा अवतरण हुदैँ गर्दा अनयाशै निर्वाचन मार्फत् २०६४ मा पहिलो पार्टी भएर खुला राजनीतिमा प्रतिनिधित्व गर्न आफ्नो ब्यवस्थापन गर्न नसक्दा २०७० मा तेस्रो स्थानमा खुम्चिनु पर्यो। २०६४ को चुनावमा तेस्रो एमाले २०७०को चुनावमा पहिलो पार्टी कांग्रेसको निकटतम हुदैँ दोस्रो भएको (एमाले) २०७४ मा शक्तिशाली रुपमै प्रथम भाको छ।
तर पहिलोबाट तेस्रो हँुदाको पीडालाई साहसमा बदल्न जस्तोसुकै कदम चालेर भएपनि आफू र आफ्नो पार्टीलाई समयानुकूल पार्न दाहाल जति चतुर र गतिशील छन् त्यति कुनै अर्को नेपाली राजनीतिज्ञ छैनन्। दम्भको पीडा कस्तो हुन्छ, उनी राम्ररी पाठ पढाउन सक्छन् र गतिशिलताद्वारा आफू वरिपरी राजनीति घुमाइरहन सक्ने कुटील व्यक्ति हुन्।
आलोचकहरू उनको यो प्रवृित्तलाई ढुलमुले भनी व्याख्या गर्छन्। जब अर्को छल या चाल चाल्छन, फेरी तिनै उनलाई गतिशील ठान्छन्। त्यसको मतलब हो उनी सधै कुटिल भएर पुरानो युद्धको रणनीति निर्माण राजनीतिको अर्को रुपमा प्रयोग गर्छन्। गत असोजमा पनि उही युद्धको नीति ‘ढाडमा टेकी देउवाको टाउकोमा हानेर उनको शक्ति लगभग पुरै भुत्ते बनाइदिनु’ भनेझैँ अति नै आश्चर्यजनक ढंगले एमालेसंग पार्टी एकताका नाममा जसरी पार्टीको साख मात्र जोगाएनन्, एमालेको बीच तालमेलमा सोचेभन्दा राम्रो प्रतक्षयमा ३६ सिट र समानुपातिकमा जम्मा १३,०३,७२१ ल्याई अघिल्लो निर्वाचनमा भन्दा ठूलै शक्ति प्राप्त गरे। बितेका १० वर्ष उनकै वरिपरी रह्यो नेपालको सत्ता र राजनीति, जहिले देखि उनी खुला राजनीतिमा प्रवेश गरेका थिए। भलै एमालेले पनि माओवादीको सहयोगमा ८० सिट ल्याई ठूलो शक्ति आर्जन गरेर बहुमतको अत्यन्तै नजिकै पुगेको छ।
परिणाममा अब भने यी दुई पार्टी एमाले र माओवादी केन्द्रबीचको सम्बन्धले अर्को ५ वर्षका लागि सरकार मात्र होइन, आगामी नेपालको निकट भविष्यमा हुनुपर्ने विकास र समृद्धिको असल या खराब चित्र कोरिने छ। यो लेख लेख्दासम्म दुई पार्टीहरुबीच एकता हुन भन्दा दरार बढी देखिएको छ, जुन कुराका बाँकि दृश्य हेर्न अझै केहि हप्ता पर्खनु पर्नेछ।