अभिनेता सौगात मल्लको मुख्य भूमिका रहने फिल्म 'बब डाई' को छायांकन सुरू भएको छ। रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो फिल्मको शुभमुहूर्तसँगै यसै साताबाट छायांकन थालिएको हो।
काठमाडौंको चन्द्रागिरीबाट सुरू भएको छायांकन तालिका ४५ दिनको तोकिएको छ। यो अवधिमा काठमाडौंको कीर्तिपुर तथा चन्द्रागिरी आसपासका क्षेत्रमा छायांकन गरिने निर्माण टोलीले जनाएको छ।
फिल्मको निर्देशन प्रबिन श्रेष्ठले गरिरहेका छन्। यसअघि फिल्म 'मोक्ष' निर्देशन गरेका श्रेष्ठले करिब १२ वर्षपछि निर्देशनमा पुनरागमन (कमब्याक) गरेका हुन्।
निर्देशक श्रेष्ठका अनुसार 'बब डाई' को कथा कीर्तिपुरको परिवेशमा आधारित हुनेछ।
फिल्मको नामबारे प्रष्ट्याउँदै निर्देशक श्रेष्ठ भन्छन्, 'खासमा बब डाई भनेको 'बब दाई' हो। नेवारी लवजमा 'दाई' लाई 'डाई' उच्चारण गरिने भएकाले फिल्मको नाम नै त्यसरी राखिएको हो।'
फिल्ममा सौगात मल्ल शीर्ष पात्र अर्थात् 'बब डाई' को भूमिकामा देखिनेछन्।
फिल्ममा सौगातका साथै सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितको अभिनय रहनेछ।
फिल्मको कथा मैनिषा गौचन र निर्देशक प्रबिन श्रेष्ठले तयार पारेका हुन्। श्याम तामाङको टोलीले छायांकन गर्ने यस फिल्मको सम्पादन पनि निर्देशक श्रेष्ठले नै गर्नेछन्।
फिल्ममा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेका छन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन्।
फिल्मको प्रदर्शन मिति भने पछि तय गरिने जनाइएको छ।