अनमोल केसीको शीर्ष अभिनय रहने फिल्म 'बाटुलो जून' को शुभसाइत गरिएको छ।
शुक्रबार पाटनस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भुवन केसीले निर्देशन गर्दैछन्।
फिल्म 'ड्रिम्स' रिलिजको करिब १० वर्षपछि भुवन केसी यसै फिल्म मार्फत निर्देशनमा फर्किएका हुन्। फिल्ममा अनमोललाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र न्यान्सी खड्काले साथ दिनेछन्।
भुवन केसी स्वयं पनि मुख्य भूमिकामा देखिने फिल्ममा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहनेछ।
निर्देशक भुवन केसीका अनुसार ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा फिल्म आधारित हुनेछ।
निर्मात्री जिया केसीले दर्शकले अनमोललाई यसअघि देखेभन्दा फरक लुक्स र अवतारमा देख्न पाउने बताइन्।
उनले भनिन्, 'यो फिल्म नेपाली समाज, हरेक परिवार र पछिल्लो पुस्ताका युवायुवतीहरूको आफ्नै कथा बन्नेमा हामी विश्वस्त छौं।'
फिल्म निर्माणमा जियासँगै अहिले प्रदर्शनरत सुपरहिट फिल्म 'जेरी अन टप' की निर्मात्री भविष्य खड्काले साझेदारी गरेकी छन्। खड्काले उत्कृष्ट फिल्म निर्माणका लागि लगानीमा कुनै सम्झौता नहुने बताइन्।
अभिनेता अनमोल केसीले आफ्ना बुवा भुवन केसीले विगतमा 'चिनो', 'सम्झना' र 'कुसुमे रूमाल' जस्ता फिल्ममा निर्वाह गरेको भूमिका र लुक्ससँग आज आफूलाई दाँज्दै, बुवाकै विरासत धान्ने गरी यो फिल्ममा जोडिएको बताए। उनले यस फिल्ममा आफ्नो बोली र भाषाशैली फरक हुने जानकारी दिँदै सम्पूर्ण टिमको मिहिनेतले पात्रलाई न्याय गर्ने र फिल्म उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे।
त्यस्तै, अभिनेत्रीद्वय प्रिन्सी र न्यान्सीले आफूहरू अनमोलको प्रशंसक रहेको बताउँदै उनीसँग स्क्रिन सेयर गर्न पाउनुलाई गर्व र सिकाइको अवसरका रूपमा लिएको बताए।
पहिलो चरणमा ४५ दिनको छायांकन तालिका बनाइएको यो फिल्म काठमाडौं, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा खिचिनेछ। फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी हुन्।
सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, रेनशा वान्तवा राईको कोरियोग्राफी र प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रूपमा रहनेछन्।
तस्बिरहरूः उद्धव रसाइली

