अन्तर्वार्ता: भोइन्द्रदत्त तेवार
अनुवाद : सुरज सुवेदी
आफ्ना साहित्यिक कृति 'अ हाउस फर मिस्टर विश्वास' र 'अ बेन्ड इन द रिभर'का लागि चर्चित भिएस नेइपल अब हामीमाझ छैनन्। २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार बिजेता उनका ५० भन्दा धेरै किताब प्रकाशित छन्।
नेपालमा पनि नेइपलका पाठक धेरै थिए भन्ने कुरा उनको निधनपछि सामाजिक सञ्जालमा व्यक्त भएका सन्देशहरूबाट पनि देख्न सकिन्थ्यो। कुनै समय उनले भनेका थिए, 'मेरा सबै पूर्खा कताबाट आएको थाहा छैन। तर केही नेपालबाट आएको भन्ने थाहा छ।'
डा भोइन्द्रदत्ता तेवारले ट्रिनिनाड एन्ड टोबागोमा सन् २००७ मा लिएको यो अन्तर्वार्तामा नेइपालले लामो समयपछि ट्रिनिनाड फर्किँदाको अनुभवसँगै लेखक हुनुका विविध पक्षबारे बताएका छन्। जर्नल अफ वेस्ट इन्डियन लिटरेचरमा छापिएको यो अन्तर्वार्तालाई सुरज सुवेदीले नेपालीमा अनुवाद गरेका हुन्।
यो अन्तर्वार्ता दिन सहमति जनाउनुभएकोमा धेरै धेरै धन्यवाद। विश्वविद्यालयले ट्रिनिनाड एन्ड टोबागोमा तपाईंको बसाइ र गर्नुभएको कामलाई सरहना गरिरहेको सन्दर्भमा अहिले फेरि घर फर्किनुभएको छ। कस्तो महशुस भइरहेको छ?
मन छुने र मिठो अनुभूति। साँच्चै भन्नुपर्दा ठूलो आश्चर्यमा परेँ। किनकि लेखनमा विगत ५० वर्षदेखि भए पनि १९६० मा सरकारले तीन महिनाको लागि बोलाएभन्दा बाहेक यहाँ मेरो कुनै पहिचान थिएन। मानिसहरूलाई मेरो बारेमा थाहा थिएन। वा भनौं जान्ने स्पष्ट जागरुकता भएन। त्यसैले पनि यो मेरो लागि नयाँ अनुभव थियो। म धेरै खुसी छु।
त्यो जागरुकताको अभावलाई कसैले सरहनाको अभाव पनि भन्लान्। त्यसले तपाईंलाई चिन्तित बनाउने वा असर गर्ने गरेको त छैन?
मलाई असर गर्दैन। यस्ता कुराहरूले असर गर्ने भए त म लेखक नै हुने थिइनँ। लेखकको जीवन यसै पनि धेरै बाधा, समस्या, निराशा तथा यस्तै यस्तै कुराहरूले जेलिएको हुन्छ। उनीहरूलाई यस्ता कुराहरूले अल्झाउनु हुँदैन, जित्नु हुँदैन।
तपाईं वुडफोर्ड स्क्वायरमा हिँड्नुभयो र चर्चको वरपर पनि जानुभयो। सानो बालक हुँदा पनि त्यसरी नै घुम्नुभएको थियो होला। बीचमा आएका अवसरमा पनि जानुभयो होला। यसरी यी गल्ली वा स्क्वायर बीचमा उभिएर मानिसहरू आएको र गएको हेर्दा कस्तो महशुस गर्नुहुन्छ? मानसिक र मनोवैज्ञानिक रूपमा यसले तपाईंलाई के फरक पार्छ?
