बरिष्ठ लोक गायक अमर बिरही गुरुङले एकल साँझ गर्ने भएका छन्। तमु गुरुङ कलाकार संघको आयोजनामा भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान हुने एकल साँझमा उनले आफ्ना गीतहरु प्रस्तुत गर्नेछन्।
चार दशक भन्दा लामो सांगीतिक यात्रा गरेका अमरका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौँ सिंह दरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुरति लगाएत दर्जनौ गीतहरु नेपाली संगीत बजारमा लोकप्रीय रहेका छन्।
राष्ट्रिय लोक दोहोरि गीत प्रस्तिष्ठान नेपाल उपत्यका समन्वय समिति र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रीय परिषदको बिशेष सहयोगमा हुने कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रमका प्रचार प्रसार प्रमुख गणेश गुरुङले जानकारी दिएका छन्।
लमजुङको घनपोखरामा जन्मेका अमरले गोरखा दक्षिणबाहु चौथो, विभिन्न उच्च स्तरको राष्ट्रिय अभिनन्दन तथा विभिन्न राष्ट्रिय स्तरको लोक दोहोरि गीतहरुमा प्रथम स्थान हँसिल गरिसकेका छन्। उनी राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठानको संस्थापक सदस्य हुन्।
नेपाली लोक(संस्कृति र कला सास्कृतिको जगेर्नाका लागि एकल साँझ कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए।