यो वर्ष तीजलाई लक्षित गरेर दर्जनौं गीत सार्वजनिक भइसकेका छन्। तर चलेका गायक/गायिकाका गीतले समेत स्रोता तथा दर्शकलाई निराश बनाइरहेका छन्। यस्तोमा अब धेरैले गायिका विष्णु माझीको तीज गीत कुरिरहेका हुनसक्छन्।
वर्षमा एकाध गीत गाउने भएकाले उनका गीत सधैं प्रतिक्षामा हुन्छन्। तीज नजिकिँदा धेरैले भन्ने समेत गरेका छन्– 'विष्णु माझीको गीत नआएसम्म तीज आएजस्तो लाग्दैन!'
विष्णुले दुई दशकदेखि हरेक वर्ष तीज गीत ल्याउँदै आएकी छन्। तसर्थ यसवर्ष पनि उनले तीज गीत ल्याउने धेरैको विश्वास छ। तर विष्णु माझीको गीतको रेकर्डिङ र भिडिओ छायांकन गुपचुप रूपमा हुने भएकाले यसबारे टिमभन्दा अन्य व्यक्तिलाई खास्सै अत्तोपत्तो हुँदैन।
स्रोतका अनुसार यस वर्ष पनि केही दिनमै विष्णु माझीको तीज गीत सार्वजनिक हुँदैछ। गीतको भिडिओको छायांकन सकिएर अहिले सम्पादन भइरहेको छ।
'गत बिहीबार दिउँसो र राती भिडिओ छायांकन भएको हो। यसपालि भिडिओमा ६० जना कोरसलाई नचाइएको छ,' स्रोतले सेतोपाटीसँग भन्यो, 'सम्भवतः दुई/तीन दिनमै आउला।'
प्राप्त जानकारी अनुसार यसवर्ष पनि भिडिओमा गत वर्षकै मोडल ललिता पौडेल छिन्। त्यस्तै, कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। गत वर्षको 'आइनँ आमा यो तीजमा', ०८० सालको ‘बलमा’ मा पनि मौसमकै कोरियोग्राफी थियो। त्यसअघि भने विष्णु माझीका धेरै गीत शिव वि.कले कोरियोग्राफी गरेका थिए।
यसपालि विष्णु माझीको 'पुतलीको भट्टी भाग २१' बजारमा आउन लागेको हो। उनले दुई दशक अघिदेखि 'पुतलीको भट्टी' नाममा हरेक वर्ष यसको नयाँ भाग ल्याउँदै आइरहेकी हुन्।
उनका तीज गीत अन्य कलाकारहरूका भन्दा ढिलो सार्वजनिक हुने गरेका छन्। गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत हुने गरेको छ। निर्देशन पनि सुन्दरमणिले नै गर्दै आएका छन्।
सार्वजनिक रूपमा 'नदेखिने' गायिका विष्णुले लोक–दोहोरीसँगै तीज गीतमा आफ्नो छुट्टै छाप छाडेकी छन्। पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं आउने गरेका कारण यो समय विष्णु थप चासो र चर्चाको केन्द्रमा हुन्छिन्।
यो पनि: तीजका गीतमा रेकर्ड बनाउने महँगी गायिका!