यो मेरो लागि फरक अनुभूति थियो। यस पटक म स्क्वायरमा हिँडिनँ। बरु त्योभन्दा बाहिरपट्टि हिँडे। म बाल्यकाल सम्झिन्छु। त्यहाँ अरूसँग घुलमिल हुन गाह्रो हुने र भ्रम भइरहने मानसिक समस्या (सिजियोफ्रेनिया) बाट पीडित मानिस हुन्थे। थाहा छैन उनीहरू अहिले पनि होलान् कि नहोलान्। बीचमा मलाई हिँड्न समस्या भयो। ढिलो हिँड्थेँ। त्यसैले पनि धेरै यताउता गइनँ।
मैले चर्च तिर हेरेँ। वास्तवमा भन्नुपर्दा त्योभन्दा पहिला त्यसरी हेरेको रहेनछु। त्यहाँ एउटा जेल भएको थाहा छ। उन्नाइसौं शताब्दी सुरुवातको ट्रिनिनाड इतिहास मेरो दिमागमा आइरहेको थियो। तपाईंलाई थाहै छ, वुडफोर्डा सबै कुरा ठीक गर्छु भनेर गभर्नर भएर आएका थिए। उनी एकदमै युवा शासक। जेल बनाइएको कुराले पर्न सक्ने गलत प्रभाव छेल्न चाहन्थे।
१९६८ मा मैले देख्दा त्यो पुरानो जेलमाथि जर्जियन अक्षरमा ‘प्रो रेगा एट लेगा’ लेखिएको थियो। यसको अर्थ ल्याटिन भाषामा ‘राजा र कानुनको लागि’ हुन्थ्यो। वुडफोर्ड भन्थे- अब नयाँ कानुन हुनेछ। कुनै सन्की निरंकुश शासन हुने छैन। तर पछि त्यसलाई खसालियो। त्यो कुरा इतिहासको अङ्गको रूपमा मात्र नभएर निरंकुशता चाहिँदैन भन्ने जुन आशय बोलेको थियो त्यत्तिका लागि मात्र भए पनि राखिनुपर्थ्यो।
मलाई थाहा छैन त्यो सुनौलो अक्षर कहाँ गयो। पछि त्यसलाई खोजेँ र हेरेँ। नयाँ देखिन्थ्यो। चर्च तिर हेरेँ। त्यो पनि नयाँ र टलक्क टल्किएको। एउटा चिजलाई समय र अनुभवले के बनाउने रहेछ। आश्चर्य लाग्यो। मैले ती चिजलाई केवल भौतिक वस्तु मानिनँ। बाहिरी पक्षसहित हेरेँ। तीनलाई मैले त्यस्तो रूपमा कहिल्यै देखेको थिइनँ।
तपाईंले त्यस्तो कुन दृष्टिकोणले हेरिरहनु भएको थियो जुन सायद पहिला देख्नुभएको थिएन?
जति बेला म यहाँ केटाकेटी नै थिएँ, त्योबेला मसँग कुनै एतिहासिक चेतना थिएन। अहिले राम्रो इतिहास चेत छ। जहाँ जेलाई हेरे पनि त्यो चेतसँगै आइहाल्छ। म बिल्डिङमा हेर्दा पनि त्यही पाउँछु। बिल्डिङलाई किताब जसरी पढ्न सकिन्छ। तिनले आफू उभिएको ठाउँको कथा भनिदिन्छन्। त्यसैले पनि यो फरक हेराइ पक्कै थियो। त्यो हेराइ मेरो लेखनबाट आएको हो। लेखनले लेखकलाई परिवर्तन गर्नुपर्छ। लेखन भनेको एउटा किताब लेख्नु मात्र हैन। लेखकको लागि ठूलो अनुभव र शिक्षा पनि हो।
तपाईं एयरपोर्टबाट झरेर भित्र आइपुग्दै गर्दा केही मानिस तपाईं छेउ आएका थिए। उनीहरूले तपाईंलाई सजिलै चिने र भेट्दा उत्साहित थिए। त्यो भेटमा सम्मान त थियो नै, स्नेह र आत्मीयता पनि झल्किन्थ्यो। एक लेखक जसले किताब लेख्छ र ट्रिनिनाडका जनता जो त्यसमा आफ्नो सम्बन्ध भेट्छन्, यो सम्बन्धलाई तपाईं कसरी महशुस गर्नुहुन्छ?
