भारतको बम्बई उच्च अदालतले अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुन्द्रालाई विदेश भ्रमण गर्नमा बाधा हालेको छ।
उच्चले उनीहरूलाई विदेश भ्रमण गर्ने भए पहिले अदालतमा ६० करोड भारतीय रूपैयाँ जम्मा गर्न निर्देशन दिएको हो।
यो आदेश शिल्पा र राजले आफूहरू विरूद्ध जारी 'लुकआउट सर्कुलर (एलओसी)' रद्द गर्न दायर गरेको निवेदनपछि आएको हो।
उनीहरूविरूद्ध ६० करोड भारूको ठगी गरेको आरोपमा एफआइआर दर्ता भएको थियो। त्यसै क्रममा एलओसी जारी भएको थियो। यसविरूद्ध कुन्द्रा दम्पतीले निवेदन दिएको थियो।
तर अदालतले उनीहरूले पहिले ६० करोड भारू बुझाए मात्र विदेश जान दिने बताएको हो।
यही अगस्टमा दीपक कोठारी, लोटस क्यापिटल फाइनान्सियल सर्भिसेज लिमिटेडका निर्देशक लगायतले शिल्पा शेट्टी र राज कुन्द्राविरूद्ध ६० करोड भारूभन्दा बढी ठगी गरेको उजुरी दिएका थिए।
सेप्टेम्बरमा आर्थिक अपराध शाखाले दम्पतीविरूद्ध एलओसी जारी गरेको थियो। यसले उनीहरूलाई पूर्वअनुमति बिना देश छोड्न नदिएको हो।
गत हप्ता, आर्थिक अपराध शाखाले शिल्पा शेट्टीसँग चार घन्टाभन्दा बढी समय सोधपुछ गरेको थियो। यद्यपि उनको संलग्नता कस्तो छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।