वृद्धावस्थामा एक्लोपन मानसिक स्वास्थ्यका लागि निकै हानिकारक सिद्ध भएको छ। अहिलेको अवस्थालाई हेर्ने हो भने नेपालमा हरेक मानिसले वृद्धावस्थामा एक्लै बस्नुपर्ने बाध्यात्मक परिस्थितिको सृजना हुँदै गएको छ।
मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य अनि स्मरण शक्ति सबै कमजोर हुँदै जाने अवस्थालाई नै वृद्धावस्था भनिन्छ। अर्थात् नेपालको परिप्रेक्ष्यमा ६० वर्षभन्दा माथिको उमेर समूहका मानिसलाई वृद्धावस्थाको रूपमा हेरिने गरिएको छ।
नेपालमा हाल करिब २९ लाख मानिस ६० वर्षभन्दा माथिका रहेको पछिल्लो तथ्यांकले देखाएको छ। ६० वर्षपछि मानिस बिस्तारै शारीरिक र मानसिक दुवै अवस्थामा कमजोर हुँदै जान्छ। त्यसमाथि पनि यो अवस्थामा एक्लै हुनु भनेको मानसिक रोगलाई निम्ता दिनु जत्तिकै हुन जान्छ।
अहिलेको सन्दर्भमा नेपालमा वृद्धावस्थामा मानिसहरू एक्लोपनको सिकार हुन थालेका छन्।
के हो त एक्लोपन?
कसरी भइन्छ यसको सिकार?
अर्थात् एक्लोपनबाट गुज्रन कतिको कठिन हुन्छ?
एक्लोपनलाई कसरी सदुपयोग गर्न सकिन्छ?
यो विषय निकै चुनौतीको विषय बन्दै गएको छ।
कतिपय विज्ञहरूले एक्लोपनलाई सकारात्मक रूपमा पनि लिएका छन्। एक्लै बस्दा व्यक्तिभित्र भएको रचनात्मक क्षमताको वृद्धि हुने भन्दै कतिपय विज्ञहरूले एक्लिनुलाई सकारात्मक रूपमा लिएका छन् भने कतिले यसैलाई जटिलताको रूपमा लिएको देखिन्छ।
यस्तै, अमेरिकी लेखिका एनेली रुफसले ‘पार्टी अफ वन: द लोनर्स मेनिफेस्टो’ नामक किताबमा एक्लो बस्नुका फाइदाबारे वर्णन गरेकी छिन्। उनी भन्छिन्, ‘एक्लो बस्नुका निकै फाइदा छन्। तपाईं आफूमाथि केन्द्रित हुन पाउनुहुन्छ। आफ्नो रचनात्मक क्षमतालाई वृद्धि गर्न पाउनुहुन्छ। मानिसहरूलाई भेटेर बेकारका कुरा गर्नु वा झुटा ठट्यौली र हाँसोमा आफ्नो समय बरबाद गर्नुको साटो एक्लो समय बिताउनुहोस्।’
यसै गरी, ब्रिटिस रोयल कलेज अफ जनरल प्राक्टिसनर्सका अनुसार एक्लोपन मधुमेहजस्तो भयानक रोग हो। यसले पनि त्यति नै व्यक्तिको ज्यान लिन्छ जति मधुमेहले। एक्लोपनले हाम्रो सोच बिचार गर्ने शक्तिलाई कमजोर बनाउँछ। एक्लो बस्दा हाम्रो चालचलनमा प्रतिकुल असर पर्छ। रोगसँग लड्ने हाम्रो क्षमता क्षीण हुँदै जान्छ।
नेपाल जस्ता पिछडिएका कतिपय देशमा उचित रोजगारीको वातावरण सृजना हुन नसक्दा युवा पुस्ता बिदेसिनुको विकल्प छैन। व्यक्तिको आय आर्जन र जीविकोपार्जनको मुख्य स्रोत नै रोजगारी हो। पछिल्लो समय नेपालमा रोजगारीको अवसरहरू प्रशस्त मात्रामा उपलब्ध नहुनु, महँगी अधिक बढ्नु स्वास्थ्य र शिक्षामा व्यक्तिले बढी खर्चिनु पर्ने बाध्यात्मक परिस्थिति सृजना हुनु, व्यक्ति अति व्यस्त रहनुले पनि मानसिक स्वास्थ्यमा असर पारेको देखिन्छ। स्वदेशमा रोजगारीको समस्या, आर्थिक समस्या, शैक्षिक क्षेत्रको अस्तव्यस्त, नीतिका कारण युवा वर्ग अध्ययन र रोजगारीका लागि बिदेसिने क्रम दिन प्रतिदिन बढ्दै गएको छ।