त्यो एकदमै स्नेहताले भरिएको भेट थियो। म स्क्वायरमा हिँडिरहेको बेला पनि यस्तै धेरैपल्ट भएको छ। कहिलेकाहीँ त लज्जित नै बनाउने गरी। मैले कहिल्यै नसोचेको मन छुने क्षण हुन् ती।
अहिलेसम्म २९ वटा किताब लेखिसक्नुभयो। पछाडि फर्किएर आफ्नो लेखन यात्रामा नजर लगाउँदा ‘मिगेल स्ट्रीट’, ‘सफ्रेज अफ अलभिरा’ र ‘मिस्टिक मसुर’ जस्ता सुरुवाती किताबलाई कुन स्थान दिनुहुन्छ? के ती साना किताब हुन्?
धेरै महत्त्वपूर्ण। ती किताब मेरो लागि धेरै महत्त्वपूर्ण छन्। ‘मिगेल स्ट्रीट’ त झन् अझ धेरै महत्त्वपूर्ण। मैले त्यसका बारेमा लामो लेखको पनि छु। यसले मलाई त्यस बेला लेखन सुरुवात गर्न लगायो जति बेला मेरो अगाडसको बाटो देख्नै नसकिने अवस्थामा थियो। आफ्नो केही अस्तित्व नै नभएको जस्तो लाग्थ्यो। लेख्दै गर्दा मेलै आफूलाई बच्चा बनाएँ र ती गल्लीमा फर्किएर हेर्ने प्रयत्न गरेँ। हामी सानो सानो कुरामा पनि रोकिनु पर्ने बेला थियो त्यो … (नेइपलको आँखा भरिन्छ)
(सात वा आठ मिनेटपछि)
लेखनको प्रकृति नै हो यो। अक्षरको समूहले सबै खाले सोचाइ, भावना, र सम्झनालाई बाहिर निकाल्नुपर्छ। धेरै महान लेखकहरूले यसबारेमा लेखेका छन्। मेरो हकमा पनि यो पटक पटक भएको छ। लेखनको मात्र नभएर यो कसैको जीवनकै प्रकृति हो भने पनि हुन्छ। त्यसैले पनि मैले ‘मिगेल स्ट्रीट’ लेख्न थाल्नु महत्त्वपूर्ण थियो। किनकि सुरुवातमा आफू कस्तो छु भन्ने कुरा कसैलाई थाहा हुँदैन। आफू रमाइलो मान्छे हो कि दु:खी? आफैंलाई आफू कस्तो हुँ भन्ने थाहा हुँदैन। पत्ता लगाउनुपर्छ।
सन् १९५० देखि ५४ सम्म जब म इङ्ल्याण्डमा थिएँ। त्यस बेला मैले दुइटा किताब लेखेको थिएँ। एउटा ‘फार्स’ र अर्को अर्थहिन लेखन अभ्यास। बेकारको भारी बोकेको जस्तो। त्यसलाई मैले लेखिसकिनँ। केही समयपछि बीचमै छोडिदिएँ। अनि मात्र म मेरो सम्झना र विगत नजिक गएँ। लेखन सजिलो भयो। फेरि सुरु गरेँ। अनि पछाडि फर्किनै परेन। नयाँ चिज आउन लामो पर्खाइ चाहिन्छ। त्यो सुरुवातले मात्र दिन सक्छ। त्यसैले पनि ती सुरुवाती किताब महत्त्वपूर्ण थिए।
