बलिउड अभिनेत्री रानी मुखर्जीको पिता तथा फिल्म मेकर राम मुखर्जीको निधन भएको छ। उनको आइतबार विहान ४ बजे मुम्बईको एक अस्पतालमा निधन भएको जनाइएको छ। राम मुखर्जी लामो समयदेखि विरामी भएको बताइएको छ।
उनको रक्तचाप लगातार घटेपछि अस्पताल भर्ना गरिएको थियो। राम मुखर्जी ८४ वर्षका थिए। अन्तिम पटक उनलाई रानीको घरमा राखिएको दुर्गा पुजामा देखिएको थियो।
राम मुखर्जी बलिउडको प्रख्यात निर्देशक, निर्माता र लेखक हुन्। उनको पिता रवीन्द्र मोहन मुखर्जी हिमालया स्टुडियोको फाउण्डर सदस्यमध्ये एक थिए।
राम मुखर्जीको पार्थिव शरीर अस्पतालबाट १० बजे उनको जुहूस्थित घर जानकी कुटीरमा लगिएको थियो। उनको अन्तिम संस्कार पनि गरिसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
राम मुखर्जीले सन् १९९६ मा छोरी रानी मुखर्जीको डेब्यू बंगाली फिल्म 'बियेर फूल' को निर्देशन गरेका थिए।
यसपछि १९९७ मा रानी मुखर्जीले 'राजा की आएगी बारात'बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यस फिल्मलाई राम मुखर्जीको होम प्रोडक्सनको ब्यानरबाट निर्माण गरिएको थियो।
मुखर्जीले कयौं बंगाली फिल्म निर्देशन गरेका छन्।
राम मुखर्जीले गायिका कृष्णा मुखर्जीसँग विवाह गरेका थिए। दुईको दुई जना छोराछोरी छन्। रानी मुखर्जी र राजा मुखर्जी। रानीले फिल्म निर्माता र निर्देशक आदित्य चोपडासँग विवाह गरेकी छन्।