दिग्गज भारतीय अभिनेता अनुपम खेरको फिल्म 'तन्वी द ग्रेट' ब्लकबस्टर 'सैयारा' सँग एकैसाथ गत जुलाई १८ मा रिलिज भएको थियो।
मोहित सूरीद्वारा निर्देशित 'सैयारा’ व्यावसायिक रूपमा ठूलो सफल भयो, जसले विश्वभर करिब ५६९.७५ करोड भारू कमायो।
यसको विपरीत, अनुपमको आफ्नै लेखन तथा निर्देशन रहेको फिल्म 'तन्वी द ग्रेट' ले विश्वव्यापी रूपमा लगभग २.५४ करोड भारू मात्रै कमाइ गर्यो।
आफ्नो महत्वाकांक्षी प्रोजेक्ट 'तन्वी द ग्रेट' बक्स अफिसमा सफल हुन नसक्नुको कारणबारे अनुपमले हालसालै आफ्नो कुरा राखेका छन्।
द इन्डियन एक्सप्रेसको एक्सप्रेसोको पछिल्लो संस्करणमा बोल्दै अनुपमले दुई फिल्मको रिलिजको समयका कारण वर्षौंको कडा परिश्रमपछि पनि आफ्नो फिल्म छायामा परेको बताए।
उनले भनेका छन्, 'मैले 'तन्वी द ग्रेट' मा चार वर्ष काम गरें-एक वर्ष लेखनमा, एक वर्ष संगीतमा। मैले आफैंले फिल्म लेखेको र निर्देशन गरेको हुँ। हामीले यसलाई यशराज फिल्म्सको 'सैयारा' सँगै एकै दिन रिलिज गर्यौं, र यो पूरै फ्लप भयो। यो मेरा लागि मात्र होइन, मैले मेरो अभिनय स्कूलबाट लिएको नयाँ कलाकार र फिल्ममा काम गर्ने करिब २०० जनाका लागि पनि गहिरो निराशाजनक थियो।'
'तन्वी द ग्रेट' ले रिलिजको एक महिना अघि फिल्मका फाइनान्सर अप्रत्याशिल रूपमा गायब भएपछि ठूलो आर्थिक झट्का समेत बेहोरेको थियो। त्यसपछि अनुपमले साथीहरूको सहयोग मागेँ, र उनीहरूले अन्तिम चरणको लागि आर्थिक सहयोग गरेको अनुपमले बताएका छन्।
यो फिल्म कान्स फिल्म फेस्टिभलमा पनि प्रदर्शन गरिएको थियो, जहाँ राम्रो प्रतिक्रिया पाएको थियो। अनुपमका अनुसार यो फिल्म भारतका राष्ट्रपतिलाई पनि देखाइएको थियो।
यी उल्लेखनीय उपलब्धिहरूको बाबजुद, फिल्मले थिएटरमा दर्शकहरूलाई आकर्षित गर्न संघर्ष गर्यो।
अनुपमले भनेका छन्, 'सबै कुरा सही ट्र्याकमा थियो, तर दर्शकहरूलाई प्रेम कहानी चाहिएको थियो। र, यो स्वाभाविक पनि थियो।'
'युवा प्रेम कहानी लामो समयदेखि आएको थिएन, र यहाँको प्रणालीले काम गर्ने तरिका अनुसार, यदि तपाईंको फिल्म ४०० थिएटरमा छ भने पनि यदि अर्को फिल्म राम्रो गरिरहेको छ भने, तपाईंको फिल्म हटाइन्छ।'
कुन फिल्मको सफलतालेसबैभन्दा बढी अचम्ममा पार्यो भनेर उनलाई सोध्दा, अनुपमले 'सैयारा' को नाम लिए।
'आदित्य चोपडा पनि छक्क परे होलान्। सबै जना छक्क परेका थिए। तर ठीकै छ। म आभारी छु कि आदित्य र यश चोपडा मेरा लागि परिवारजस्तै हुन्। म उनीहरूसँग सिनेमामा हुर्किएँ। यदि यो अरू कसैको फिल्म भएको भए, अझ बढी पीडा हुन्थ्यो,' अनुपमले भनेका छन्।