मैले ती किताबबारे त्यसको केही महिनापछि नै प्रकाशित अर्को किताबको प्रिफेसमा लेखेको थिएँ। लेखेको थिएँ, 'मैले ती गल्ली सम्झिँए र तिनका बारेमा लेखेँ। गल्लीमा भएका मानिसका बारेमा लेखेँ।' सायद त्यो सतही हेराइ थियो। किनकि मैले भनिसकेँ, तिनका बारेमा यसरी लेखेँ जसरी एउटा बच्चाले देख्छ। त्यो सतही हेराइ।
म भन्दै गएँ। लेख्दै गर्दा सोचेँ, त्यो दृश्य र सामग्रीबाट म यदि एक, दुई वा तीन पाइला पछाडि गएँ भनेँ मैले कसरी लेख्छु। सायद त्यसलाई अर्कै तरिकाले लेख्नुपर्छ। विभिन्न पहिचान, जातीय पहिचान र सांस्कृतिक पहिचानबारे चिन्ता व्यक्त गर्नुपर्छ। सायदफेरि अर्को किताब लेख्नुपर्थ्यो। मैले जीवनभर सिकेको कुरा- एक लेखक रूपमा कुनै कुरालाई हेर्ने विभिन्न तरिका र दृष्टिकोणबारेमा सचेत छु। सानो कुरा दाँयाबाँया हुँदा संसारको बनावट र संरचनामा कसरी फरक पर्छ भन्ने कुरा ख्याल गर्ने भएँ। धेरै अबुझ मानिसहरू मलाई भन्थे, 'सुरुमा जुन तरिकाले लेखिरहेको थिएँ त्यही तरिकाले लेखिरहनुपर्थ्यो।'
तर मैले त्यसो गर्न सकिनँ। किनकि एउटा शैलीमा सबै कुरा खन्याइसकेपछि मसँग लेख्नलाई अर्को पक्ष मात्र बाँकी हुन्थ्यो। हुनसक्छ अरू धेरै पक्ष बाँकी थिए जो मेरो प्रकृतिसँग मिल्थे वा मेरो सिकाइ बन्दै थिए। त्यसैले पनि मैले अलगअलग शैलीमा लेखेँ।
तपाईंले आफ्नो ‘प्रोलग टु एन अटोबायोग्राफी’ मा यसबारे विस्तृतमा लेख्नुभएको थियो। त्यो पढेपछि तपाईंको ‘मिगेल स्ट्रीट’ बुझेँ। सायद लेखक रूपमा तपाईंलाई पनि। एक लेखक रूपमा तपाईंको जीवनको उल्लेख्य कुरा के छ भने ‘हाउस फर मिस्टर विश्वास’लेख्न थाल्दा तपाईं केवल २५ वर्ष हुनुहुन्थ्यो। एउटा किताब अस्वीकृत र एउटा स्वीकृत भएको थियो। तीन किताब प्रकाशित भइसकेका थिए। सारा विश्वले यो किताबलाई मास्टरपिस भनेर स्वीकारेको छ। यो किताब लेख्दै गर्दा आफूभित्र भएको त्यो अद्भुत क्षमताबारे तपाईंलाई थाहा थियो?
