अविरल वर्षा तथा बाढीका कारण मुलुकको तराइमा जनधनको क्षति बढ्दो क्रममा छ। बाढीले तराइका जनताको न्यानो लुगा, पानी, औषधि, र बस्नका लागि स्थानको अभावको अवस्थालाई मध्यनजर गर्दै चलचित्र निर्माण कम्पनिहरू ‘जि टु वान पिक्चर्स’ र ‘ब्ल्याक हर्स पिक्चर्स’ले आफ्नो सहयोगको हात अगाडि बढाएका छन्।
मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवा कम्पनिसँग सहकार्य गरी निर्देशक निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन्।
अभियानमा दुबै निर्देशकले आफ्नो तर्फबाट ५०–५० हजार रुपैयाँको सहयोग प्रदान गरेका छन्। यसैगरि सहयोग गर्ने कम्पनि इ–सेवाले पनि नगद् २ लाख रुपैयाँ योगदान गरेको छ। साथै इ–सेवाका कर्मचारीहरूका तर्फबाट १ लाख ५१ हजार रुपैयाँ पनि सहयोग भएको छ। यसरी जम्मा रकम लाख ५१ हजार रुपैयाँबाट यो अभियानको सुरुवात भएको छ।
निर्देशक निश्चल बस्नेतले तराईका जनताको जनजीवन व्यवस्थित गर्न मद्दत पुग्ने विश्वासले यो अभियान चलाएको बताए।
उनले भने,‘अहिले तराईको भूभागको अवस्था यस्तो भएको बेलामा सकेसम्म आफू नै त्यहाँ पुगेर नै सहयोग गर्नु ठूलो हो। तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि हाम्रो यो अभियानले घर–घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ।’
यो अभियानबाट उठेको रकम पीडितको राहतमै प्रयोग गरिने कलाकार आशिफ शाहले जानकारी दिँदै भने,‘यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्नेछैनौ र सम्पूर्ण नै राहतको कार्यमा नै प्रयोग गर्नेछौँ। यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै इ–सेवाको डोनेसन खण्डमा हेर्न पनि सकिनेछ।’
यो अभियानमा सर्वसाधारणले आफ्नो मोबाइलबाट नै रकम योगदान गर्न सकिने प्रावधान छ ।
donation.esewa.com.np मा गएर रकम योगदान गर्न इच्छुक इ–सेवाका ग्राहकले आफूले चाहेको रकम, नाम, ठेगाना, र मोबाइल नम्बर प्रदान गरी रकम योगदान गर्न सकिन्छ ।
इ–सेवाको अकाउन्ट नभएकाहरूले भने आफ्नो मोबाइलको मोबाइल ब्याङ्किङ एपमा रहेको 'फोन पे' विकल्पमा
helpterai कोड प्रयोग गरेर पनि रकम योगदान गर्न सकिन्छ ।
देशभरि रहेका इ–सेवाका एजेन्टहरूमा रकम प्रदान गरी यो अभियानमा सहयोग पुर्याउने प्रावधान पनि छ ।
विदेशमा रहेका नेपालीहरूले यो अभियानमा सहयोग गर्नका लागि ९७७ ९८६८८४२१२१ मोबाइल नम्बरमा भाइबर गरी रकम योगदान गर्ने जानकारी लिन सक्नेछन्। ।
यो अभियानका बारे थप जानकारी लिनका लागि
esewa.com.np वा टोल फ्रि नं. १६६० ०१० २१२१ मा सम्पर्क गर्न सकिन्छ।