साँझमा दियो बलेपछि घरको सरस्वती मन्दिरमा भजन सुरू हुन्थ्यो।
एउटी सानी बालिका, जसको गलाबाट निस्केको सुमधुर स्वरले वातावरणलाई भक्तिमय बनाउँथ्यो। उनका लागि त्यो भजन केवल आस्था थिएन, त्यो उनको बेलुकाको भोजनको ग्यारेन्टी पनि थियो। अनि थियो, सांगीतिक यात्राको पहिलो पाठशाला।
लोक–दोहोरीकी चर्चित गायिका लक्ष्मी न्यौपाने आफ्नो बाल्यकाल सम्झिन्छिन्, 'दस मिनेट भजन नगाई खाना खान पाइँदैनथ्यो। त्यो पारिवारिक माहोलले नै होला, संगीत मेरो जीवनको अभिन्न अंग बन्यो।'
भजनबाट सुरू भएर विद्यालयको कार्यक्रमदेखि रेडियो नेपालको स्टुडिओ हुँदै आज ७ हजार बढी गीतमा लक्ष्मीको स्वर गुञ्जिएको छ।
'कालीपारे दाइ', 'फूलमा भमरा', 'वनमा काँडा छ', 'सिमसिम पानी रइछौ बेइमानी', 'मिर्मिरेको घाम', 'सारंगी रेटौंला मौका मिले फेरि भेटौंला', 'रून्छ नि मन किन रूँदैन', 'यो मायाको संसार विचित्र', 'मधु वनैमा' जस्ता उनको स्वरमा रहेका दर्जनौं गीत आज पनि उत्तिकै चर्चित छन्।
तीजका गीतहरूमा पनि लक्ष्मीको नाम सम्मानका साथ लिइन्छ। उनले तीजका मात्रै एक सय हाराहारी गीतमा स्वर दिएकी छन्।
प्रायः आफ्नै शब्द र संगीतमा तीज गीत ल्याउने उनका 'टिकिया हो मेरो टलटल टलकनलाई', 'तीज आयो राजै', 'झल्को माइतीको', 'हन्त सम्धिनी', 'जान्न म त नाइँ', 'बुटवल बजार गई', 'मै माग्थेँ बालापन' जस्ता गीतहरू रूचाइएका छन्।
२०५१ सालमा पहिलो पटक तीज गीत गाएरै सांगीतिक यात्रा सुरू गरेकी लक्ष्मीले यसपालि पनि तीज गीत सार्वजनिक गरेकी छन्।
तीजको पूर्वसन्ध्यामा हामीले उनै गायिका लक्ष्मी न्यौपानेसँग सांगीतिक यात्रा र तीज गीतको सेरोफेरोमा रहेर कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित अंशः-
तपाईंको सांगीतिक यात्रा कसरी सुरू भएको थियो?
सांगीतिक यात्रा बाल्यकालदेखि नै सुरू भएको हो। मेरो घर पाल्पा बगनासकाली दर्पुकमा पारिवारिक वातावरण नै संगीतमय थियो।
घरमा सरस्वतीको मन्दिर थियो, जहाँ साँझमा बत्ती बालेपछि भजन-कीर्तन हुन्थ्यो। मेरो यात्रा त्यही भजन-कीर्तनबाटै सुरू भयो भन्नुपर्छ। म ४/५ वर्षको हुँदादेखि नै गाउन थालेकी हुँ। त्यसपछि स्कुलका कार्यक्रमहरूमा भाग लिन थालेँ।
स्कुलको कार्यक्रममा कस्तो गीत गाउनुहुन्थ्यो? कसले लेखिदिन्थ्यो? गीत गाएर पहिलो पटक पुरस्कार कहिले पाउनुभयो?
सुरूमा बुबाले लेखेको गीत गाएँ। प्रायः शुक्रबार-शुक्रबार अतिरिक्त कार्यक्रम हुन्थ्यो। कक्षा ६ स्याङ्जामा पढेकी हुँ। त्यस बेला एउटा ठूलो गायन प्रतियोगिता भएको थियो, जहाँ धेरै स्कुलका विद्यार्थी सहभागी थिए।
त्यति बेला हाम्रो समूहले सान्त्वना पुरस्कार जितेको थियो। त्यो मेरो पहिलो पुरस्कार थियो।
त्यो पहिलो पुरस्कार जित्दाको अनुभव कस्तो थियो?
