लगातार वर्षाको कारण मुलुकभरको विभिन्न स्थानमा बाढीले निकै धनजनको क्षति भयो।
विषेशतः तराईका जिल्लमा बाढीले धेरै क्षति बनायो। बाढीले कयौंको मृत्यु हुनुको साथै कतिको घरगोठ सबै बगाएपछि मानिसहरु विस्थापित भएका छन् भने उनीहरुको उद्दार र राहतमा सरकारी पहल प्रभावकारी हुन सकेको छैन।
विपतको समयमा बाढी पीडितको गाँस, बास, कपास र सुरक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्न सरकारलाई चौतर्फी रुपमा दवाव छ। सरकाले व्यत्तिगत रुपमा आफुखुसी बाढीपीडितलाई सहयोग नर्गन अंकुस लगाउन खोजेको छ।
तर मुलुकमा यति ठुलो विपत आइपर्दा समाजप्रति केही गर्नुपर्छ भन्ने कलाकारहरु बाढीपीडितको सहयोगका लागि आफै लाग्न थालेका छन्।
भुकम्पपछि ३ वटा नमुना बस्ती बनाएका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बाढीपीडितको सहयोगार्थ उनी आफै तराईका जिल्लामा राहतका सामाग्री लिएर गएका छन्।
उनले तराइका विभन्न जिल्ला महोत्तरी, धनुषा, सिरहा, सप्तरी हुँदै झापासम्म पुगेर बाढीपीडितको उद्दारमा आफैँ खटिए।
सोमबार उनले आफ्नो फेसबुक अकाउण्टमा केही तस्वीर अपलोड गर्दै स्टाटस मार्फत आफु पुगेको ठाउँ सप्तरी जिल्लाको अवस्थाको बारेमा बर्णन गरेका छन्।
उनले लेखेका छन्,‘न खाने गाँस छ न त बस्ने बास छ। सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन। निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो। हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पुर्याउन निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुश्किलले राहत प्रदान गरियो।’
उनले आफ्नो फाउण्डेसनबाट पनि सबैसामु सहयोगको अपिल गरेका थिए। उनको फाउण्डेसनमा सहयोग गर्नेहरु पनि बढ्दै गएका छन्।
प्रकोपस्थलमै गएर पीडितको उद्दार र मद्दत गर्न खटिएका सिताराम जस्तै अन्य कलाकारले पनि बाढीपीडितको उद्दार र सहयोगमा अपिल गर्दै आफ्नो तर्फबाट सहयोगको घोषणा गरेका छन्।
कलाकार दिपक राज गिरीले बाढी प्रभावित जनताको उचित व्यवस्थापन गर्न एमआरआर समुहको माध्यमबाट नगद १ लाख सहयोग गर्ने घोषणा गरेका छन्। यसैगरि नायिका पुजा शर्माले पनि बाढीपीडितको लागि व्यक्तिगत रुपमा एक लाख रुपैया सहयोग गर्ने घोषाणा गरेकी छन्। उनले आफुले उनीहरुको लागि लत्ता कपडा र खानको व्यवस्था गर्न पनि लागी परेको फेसबुकमार्फत जानकारी दिएकी छन्।
यसैगरि निर्देशक दिपा श्री निरौलाले पनि मोरङ समाजको माध्यमबाट नगद ५१ हजार र अभिनेत्री प्रियंका कार्कीले पनि नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्दता जनाएकी छन्।
चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ।
यसैगरि कलाकार मनोज गजुरेलले पनि आफ्नो तर्फबाट बाढीपीडितको लागि व्यक्तिगत २० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन्।
देश तथा विदेशबाट सहयोग गर्ने कलाकारको संख्या बढ्दो छ।
हास्य अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले बाढीपीडितको लागि एक लाख नगद सहयोग गर्ने बताएका छन्। अन्य कलाकारहरुले सके नगद दिने नसके सरकालाई उद्दारको लागि आग्रह गर्दै गरेका छन्।