अभिनेत्री पूजा शर्मा शनिबार वैवाहिक जीवनमा बाँधिइन्।
उनले आफ्ना प्रेमी युद्ध बानियासँग लगनगाँठो कसेकी हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पूजा र युद्धको विवाह समारोह भक्तपुरको साँगास्थित 'फर्च्यून रिसोर्ट' मा आयोजना गरिएको थियो। विवाह समारोहमा दुवै पक्षका आफन्त, साथीभाइ, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रह्यो।
हेलिकप्टरबाट 'पुष्पवृष्टि' को चर्चा
पूजा र युद्धले आफ्नो विवाहलाई उत्सवमय बनाउन कुनै कसर बाँकी राखेनन्। विशेषगरी, विवाह चलिरहेको समयमा हेलिकप्टरबाट गरिएको 'फूलको वर्षा' को दृश्य यतिबेला सर्वाधिक चर्चामा छ। स्वयंवरका क्रममा बेहुला-बेहुलीले औंठी साटासाट गरे लगत्तै हेलिकप्टरमार्फत आकाशबाट फूल बर्साइएको थियो।
यसअघि नेपाली सेलिब्रेटीहरूको विवाहमा हेलिकप्टरको प्रयोग गरिएको समाचारहरू आए पनि हेलिकप्टरबाटै 'पुष्पवृष्टि' गरिएको दृश्य भने सम्भवतः यो पहिलो पटक हो।
शनिबारदेखि नै सामाजिक सञ्जालमा यसका भिडियोहरू भाइरल भइरहेका छन्। बेहुला वा बेहुली कुन पक्षबाट यो व्यवस्थापन गरिएको हो भन्ने खुलाइएको छैन।
को-को पुगे सेलिब्रेटी?
विवाह समारोहमा फिल्म क्षेत्रका चर्चित कलाकारहरूको उपस्थिति रह्यो। अभिनेता राजेश हमाल पत्नी मधु भट्टराईसँगै विवाहस्थल पुगेर नवदम्पतीलाई बधाई दिए।
त्यस्तै, विवाहमा अभिनेत्रीहरू रेखा थापा, निरूता सिंह, झरना थापा, श्वेता खड्का, केकी अधिकारी, वर्षा राउत, सृष्टि श्रेष्ठ, रेजिना उप्रेतीलगायतको उपस्थिति थियो।
यसका साथै जितु नेपाल, राजाराम पौडेल, किरण केसी, प्रताप दासलगायतका कलाकारहरू विवाहमा सरिक भएर शुभकामना व्यक्त गरे।
फिल्म 'थ्री लभर्स' बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी पूजा 'प्रेम गीत' फिल्मबाट चर्चामा आएकी थिइन्। उनले झन्डै डेढ दर्जन फिल्ममा अभिनय गरेकी छन्।
फिल्म 'म यस्तो गीत गाउँछु २' पछि पूजाले व्यवसायी युद्धसँगको प्रेम सम्बन्धलाई खुलाउन थालेकी थिइन्।