हामी साना थियौं, हाम्रो प्रस्तुति सबैले एकदमै मन पराउनुभयो। उहाँहरूले हामीलाई बेन्चमा उभ्याएर फेरि गाउन लगाउनुभयो र खुसी भएर पैसा पनि दिनुभयो। त्यो मेरो लागि पहिलो ठूलो मञ्च थियो र दर्शकको मायाले मलाई धेरै हौसला दियो।
हामी दुई जनाले ९०–९० रूपैयाँ पाएका थियौं, जुन त्यो बेला ठूलो कुरा थियो। त्यस बेला शिक्षकहरूले पनि एकदमै तारिफ गर्नुभयो। अर्को दिन विद्यालयमा आएपछि प्रार्थना गर्नुअघि हामीले फेरि बेन्चमा उभ्याएर अबिर माला लगाइदिनुभएको थियो।

त्यो बेला संगीतप्रति तपाईंको बुझाइ कस्तो थियो?
खासै त्यस्तो गहिरो बुझाइ त थिएन। मलाई गीत गाउन मनपर्थ्यो, गाउन पाएपछि खुसी हुन्थेँ। जति पनि पाइहाल्थेँ। घरमा बाजागाजाहरू थिए, रेडियो सुन्थेँ। कसले राम्रो गाउँछ भनेर छानिएर प्रतियोगितामा जान पाउँदा नै ठूलो कुरा लाग्थ्यो। मेरो लागि गाउनु नै सबथोक थियो।
त्यो समयमा गीत गाउन प्रतियोगितामा पठाउन परिवारलाई गाह्रो भएन?
स्कुलबाट प्रतियोगितामा जाँदा पठाउनु हुन्न कि भन्ने डर त थियो। तर मेरो बुवा शिक्षक हुनुहुन्थ्यो र स्कुलका सरहरूसँग चिनजान थियो। सरहरूले नै बुबालाई चिठी लेखेर 'छोरीलाई हामीले छनोट गरेका छौं, पठाइदिनुहोला' भनेर अनुरोध गर्नुभएको थियो। साथै, गाउँकै एक जना दाइ पनि सँगै जाने भएपछि परिवारले पठाउनुभयो।
त्यसपछि अन्य कार्यक्रमहरूमा पनि निरन्तर हिँड्नुभयो? रेडियो नेपालसम्मको यात्रा कसरी तय भयो?
स्कुलको कार्यक्रमहरूमा निरन्तर गाएँ तर बाहिर धेरै गइनँ। स्कुल सकेपछि केही समय गाउँकै एउटा सांस्कृतिक टिममा पनि बसेँ। हामी साथी–साथी, अग्रज दिदीहरू मिलेर गीत गाउँथ्यौं। रेडियो नेपालको ‘चौतारी’ कार्यक्रम निकै सुन्थ्यौं र त्यहाँ गाउने सपना देख्थ्यौं। त्यो त्यस बेलाको एकदमै लोकप्रिय कार्यक्रम थियो।
२०५१ सालमा काठमाडौं आएपछि मैले त्यही चौतारी कार्यक्रममा गाउने अवसर पाएँ। त्यहीँ मेरो भेट अग्रज संगीतकार नारायण रायमाझी सरसँग भयो। त्यहाँ गएपछि स्वर परीक्षा दिन सुझाव पनि पाएँ।
तपाईंको पहिलो गीत रेकर्डिङको अनुभव कस्तो रह्यो? कुन गीत थियो र त्यो कसरी सम्भव भयो?
माघ र साउनमा स्वर परीक्षाका लागि फारम खुल्छ भन्ने जानकारी लिएकी थिएँ। चौतारी कार्यक्रममा गाएर म गाउँ फर्किएँ। पछि साउनमा म स्वर परीक्षा दिन काठमाडौं आएकी थिएँ तर फारम भर्ने समय सकिएछ। मैले स्वर परीक्षा दिन पाइनँ। यद्यपि, त्यही बेला संयोगले नारायण (रायमाझी) दाइले तीजको एल्बम रेकर्ड गर्दै हुनुहुन्थ्यो।
उहाँले नै मलाई अवसर दिनुभयो र मैले उहाँकै रिमा रेकर्डिङ स्टुडिओमा दुइटा तीज गीत रेकर्ड गरेँ।
मेरो पहिलो रेकर्डेड गीत नै तीज गीत थियो– वर्षमा एक दिन रिङ्दै घुम्दै आउने तीजको रमझम।
त्यसको लय र शब्द मेरै थियो। त्यो गीत पछि रेडियो नेपालको बोर्डबाट पास भयो। र, रेडियो नेपालबाट पनि बज्यो।
तपाईंको बाल्यकालको तीजको सम्झना कस्तो छ? त्यो बेलाको तीज कस्तो हुन्थ्यो? तपाई|ले तीज गीत चाहिँ कहिलेदेखि गाउन थाल्नुभएको थियो?
