मानव सृष्टि उषाकालिन अवस्थादेखि नै मानव जातीले आफ्नो अस्तित्व रक्षाको निम्ति अनेकौं चुनौती र संघर्षको सामना गर्दै आईरहेको इतिहासमा सर्वविधितै छ। ग्रीस राज्यले मानिसको नैसिर्गिक अधिकारको वकालत गर्दै सर्वसाधरणको निमित्त हक, अधिकार र न्यायको द्वार खोलिदिए पश्चात मानव सभ्यताको प्रारभ्म भयो। त्यस पश्चात पनि अधिकार प्राप्तिको निम्ति संसारका विभिन्न राष्ट्रहरुमा अनेकौं क्रान्ति भए, कति क्रान्ति हुदैछन् र भावी दिनहरुमा कैयौं हुन्छन् पनि। नेपालको १० वर्षे जनयुद्व पनि त्यसको एक उदाहरण हो। खैर यसको फलस्वरुप हामीले के प्राप्त गर्यौं त्यसको भिन्नै पाटो छ।
विकसित मुलुकमा मानव अधिकारको विषयलाई निकै संवेदनाशिल ढंगले लिईन्छ। विकासोन्मुख र अविकशित मुलुकमा अधिकार प्रायः दबाईन्छ। फलस्वरुप जनक्रान्ति पटक–पटक दोहोरिरहन्छन् भलै देशले निकास नपाओस्। अधिकार प्राप्तिको निम्ति आफ्नो प्राण आहुती दिनेहरु हराएको सूचीमा पर्छन् र जीवनभर पलाएन भैरहन्छ्।
जब जब समाजमा उत्पीडनले अग्रगामी रुप लिन्छ तब–तब जनचेतनाको लहर उर्लिन्छ। कुनै पनि राष्ट्रको संचार माध्यमले त्यस देशको जनताको प्रतिविम्ब गरेका हुन्छ। हाम्रो मुलुकमा पनि पटक–पटक संचार माध्यमद्वारा अधिकारका मुद्दाहरु उठाइरहन्छन् तर पछिल्लो पटक मिडियामा प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा कुरा जनतासंग’ निकै प्रभावकारी सावित भएको छ। कार्यक्रम संचालनमा आएको पहिलो दिनदेखि नै अन्यायमा परेकाहरुलाई न्याय दिलाउँदै आइरहेको कार्यक्रम अहिले लोकप्रियताको शिखरमा छ।
नेपालीहरु स्वभावैले सिधा सादा हुन्छन् तर यहि समाजमा ठगेर खानेहरुको समूह पनि बाक्लै छ। हुने खाने र पहूँचवालाहरुको मनोमानी चल्छ। देशमा प्रशासन र न्यायपालिका त छ तर फोहोरी राजनैतिक हस्तक्षेपले ग्रस्त छ। अन्यायमा परेका र ठगिएका सर्वसाधारणको पहूँच राज्यसम्म कमै छ। यस्ता आवाज विहीन जनताहरुको निम्ति कार्यक्रम ‘सिधा कुरा जनतासंग’ एउटा नविन आश बनेर उदाएको छ।
आर्थिक प्राप्तिको निम्ति रोजगारीको सिलसिलामा लाखौं यूवा युवतीहरु विदेशीन बाध्य छन्। खाडी मुलुकको तातो मरुभूमिमा पसिना बगाएर श्रम बेच्ने नेपालीहरुले बिदेशी भूमिमा धेरै कठिनाईको सामना गर्नुपर्छ। त्यहाँ नेपाली दुतावास त छ, तर दुतावाससंग नेपालीहरुको समस्याको समाधान छैन। बिदेशमा धेरै नेपाली चेलीहरु घरेलु हिंसाको शिकार भएका छन्। पहिले पिडितहरुको आवाज सुनिदिने कोही थिएन् तर अहिले ‘सिधा कुरा जनतासंग’ द्वारा बिदेशबाट यस्ता पिडित युवा युवतिहरुको उद्धार गरेर आफू जनताको आवज भएको पुष्टि गरेको छ।
हाम्रो समाजमा राम्रो काम गर्नेहरुको खुट्टा तान्नेहरुको लर्को लामै लाग्छ। सोझा साझा जनतालाई ठगी खान पल्लेकाहरु र अन्याय अत्याचारका ठेकेदारहरुलाई ‘सिधा कुरा जनतासंग’ मा नङ्ग्याउन थालेपछि समाजका खलनायकहरु हतोत्साही भएर संचालक रवि लामिछानेको विरोधमा उत्रनु स्वभाविक हो। विदेशी अनुदानको आश गरेर बस्नेहरु रविको विदेशी नागरिकता भएकोमा आपत्ति जनाउँछन्। रवि नेपालको छोरो हो उ नेपाली धर्तीमै जन्मेर यहिको मूलको पानी पिएर हुर्केको एक कर्तव्यनिष्ठ व्यक्ति हो। अमेरिकाको विलासी जीवन परित्याग गरी स्वदेश फर्केर राष्ट्र सेवामा होमिएका रवि नेपालको ईमान्दार छोरो हो। व्यक्तिगत सुरक्षाको पर्वाह नगरी जनताको हक र अधिकारुको वकालत गर्ने रवि नेपाली जनताको सहासी छोरो हो।
दत्तचित्त भएर समाजप्रति आफ्नो दायित्व निर्वाह गरिरहेका रविबाट हामीले सिक्नु पर्ने धेरै छ। विकृती र विसंगतीहरुलाई जरैदेखि निर्मूल पार्न तल्लीन रविको योगदान प्रशंसनीय छ। हाम्रो युगको उदाहरण हो रबि। रबि नेपालको राष्ट्रिय छोरा हो !
जुन देशका जनता शक्तिशाली हुन्छ्न् त्यो देश पनि शक्तिशाली हुन्छ। जनताकै समर्थनमा अथाह शक्ति हुन्छ। रबिको कार्यक्रमलाई जनताको पूर्ण समर्थन छ। सत्यको विजय र समाज परिवर्तनको निम्ति पनि ‘सिधा कुरा जनतासंग’ ले निरन्तरता पाउनु पर्छ। कार्यक्रम शुरु भएदेखि धेरैले न्याय पाएका छन्। अन्यायमा परेकाहरुमा आउँदाको गुनासो र न्याय प्राप्ति पछि उनीहरुको चम्किलो अनुहारले मनलाई शितलता प्रदान गर्छ। रबि प्रति गौरवान्वित हुँदै भन्न मन लाग्छ “स्याबास् रबि सलाम छ” तिमीलाई।
‘ सिधा कुरा जनतासंग’ ले कानूनलाई आफ्नो हातमा कदापि लिएको छैन बरु यसले कानून, प्रहरी र राज्यलाई सघाईरहेको छ। जनताको भरोसा जितेर ‘सिधा कुरा जनतासंग’ सर्बसाधारणको निम्ति भरपर्दो न्यायपालिका भएको छ। जनताको आवाज भएको छ।
के समाजको विकृती र विसंगतिलाई उजागर गर्नु, ठगहरुको पर्दाफास गर्नु, अन्यायमा परेकालाई न्याय दिलाउनु र सर्वसाधरणको हक र हितको वकालत गर्नु रबिको अपराध हो भने सरकार रविलाई गैर नागरिक घोषित गरेर देश निकाला गरिदिए हुन्छ !