युवाकवि भविन लिम्बू आफ्नो कविता सङ्ग्रह 'छायाँ' लिएर पाठकमाझ आएका छन्। उनको कविता संग्रह शुक्रबार प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरे।
उपकुलपति घिमिरेले भविनले कवितामा नयाँपन र नयाँ शैली भित्र्याएको भन्दै आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिने बताए। मदनपुरस्कार विजेता निबन्धकार नयाँघरेले भविनका कविताले देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको बताए।
उनले भने, 'सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति 'छायाँ' हो।' समालोचक पौडेलले छायाँमा कविताको मौलिक स्वाद रहेकोमा जोड दिए भने लेकालीले कलाको बेजोड प्रस्तुती रहेको बताए। लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन्।
'छायाँ' भविनको दोस्रो कृति हो। यसअघि उनको 'हङकङ चसमिस' कविता सङ्ग्रह आइसकेको छ।