पछिल्ला दुई दशकदेखि नेपालबाट रोजगारीका लागि बिदेसिने युवा पुस्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो अध्ययनले अध्ययन र रोजगारीका लागि नेपालबाट दैनिक तीन हजारको संख्यामा युवापुस्ता अन्य मुलुक गइरहेको देखाएको छ। जसको प्रत्यक्ष प्रमाण अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने प्रत्येक दिनको दृश्यले छर्लङ्ग हुन्छ।
योसँगै वैदेशिक रोजगारीबाट प्राप्त भएको विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै आएको छ। जसले देशको अर्थतन्त्रलाई क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका खेलेको त छ। तर यही कारणबाट पनि हाम्रा गाउँघरमा प्रत्येक घरका बाआमाहरू जीवनको उत्तरावस्थामा एक्लिन बाध्य भएका छन्। जसरी नेपालमा युवापुस्ता रोजगारीका लागि बिदेसिनुको विकल्प छैन, त्यसै गरी प्रत्येक घरमा वृद्धवृद्धा मात्र बस्नुको पनि विकल्प देखिएको छैन।
केही समय अगाडिसम्म नेपालमा संयुक्त परिवार प्रणाली थियो। यसलाई प्रभावकारी पनि मानिन्थ्यो। संयुक्त परिवारमा कम्तीमा पनि तीन पुस्ताका परिवार एउटै छानामुनि बस्ने गर्थे। यस किसिमको प्रणालीमा विशेष गरेर महिलाहरूको भूमिका केटाकेटी र वृद्धवृद्धाको हेरचाह गर्नु र पारिवारिक एकता कायम गर्न महत्त्वपूर्ण रहन्थ्यो। यसले बालबालिकालाई अघिल्लो पुस्ताबाट ज्ञान, अनुशासन र अनुभव सिक्न समेत मद्दत गर्दथ्यो।
तर पछिल्लो समय संयुक्त परिवार प्रणाली हराउँदै गयो अनि परिवारको अर्थ साँघुरिँदै गयो जसले गर्दा परिवार भनेको संख्यामा परिणत हुन पुग्यो। संयुक्त परिवारबाट एकल परिवारमा विभाजन हुँदै जान थाल्यो। त्यसमा पनि रोजगारी, शिक्षा र जीविकोपार्जनका लागि युवापुस्ता सहर पस्नु या बिदेसिनु पर्ने बाध्यताले आजभोलि परिवार भनेको एक वा दुई जनामा मात्र सीमित हुन थालेको छ।
अर्को तर्फ, परिवारमा महिलाको भूमिकामा समेत परिवर्तन आउँदै जान थाल्यो। महिलाहरू घरेलु कामकाजबाट बाहिर निस्केर आयआर्जनका काममा लाग्न थालेका छन्। श्रीमानले समेत श्रीमतीलाई पारिवारिक सपोर्टका लागि भन्दा पनि आर्थिक सपोर्टरका रूपमा हेर्न थाले। फलस्वरूप घरभित्रका युवापुस्ता रोजगारीका लागि अन्यत्र जानुपर्ने कारणले गर्दा प्रत्येक घरमा वृद्धवृद्धाहरू एक्लै बस्न बाध्य भएका छन् र एक्लोपनको सिकार भइरहेका छन् जसले मानसिक रोग समेत निम्तिएको देखिन्छ।
