सुपरहिट नेपाली फिल्महरू 'जेरी अन टप' र 'परान' अब मलेसियामा पनि प्रदर्शन हुने भएका छन्। नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भएका यी फिल्मको मलेसिया प्रदर्शन तय भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक एवं व्यवसायी हरि भट्टराईले 'माइ होलिडे ट्राभल एण्ड टुर' कम्पनीमार्फत यी दुवै फिल्मको मलेसिया प्रदर्शन अधिकार खरिद गरेका हुन्। भट्टराईका अनुसार यही डिसेम्बर १३ देखि 'जेरी अन टप' र जनवरीमा ‘परान’ रिलिज हुनेछ।
मलेसियाका मुख्य सहरहरूमा फिल्महरू बक्स अफिसमै रिलिज हुन लागेको उनले बताए। नेपालीहरूको बाहुल्य रहेका अन्य स्थानमा पनि सहजता हेरेर फिल्म प्रदर्शन गरिने उनले जानकारी दिए।
हाल मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत छन्। विगतमा पनि नेपाली फिल्म र कला–संस्कृतिलाई माया गर्दै आएका मलेसियावासी नेपालीले यसपटक पनि सोही प्रकारको माया दर्शाउने र फिल्म सफल हुने विश्वास भट्टराईले व्यक्त गरे।
सुयोग गुरूङ निर्देशित फिल्म 'जेरी अन टप' ले नेपालमा १२ करोड २५ लाख रूपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। अनमोल केसी, आँचल शर्मा, जसिता गुरूङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतको अभिनय रहेको फिल्मले शनिबार मात्रै ५१ औं दिन मनाएको थियो।
त्यसैगरी, दीपक आचार्य निर्देशित 'परान' ले १६ करोड १६ लाख रूपैयाँमाथिको व्यापार गरिरहेको छ। अझै पनि राम्रो शोसहित प्रदर्शनरत यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, प्रविण खतिवडा, केकी अधिकारीलगायत कलाकारहरूको अभिनय छ।