मैले जान्दादेखि नै हो। बाल्यकालको तीज एकदमै मौलिक थियो। अहिलेको जस्तो थिएन। कृष्ण जन्माष्टमीको अघिल्लो दिन सानो तीज भनेर दर खाने चलन थियो।
गाउँको एउटा ठूलो आँगन भएको घरमा सबैजना जम्मा भएर राति १-२ बजेसम्म नाचगान गर्थ्यौं। जहाँ भेला हुने हो त्यो घर सफा गरिएको हुन्थ्यो। गुन्द्रीहरू, लाल्टिन लगायतको व्यवस्थापन दिउँसै गरेर तयारी राखिन्थ्यो। बेलुका त्यहाँ मादल बजेपछि हामी कति बेला पुगौं भन्ने हुन्थ्यो। गाउँका आमा–दिदीहरूले वर्षभरिका सुखदुःख, घटना र सामाजिक विषय समेटेर नयाँ-नयाँ गीत बनाउनुहुन्थ्यो र त्यही गाउनुहुन्थ्यो।
तपाईंको सांगीतिक प्रेरणाको स्रोत को हुनुहुन्छ? र, सिर्जनामा बाल्यकालको कस्तो प्रभाव छ?
मेरो प्रेरणाको मुख्य स्रोत मेरो परिवार र विशेषगरी बुवा नै हुनुहुन्छ। घरको सांगीतिक वातावरणले मलाई यहाँसम्म ल्यायो। साँझमा भजन नगाई खाना खान छुट थिएन। दस मिनेट भए पनि भजन–कीर्तिन गाउनुपर्थ्यो। एकैछिन भए पनि भजन गाउनुपर्ने नियम थियो। त्यो कुराले पनि मलाई संगीतमा अनुशासन सिकायो।
मैले सिर्जना गर्ने गीतहरूमा बाल्यकालमा गाउँघरमा देखेका, भोगेका र सुनेका घटनाहरू, दिदीबहिनीका वेदना र कथाहरूको गहिरो प्रभाव छ।
तपाईंलाई सुरूआतमा चिनाउने तीज गीत कुन थियो?
२०५७ सालमा दुर्गा गुरूङसँग निकालेको 'शीरफूल हन्त सम्धेनी' एल्बमले मलाई व्यावसायिक रूपमा चिनायो। त्यो एकदमै सफल भयो।
त्यस अगाडि तीजका गीत फाट्टफुट्ट निस्किन्थे, धेरै बिक्री पनि हुँदैन थियो। त्यस बेला मेरो खर्च नउठ्ला भनेर रिमा रेकर्डिङबाट निःशुल्क रेकर्ड गरिदिनुभएको थियो। सायद, तीजको गीत धेरै बिक्दैन भन्ने भएर त्यसो गर्नुभएको हो।
त्यसै एल्बमको 'शीरफूल हन्त सम्धेनी' र 'टिकिया हो मेरो टलटल टलकनलाई' गीत पनि धेरैले मन पराउनुभयो। त्यसपछि 'स्वामी राजैले', 'भन्ने के हो र?', 'जान्न म त नाइँ', 'झल्को माइतीको', 'मै माग्थेँ बालापन' जस्ता गीतहरू चले।
'बुटवल बजार गई' २०६० सालको गीत अहिले आएर फेरि रि–रेकर्ड गरेँ। मेरा तीज गीतहरू अधिकांशजसो रूचाउनुभयो।

त्यो बेलाको र अहिलेको तीज गीतमा कस्तो फरक पाउनुहुन्छ? मौलिकता किन हराउँदै गएको जस्तो लाग्छ?