यस्तै, सँगै भएको छोराले जब विवाह गरेर बुहारी ल्याउँछन्, बिस्तारै बालबच्चा हुन्छन् अनि उसलाई आर्थिक भारले झनै थिच्न थाल्छ। त्यसपछि कि त दुवै जना नभए पनि श्रीमान् परदेशतिर लाग्छन्। रोजगारीका लागि जब श्रीमान् परदेशिन्छन् अनि श्रीमती आफ्ना बालबच्चा पढाउन सहर लाग्छिन्। त्यसपछि युवा विहीन गाउँघर सुनसान बन्छ। त्यही शून्यताभित्र एक्लोपनको सिकार भइरहेका छन् वृद्धवृद्धाहरू।
यसले आफ्नै परिवारका सदस्यसँग समेत भौतिक सामीप्यता हुन छाड्यो। शारीरिक अवस्थाले पनि मनलाई साथ नदिँदा आफैँबाट समेत बिरक्तिएका उनीहरू सामाजिक रूपमा पनि अलग्गिन थाले। जसका कारण उनीहरूमा मानसिक रूपमा विचलन आउन थाल्यो।
शारीरिक रूपमा कमजोर हुनु, परिवारसँग भौतिक दूरी बढ्नु, छोराछोरीले देश छोड्नु, पति/पत्नी या सहपाठी साथीसङ्गीको मृत्यु हुनु वा बिरामी पर्नु जेसुकै भए पनि एक्लोपन र कमजोर महसुस हुनु हो। यसले वृद्धावस्थामा शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा असर पार्नु हो। जब एक्लोपनमा नकारात्मकताले प्रशय पाउँदै जान्छ त्यसपछि वृद्धवृद्धाको मानसिक स्वास्थ्यमा विचलन ल्याउँछ। त्यसले गर्दा वृद्धावस्था हुने एक्लोपनको समस्या झन्-झन् जटिल बन्दै गएको छ।
कतिपय अवस्थामा आफ्ना छोराछोरीले बाबु-आमाप्रतिको कर्तव्य बिर्सिँदा पनि वृद्धवृद्धाहरू एक्लिएका र मानसिक रूपमा विचलन आएको उदाहरणहरू हाम्रा वरिपरि प्रशस्त भेटिन्छन्। एक्लै हिँड्नु र एक्लोपन महसुस गरेर हिँड्नु यी दुई अलग कुरा हुन्। विवाहपश्चात् छोराछोरी जन्माउने, जीवनभर आफूले गरेका हरेक संघर्ष र परिश्रमको पसिनाको तिनै छोराछोरीमा खन्याउने अनि तिनैको भविष्यका लागि भन्दै धेरथोर सञ्चिति गरेर राख्ने तर त्यही छोराछोरीले बुढेसकालमा एक्लाउने प्रवृत्तिले गर्दा वृद्धवृद्धा मानसिक रोगबाट ग्रसित हुन पुगेका छन्।
बुढेसकालमा मानिसलाई चाहिने भनेको आफन्तभन्दा पनि आफ्नोपन अनि सहारा हो। त्यसैले सम्भव भएसम्म पारिवारिक मेलमिलाप कायम गर्दै संयुक्त परिवारमा रहनु यसको सबैभन्दा ठुलो औषधी हो।
तसर्थ, कम्तीमा पनि बिहान-बेलुकाको खाना परिवारसँगै बसेर खाने गर्नु, आफ्ना नातिनातिनाहरूसँग प्रशस्त समय बिताउन पाउनु, मनका कुरा धैर्यताका साथ सुनिदिने कोही व्यक्ति हुनु, पारिवारिक निर्णयमा सहभागिता जनाउन पाउनु, नियमित सामाजिक क्रियाकलापमा संलग्न हुनु शारीरिक र मानसिक स्वास्थ्य सुरक्षाका लागि योग तथा आध्यात्मिक साधनाको वातावरण बनाउनु नै वृद्धावस्थामा हुने एक्लोपन र मानसिक स्वास्थ्यको प्रमुख उपचार हो।