करिब तीन दशकदेखि नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको कथामा बनेको फिल्म ‘देश खोज्दै जाँदा’ अमेरिकाको मस्टर्डसिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको छ। अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा तीन दिनसम्म चल्ने फेस्टिभलमा नेपालबाट एउटा मात्र फिल्मले प्रतिनिधित्व जनाएको छ।
अगस्ट १९ का दिन बिहान १० बजे देश खोज्दै जाँदा प्रदर्शन हुने निर्देशक प्रकाश आङ्देम्बेले जानकारी दिए। फेस्टिभलमा फिल्मका तर्फबाट कला निर्देशक प्रल्हाद गुरुङले सहभागीता जनाउनेछन्। यसअघि दादा साहेब फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्मले अमेरिका तथा अष्ट्रेलियाका करिब आधा दर्जन युनिभर्सिटीमा प्रदर्शनको मौका पाइसकेको छ।
भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषयलाई कथालाई केन्द्रमा राखेर तयार पारिएको फिल्ममा फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मीना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापालगायतले अभिनय गरेका छन्। निर्देशक आङ्देम्बेकै कथामा बनेको फिल्मको पटकथा कथाकार, कवि तथा पटकथाकार उपेन्द्र सुब्बाले तयार पारेका हुन्।
फिल्ममा कवि तथा गीतकार श्रवण मुकारुङको गीत समावेश गरिएको छ। आभाषको संगीतमा तयार गीतमा स्वरुपराज आचार्यको स्वर सुन्न सकिन्छ।