फुर्सदमा सिनेमा
इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू!
आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छन्।
आज हामीले यस्तै तीनवटा इरानी फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा अंग्रेजी सबटाइटलसहित उपलब्ध छन्।
→ अबाउट एली, निर्देशकः असगर फरहादी
फिल्मको कथा विश्वविद्यालयमा सँगै कानुन पढेका साथीहरू तीन दिनको छुट्टीमा घुम्न गएपछि सुरू हुन्छ। यो भ्रमण शेपिडेहले आयोजना गरेकी हुन्। उनी, उनका श्रीमान अमिर र उनीहरूकी सानी छोरीसहित आठ/दस जना क्यास्पियन सागर गएका हुन्छन्।
शेपिडेहले उनकी छोरीको किन्डरगार्टेन शिक्षक एलीलाई पनि साथ लैजान्छिन्। शेपिडेहको उद्देश्य एलीलाई जर्मनीबाट आएका उनका साथी अहमदसँग परिचय गराउनु हुन्छ। अहमद डिभोर्सी हुन्छन्।
तर उनीहरूले बुक गरेको समुद्री किनारको घरमा उनीहरू बस्न पाउँदैनन्। त्यसैले उनीहरू सुनसान समुद्र किनारको घरमा बस्छन्। शेपिडेहले सो घरकी महिलालाई एली र अहमदको सम्बन्धबारे झुट बोल्छिन्। उनीहरूको बिहे भएको र हनिमुनमा रहेको भन्छिन्।
अनि यसैबीच एली हराउँछिन्। उनी कहाँ गइन्, कसैलाई थाहा हुँदैन। यहीबीच केही रहस्यहरू उजागर हुन्छन्।
यो फिल्मलाई इरानी समीक्षकहरूले इतिहासकै चौथो ठूलो महान र उत्कृष्ट फिल्मका रूपमा दर्ज गरेका थिए। यसले दुई दर्जन हाराहारी अवार्ड पाएको छ।
→ द विल्लो ट्री, निर्देशकः माजिद माजिदी
आठ वर्ष उमेरमा आँखाको ज्योति गुमाएका प्रोफेसर युसुफमा आफ्नो भाग्य र भगवानप्रति गुनासो छ। तर संजोग यस्तो जुर्छ, दशकौंपछि उनी फेरि आँखा देख्ने हुन्छन्।
आँखा नदेख्ने मान्छेले संसार देख्न पाउनु कति राम्रो कुरा! धेरैलाई यस्तै लाग्दो हो।
'द विल्लो ट्री' हेरेपछि भने यो बुझाइमाथि शंका उब्जिन्छ।
उनलाई बिस्तारै आँखा देख्ने युसुफ मन पर्न छोड्छ।
उनको यो धारणामा आउने परिवर्तनले दर्शकको मन हल्लाउँछ।
→ ब्ल्याकबोर्ड्स, निर्देशकः मिरा मखमलबाफ
उराठलाग्दा र अग्ला पहाडबीच विद्यार्थी खोज्दै एक हुल शिक्षक काँधमा ब्ल्याकबोर्ड बोकेर हिँडेका छन्।
शिक्षाको उज्यालो बाँड्न विद्यार्थी खोज्दै हिँडेका ती शिक्षकको भेट गाँस, बास र सुरक्षाको ठेगान नभएका युद्धबाट विस्थापित पात्रहरूसँग भइदिन्छ। यहीँबाट नयाँ यात्रा सुरू हुन्छ।
यो यात्रा कहाँ पुग्छ भन्ने थाहा पाउन 'ब्ल्याकबोर्ड्स' हेर्नुपर्छ।
सन् २००२ मा बनेको यो फिल्म इरान–इराक युद्धका क्रममा शरणार्थी भएका कुर्दिश समूहमा केन्द्रित छ। आकाशमा बेलाबेला गुञ्जिने हेलिकप्टरको आवाजले उनीहरूमा युद्धको त्रास हटेको छैन।
युद्ध र शिक्षाका अँध्यारा-उज्याला पक्ष जोडिएको ब्ल्याकबोर्ड्सका घटनाक्रम यथार्थको नजिक छ।
निर्देशक समिरा मखमलबाफले २१ वर्ष उमेरमा बनाएको यो फिल्म कान फेस्टिभलमा उत्कृष्ट जुरी अवार्ड पाउन सफल भएको थियो। त्यस्तै युनेस्को पेरिसबाट दुइटा, इटालीमा भएको जिफोनी फिल्म फेस्टिभलमा दुइटा र अमेरिकन फिल्म इन्स्टिच्युटबाट एउटा अवार्ड पनि जितेको छ।