थुप्रै लोकप्रिय गीतकी गीतकार लिलु गुरूङले मौलिक तीज गीत सार्वजनिक गरेकी छन्।
उनले देवी घर्तीको स्वरमा 'तीज आइसक्यो राजै' बोलको गीत मंगलबार सार्वजनिक गरेकी हुन्। लिलु गुरूङको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन सुदीप सागरको छ।
यसको भिडिओमा अभिनेत्री प्रियंका कार्की र अभिनेता पुष्प खड्काले अभिनय तथा नृत्य गरेका छन्। मौसम हिमालीले भिडिओको कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। गीतले तीजको उमंग, नारीको भावना र तीजको सांस्कृतिक पक्षलाई उठान गरेको छ।
भिडिओमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन छ।
पछिल्लो समय अमेरिकामा रहेकी लिलु गुरूङका 'जहाँ तिमी त्यहाँ म', 'फूल जस्तै पवित्र' लगायतका गीत चर्चामा छन्। उनले पछिल्ला वर्ष निरन्तर तीज गीत ल्याउँदै आएकी छिन्।