धेरै भिन्नता छ। तीज एउटा संस्कृति र पर्व हो, यसको आफ्नै महिमा छ। अहिले समय अनुसार परिवर्तन हुनु स्वाभाविक हो तर मौलिकता र संस्कृतिको अस्तित्व नै मास्नु हुँदैन।
केहीले मौलिक पाटो छोड्नुभएको छैन। तर अहिलेका धेरै गीतहरू व्यावसायिक, समय अनुसार चल्नुपर्छ भन्ने मान्यता राखेर क्षणिक चर्चाका लागि बनेका जस्ता लाग्छन्। उही जमाना, पुरानै समयकै जस्तो गीत हुनुपर्छ भन्ने होइन, त्यसको विकसित रूप तीज गीतमा ढाल्न सक्छौं। तर यसको संस्कार, संस्कृति र अस्तित्व बचाउन सक्नुपर्यो।
तीजको महिमा, मौलिकपन मास्ने गरी जानुभएन। मौलिकता हराउँदै जानुमा कलाकार, मिडिया र दर्शक सबै कतै न कतै दोषी छौं जस्तो लाग्छ। मौलिक गीतलाई भन्दा विकृतिलाई बढी प्राथमिकता दिइएको छ। मौलिकता कायम राखेर परिमार्जन गर्दै जानुपर्छ भन्ने मेरो धारणा हो।
तपाईंका अधिकांश तीज गीतले मौलिकता समेटेको पाइन्छ। सुरूदेखि नै यस प्रकारका गीत ल्याउन कसरी प्रेरणा मिल्यो?
म जस्तो वातावरणमा हुर्किएँ, जस्ता गीत सुन्दै हुर्किएँ, त्यसको प्रभाव होला। त्यस बेला राम्रो गरगहना, लुगा लगाउने दिदीबहिनीहरूको गाउँमा धेरै कुरा समेत हुन्थ्यो। गरगहना, नयाँ कपडा नहुनेहरू तीजमा माइत नगएको पनि देखेकी थिएँ। गाउँघरको त्यही घटना टिपेर मैले 'जान्नँ म त नाइँ' गीत बनाएकी थिएँ।
कतिपय दिदीबहिनीलाई तीज आयो भनेपछि कति बेला माइत पुगूँला भन्ने हुन्छ। तीज सकिएपछि फेरि घर फर्किने हतार हुन्छ। यसमा गीत बनाएकी थिएँ–
तीजै र आयो, माइतीको झल्को
जान्छ बरै जान्छ, मन उडेर माइत जान्छ
रमाइलो गरी तीज नी सकिन्छ
तान्छ बरै तान्छ, घरमै मायाले मन तान्छ
त्यस्तै, 'भन्ने के हो र' गीतमा सासू–ससुराका विषयवस्तु समेटेकी थिएँ। 'मै माग्थेँ बालापन' पनि मैले आफ्नो बालापन सम्झेर गाएको गीत हो। मैले धेरै गीतहरू गाउँघरमा देखेका, भोगेका र अरूबाट सुनेका कुरालाई नै आधार बनाएर गाएकी छु।
अहिले फेरि रेकर्ड गरेर ल्याउनुभएको 'बुटवल बजार गई' गीत कसरी बनाउनुभएको थियो?
२०५९ सालमा मेरो बिहे पाल्पाबाट बुटवलमा भयो। जेठमा बिहे भयो, मैले तीज गीतको तयारी अगाडि गरिसकेकी थिएँ। अर्को साल तीजमा आफ्नै कर्मथलोको विषय समेटेर गीत बनाउनुपर्छ भन्ने लाग्यो। मैले बुटवल बजारलाई केन्द्रमा राखेर त्यो गीत सिर्जना गरेकी हुँ।
त्यो गीत २०६० सालमा रेकर्ड भएको थियो र धेरैले मन पराउनुभयो। अहिले नयाँ स्वादमा ल्याउँदा पनि उत्तिकै मन पराउनुभयो।
तपाईं तीन दशकदेखि निरन्तर यही क्षेत्रमा हुनुहुन्छ। संगीतमा लागिरहन के कुराले प्रेरित गर्यो?
यो एउटा लगाव पनि हो। नशा जस्तै भइसकेको छ। सुरूमा रहरले लागियो, पछि व्यावसायिक बनियो। म आफूलाई भाग्यमानी मान्छु किनकि सुरूवातदेखि नै राम्रो अवसर पाएँ।
श्रोतादर्शकको पनि एकदमै मन पराइदिनुभयो। त्यो माया र हौसलाले मलाई टिकाइराखेको छ। अहिले पनि श्रोतादर्शकको एमदमै माया पाएकी छु, यो मेरो लागि ठूलो कुरा हो। उहाँहरूले 'तपाईंको गीत अझै चाहियो' भन्दा थप ऊर्जा मिल्छ।
व्यावसायिक रूपमा मात्र नहेरी लोकसंगीत र आफ्नो संस्कृतिलाई केही योगदान दिनेखालको प्रस्तुति दिऊँ भन्ने भावनाले काम गरिरहेकी छु।