थिएन। त्यो किताब पहिलाभन्दा पृथक हुँदै गयो र त्यस्तो बन्यो। १९५७ ताका हो त्यो लेख्न थालेको। तीन किताब लेखिसकेको र एउटा किताब प्रकाशित भइसकेको मलाई यो महशुस भइसकेको थियो कि मैले धेरै सावधान हुनुपर्छ। हतार नगरी मेरो लेखाइ संरचना बुझ्नुपर्छ। र जब समय आउँछ, उड्नुपर्छ।
कसरी उड्छु र मसँग उड्ने क्षमता छ-छैन भन्ने सम्झेको थिइनँ। केवल धर्ति छोड्नुपर्छ भन्ने सोचेँ। १९५७ मा एउटा किताब प्रकाशित भएपछि मेरो सानो परिचय बन्यो। तर त्यो गन्तव्य थिएन। म हिँडिरहनुपर्थ्यो। रुखबाट प्रभावित हुन थालेको थिएँ। २४ वर्षको भए पनि मलाई पहिला फूल र पछि पात लिएर उभिने रुखको स्वरूपले प्रभाव पार्थ्यो।
त्यसपछि मेरो दिमागमा उपाय आयो। तिनै किताबले सिकाए। संकल्प गरेँ, म किताब लेख्छु वा लेख्न प्रयास गर्छु। त्यो किताब यसरी सुरु भएको थियो। के कारणले हो थाहा छैन तर मलाई मिस्टर विश्वासको जस्तो ठूलो कथालाई न्याय गर्न सक्छु भन्ने विश्वास थिएन। मैले पेन्सिल निकालेँ र धर्का नभएको कापीमा लेख्न थालेँ। धेरै पीडादायी अनुभव थियो। त्यसरी समय कति बित्यो भन्ने थाहा छैन। त्यो पाण्डुलिपी अहिले भएको भए म तपाईंलाई ठ्याक्कै समय बताउन सक्थेँ। त्यसरी लेखिरहँदा जब शब्दमा आगोको झिल्का महशुस गरेँ, अनि मात्र टाइप गर्न थालेको हुँ।
किताबमा प्रगति हुन थालेपछि हरेक दिन म श्रीमतीलाई पढेर सुनाउँथेँ। उनी एकदमै धैर्य श्रोता थिइन्। असल समालोचक पनि। उनको प्रशंसा र हौसलाले किताब राम्रो बन्दैछ भन्ने थाहा थियो। त्यो क्रम किताब सकिएसम्म नै चल्यो। त्यो हौसलापछि मलाई शंका हुन छोडेको थियो किनकि म आफैं पनि किताब महशुस गर्न थालेको थिएँ। जुन महशुस सुरु गर्दा थिएन। पछि विस्तारै बन्दै, बढ्दै गयो। लेखिसकेपछि मैले त्यो किताब पढेको छैन। मेरो श्रीमती अहिले पनि बेलाबेला पढेर सुनाउँछिन्। मलाई आनन्द लाग्छ।
किताब प्रकाशनका लागि स्वीकृत हुँदा कस्तो लाग्यो?
त्यो बेला प्रकाशन स्वीकृति मेरा लागि ठूलो कुरा थिएन। जसले स्वीकृत गरेका थिए उनीहरू मेरो साथी जस्ता। खासमा उनीहरूले त्यस्तो खतरा किताब छाप्न पाए।
अहिले चाहिँ कस्तो महशुस गर्नुहुन्छ?
धेरै महत्त्वपूर्ण। त्यो किताब नभएको भए मलाई आफ्नोबारे धेरै कुरा थाहा हुने थिएन। आफूलाई बुझ्ने थिइनँ। यो किताबको रोमाञ्चक कुरा के छ भने मानिसहरू यसलाई मेरो कल्पनामा मात्र थियो भन्ने सोच्छन्। लेखकको कल्पनाले त घटना मात्र बनाउने हो। जुन परिवेशमा कथा भनियो त्यो त त्यस्तै थियो। कथाको ‘सेटिङ’ त उही हो। त्यसमा मैले रचना डुलाएँ। कल्पना मिसाएँ जसले मलाई कथामा स्वतन्त्र छोडिदियो। त्यो किताबपछि अगाडि बढ्न गाह्रो भयो। कसरी अगाडि बढ्ने? म त्यो किताब लेखिसक्दा ज्यादै थाकेको थिएँ।
(नेइपाल आफ्नो औँला खेलाउँछन् र भन्छन्)
