बलिउड स्टार आमिर खान र जायरा वसीमको फिल्म 'सिक्रेट सुपरस्टार'लाई अजय देगवनको फिल्म 'गोलमाल अगेन'ले उछिनेको छ।
१९ अक्टोवरमा रिलिज भएको फिल्म 'सिक्रेट सुपरस्टार' ले शुरुवाती व्यापार राम्रो गर्न सकेको छैन। शुभ दिपावलीको अवसरमा विहिबार रिलिज भएको फिल्मले पहिलो दिन ४.९ करोड भारतीय रुपैयाँ व्यापार गरेको थियो। फिल्मको दोस्रो दिन व्यापार दुईगुना हुँदै ९.३० करोड भारतीय रुपैयाँको कारोवार भएको थियो। यसैगरि शनिबार फिल्मले ८.६५ करोड भारतीय रुपैयाँको कारोबार गरेको छ। यो सँगै फिल्मको ३ दिनको टोटल कलेक्शन २२.७५ करोड भारतीय रुपैयाँ भएको छ।
'सिक्रेट सुपरस्टार'लाई दर्शकले विस्तारै साथ दिएका छन्। फिल्ममा जायरा वसीमको भूमिकालाई दर्शकले निकै मन पराएका छन्।
यसैगरि अक्टोवर २० मा रिलिज भएको अजय देगवन अभिनित फिल्म 'गोलमाल अगेन'ले दर्शकलाई हसाउन सफल भएको छ।
कमेडी फिल्ममा अभिनेता अजय देगवन, जोनी लिभर, अरसद वारसी, परिणीति चोपडाको अभिनयले दर्शकहरु निकै प्रभावित भएका छन्। साथै यस फिल्मले पहिलो दिनमै राम्रो व्यापार गरेको छ।
दिपावलीको अवसरमा रोहित शेट्टी निर्देशित फिल्म 'गोलमाल अगेन'को पहिलो दिनको कमाई नै ३० करोड भारतीय रुपैयाँ पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्मको दोस्रो दिनको कमाई करीब २९ करोड भारतीय रुपैयाँ छ।
यसरी दुई दिनमा फिल्म 'गोलमाल अगेन'ले ५९ करोड भारतीय रुपैयाँ कमाएको छ।
आफ्नो कामलाई निकै उत्कृष्ट ढङ्गबाट गर्न माहिर आमिरलाई फिल्म 'सिक्रेट सुपरस्टार' निर्माण गर्न निकै चुनौतीपूर्ण थियो। आमिर खानको प्रोडक्सनको फिल्म भएर दर्शकले निकै प्रतिक्षा गरेका थिए।
फिल्म रिलिजको शुरुवाती दिनमा फिल्मले निकै न्यून व्यापार गरेको थियो भने अब विस्तारै यस फिल्मको व्यापारले गति लिएको छ।
केही कारणवस 'सिक्रेट सुपरस्टार' फिल्म निर्माण पक्षले फिल्म दिपावलीको दिन रिलिज गर्ने निर्णय गरेको थियो। जसबाट फिल्मको पहिलो दिनको कमाई सोचेको भन्दा निकै कम भयो। तर अब चाडपर्व सकिएसँगै दर्शकहरु फिल्म हेर्न हलमा पुग्न थालेका छन्।
फिल्ममा जायराले एक १५ वर्षीया बालिकाको भूमिका निर्वाह गरेकी छन्। जो गायिका बन्न चाहन्छिन्। उनलाई गीत गाउन मन पर्छ तर उनको पिता यो सबबाट उनलाई टाढा राख्न चाहन्छन्। उनको पिताले घरको कोही सदस्यलाई पनि संगीत क्षेत्रमा जान अनुमति दिँदैनन्। एक दिन त ती बालिकाको गितार नै बुवाले फुटाइदिन्छन् । तर उनी हार मान्ने खालकी हुन्नन् र आफ्नो गीत यूट्यूबमा हाल्छिन्। उनी रातारात सुपरस्टार बन्छिन्।
फिल्ममा आमिर खान ती बालिकाको गुरुको रुपमा विषेश भूमिकामा छन्।
यसैगरि अजय देवगन, परिणीति चोपड़ा, तब्बू, तुषार कपूर, श्रेयस तलपड़े र अरद वारसीको मुख्य भूमिका रहेको 'गोलमाल अगेन'ले आइतबार पनि दुई दिनको भन्दा धेरै व्यापार गर्न सफल हुने निर्माण पक्षले जनाएको छ।
३ वटा सिक्वेल नै सुपरहिट भएपछि रोहित शेट्टीले 'गोलमाल अगेन'को यो चौंथो भाग निर्देशन गरेका हुन्। जसलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरेका थिए। फिल्म बितरकले भने यस फिल्मको कमाइ अझै बढ्ने र एक सय करोडमा सामेल हुने विश्वास व्यक्त्त गरेका छन्।
'सिक्रेट सुपरस्टार'ले भने सुरुवाती समयमा राम्रो प्रभाव पार्न नसकेपनि निर्माण पक्ष र शुभचिन्तक अझै आशावादी छन्।