म ती औंला अहिले पनि महशुस गर्छु। दिनभर टाइपराइटर ठोकिरहेका। मैले हरेक पन्ना टाइप हान्नुपर्थ्यो। हात दुख्थ्यो। औंलामा टेप लगाउने प्रयास गरेँ। झन् दुख्थ्यो। त्यसपछि टाइप गरिदिने सहयोगी खोजेँ। त्यो पनि मनपरेन किनकि आफूले लेखेको कुराको अन्तिम नियन्त्रण पनि म आफैसँग राख्न चाहन्थेँ।
एउटा लेखकलाई कसरी अगाडि बढिरहने भन्नेबारे जहिल्यै समस्या हुन्छ। किनकि म जस्तो सानो ठाउँको मान्छेलाई पढ्ने पाठक थोरै हुन्छन्। हामी तहल्का मच्चाउने 'बेस्टसेलर' किताब पनि लेख्न सक्दैनौं जसले हाम्रो जीन्दगी नै कायापलट गरिदेओस्। हामी केवल काम गर्छौं, काम गर्छौं र काम गर्छौं। एउटा सकेर फेरि अर्को किताब लेख्नुपर्छ। यही अनन्त सत्य हो। केवल अर्को किताब। म २९ वर्षको हुँदा पाँच किताब लेख्नुपरेको त्यसैले पनि हो।
मैले त्यस्तो किताब पनि लेखेँ जसबाट म खुसी भइनँ। आफ्नो लेखनको यही एक कुरा मलाई मनपर्दैन। मैले लन्डनको कथा भन्न सुरू गरेको एक किताब भारतमा आएर लेखेँ। तर फेरि म त्यो आइडियाप्रति कृतज्ञ छु किनकि त्यसले मलाई भारतमा लामो समय राख्यो। यदि मैले त्यति लेख्नुपर्ने बहाना नपाएको भए म कमसल र निराश भइसक्थेँ। त्यसकारण उक्त किताब लेखेर म लेखन यात्रामै बगिरहेँ। त्यसैले पनि ती पाँच वा छ किताबसँग मेरो लगाव छ जसलाई मैले लेखन यात्राको सुरुवातमा लेखेँ। तिनमा एक रचनात्मक लेखकको कथा छ।
यी सुरुवाती किताबदेखि लिएर र ‘मिमिक म्यान’ सम्म आइपुग्दा पनि तपाईंका हरेक किताबमा कुनै न कुनै रूपमा अस्तित्व गुम्छ कि भन्ने भय देखिन्छ। त्यो भयलाई एउटा किताबदेखि अर्को किताबसम्म पुर्याउने उत्साह वा जाँगरको स्रोत मान्नुहुन्छ?
साँचोभन्दा अस्तित्व गुम्ने भय लेखन क्षेत्रमा सामान्य नै मान्नुपर्छ। उपस्थिति सबैलाई प्यारो हुन्छ। यदि तपाईं लेख्न छोड्नुहुन्छ र यसलाई केवल पेसा वा प्रवृत्ति बनाउन खोज्नुहुन्छ भने तपाईं हराउने बेला भयो। सँगै तपाईं के गर्नुहुन्छ र आफूलाई त्यो काम गर्दा कसरी बुझ्नुहुन्छ भन्ने कुरा पनि समस्या बन्न सक्छ। मैले बुझेको अस्तित्व गुम्ने भय यही यो। सम्भवतः सबैले त्यो भय हटाउने प्रयत्न गर्नुपर्छ होला।
तपाईंको अनुभवमा आख्यान र आत्मकथामा के सम्बन्ध हुन्छ?
म यसलाई आख्यान र आत्मकथाको बीचको सम्बन्ध भन्दा पनि आख्यान र गैर आख्यान बीचको सम्बन्ध भनेर बुझ्न चाहन्छु। मलाई लाग्छ त्यसमा पनि खासै ठूलो भिन्नता छैन। दुवै तरिकाको लेखनले संसार बुझाउने प्रयत्न गर्छन्। आफूले छानेको लेखकीय विषयमाथि उज्यालो थप्न खोज्छन्। दुईमध्ये कोही पनि एकभन्दा अब्बल हैनन्।
के तपाईंलाई मानिसहरूले आफ्नो लेखनको स्वरूप र संरचनामा कम ध्यान दिएर उठाएको विषयलाई मात्र ध्यान दिएजस्तो लाग्छ? यो कुरामा वास्ता गरेकै छैनन् वा धेरै कम मात्र ध्यान दिएका छन्?
हो, उनीहरूले यो कुरामा नजर पुर्याएका छैनन्। किनकि उनीहरू अर्कै केही खोजिरहेका जहाँ दाँत गाड्न पाइन्छ। हुनसक्छ उनीहरू स्वरूपलाई मूल्यांकन गर्न असक्षम छन्। हुनसक्छ लेखकले के भन्न खोजेको बुझ्दैनन्। लेखकको गम्भीरतालाई पहिल्याउँदैनन्।
हाम्रो जस्तो सानो समाजको समस्या यही हो। यस्तो सानो समाजमा तपाईं जब लेखक बन्नुहुन्छ, किताब छाप्न धेरै मान्छेको ‘हुन्छ’ वा ’हुँदैन’ को मतबाट गुज्रिनुपर्छ। यो ठूलो समस्या हो। ८० दशकसम्म पनि यही समस्या थियो। मेरो लेखनको पहिलो २५ वर्ष यस्तै मतहरूको अँध्यारोमा गुज्रियो। रेकर्ड हेर्नुभयो भने थाहा हुन्छ, मेरो किताब पेन्गुइन बुक्सबाट धेरै पछि निस्किएको हो। किनकि आफ्ना पाठकले यस्तो कुरा पढ्छन् भन्ने उनीहरूले पहिला सोचेकै थिएनन्। अहिले बरु विश्व फेरिएको छ।
अन्तिम प्रश्न सोध्छु, नोबेल पुरस्कार पाएपछिको सम्बोधनमा तपाईंले नारायण, आफ्नो बुवा र पछि आफूलाई पनि सम्बोधन गर्दै यीसँग कुनै साँचो राजनैतिक भावना छैन र विचारधारा थिएन भन्नुभएको थियो। यति मात्र हैन एक लेखकको रूपमा आफूसँग पनि कुनै विचारधारा नभएको बताउनुभयो। तर तपाईंसँग पक्कै पनि कुनै आधार, सैद्धान्तिक दृष्टिकोण वा सन्दर्ध त हुनुपर्ने। तपाईं आफूलाई एक मानिस वा कुनै व्यक्तिको रूपमा नभई केवल एक लेखकको बोल्नुपर्दा आफूलाई निर्देशन गर्ने सिद्धान्तलाई कसरी व्याख्या गर्नुहुन्छ?
मैले यदि यो कुरा पत्तो लगाउन सक्ने र यसबारे बोल्न सक्ने भए तत्कालै एक लेखकको रूपमा मेरो अन्त्य भइसक्थ्यो। त्यसैले म यो किन गरिरहेको छु वा त्यो किन गरिरहेको छु भन्ने बारेमा जहिल्यै सोचिरहनेछु। म जे लेख्छु त्यसमा साँच्चै सत्य रहनुपर्छ भन्ने कुरा मेरो लागि महत्त्वपूर्ण छ। म मानवप्रति संवेदनशील हुनुपर्छ। मेरो कामले कोही पनि मानिसलाई दुखाउनुहुँदैन। यदि मैले लेखेको कुराबाट मानिसहरू अनौठा निष्कर्ष निकाल्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो। तर जोसेफ कनरार्डले उनको एउटा किताबको प्रिफेसमा लेखेजस्तै सबै कुराको बिन्दु भनेको नैतिक बिन्दु नै हो। यदि लेखनमा नैतिक कारण छैन भने त्यो लेखन बेकार हुन्छ।