'कमेडी च्याम्पियन' को दोस्रो शृंखलाका विजेता भरतमणि पौडेल पछिल्ला वर्ष दमदार र रोचक पात्रमार्फत दर्शकको मन जितिरहेका कलाकार हुन्।
पूर्वयुवराज पारस शाहको चरित्र निर्वाह गरेर लोकप्रियता कमाएका भरतमणिले 'कमेडी नाइट्स विथ च्याम्पियन' मा घरबेटी–माइकलको चर्चित जोडीमध्ये 'घरबेटी' का रूपमा अझै बलियो पहिचान बनाइरहेका छन्।
अब उनी दर्शकले अहिलेसम्म नदेखेको नयाँ पात्र 'विज्ञान' मार्फत फरक स्वाद पस्कने तयारीमा छन्।
कमेडी च्याम्पियन बनेयताको जीवनयात्रा, उनले निर्वाह गरेका विविध भूमिका, हाल चर्चामा रहेको 'कमेडी नाइट्स विथ च्याम्पियन' शृंखलामा देखिएको पात्र लगायत विषयमा भरतमणिसँग गरिएको कुराकानी —

कमेडी च्याम्पियनको दोस्रो शृंखला जितेपछि तपाईंको जीवन र करिअरमा आएको सबभन्दा ठूलो परिवर्तन के हो?
परिवर्तन त आएको छ, नआएको होइन। तर म स्वयं उही नै छु। मेरो सोच, मेरो शैली, मेरा साथीभाइ सबै उही छन्। फरक यति मात्र भयो, पछिल्लो समय मैले देश–विदेश घुम्ने अवसर पाएँ। धेरै ठाउँका खानाको स्वाद चाख्न पाएँ। मन पराउने र साथ दिने मानिसहरूको संख्या उल्लेख्य रूपमा बढ्यो। दर्शकले देखाएको माया र विश्वास नै मेरा लागि सबैभन्दा ठूलो परिवर्तन र आशीर्वाद हो।
तपाईंको असाध्यै चर्चित भएको पूर्वयुवराज पारस शाहको चरित्र कसरी जन्मियो? यो पात्र बनाउँदा र बन्दा कस्तो दबाब र अपेक्षा थियो?
पूर्वयुवराज पारस शाहप्रति म पहिलेदेखि नै सम्मान, जिज्ञासा र फ्यानभाव राख्ने मान्छे हुँ। उहाँजस्तो राजपरिवारको सदस्यले पनि साधारण जीवनशैली अपनाएको देखेर निकै प्रभावित हुन्थेँ। त्यही भएर उहाँको हिँडाइ, बोलाइ, हाउभाउ ध्यानपूर्वक अध्ययन गर्न थालेँ। पछि त्यो चरित्रको अभिनय साथी सुमन कोइराला (माइकल) लाई देखाएँ। उहाँले त्यसलाई अझ शुद्ध र परिस्कृत बनाउन ठूलो मद्दत गर्नुभयो।
दबाब चाहिँ थियो, किनकि त्यो चरित्र निर्वाह गर्नु अत्यन्तै संवेदनशील थियो। तर कुनै गलत सोच नराखेको हुँदा डर भएन। पछि जब मैले पूर्वयुवराजलाई भेटेँ, त्यही क्षणबाट सबै दबाब हराउँदै गए।
त्यो चरित्र सर्वाधिक हिट भएपछि पारससँग भेट नै भएको रहेछ, के प्रतिक्रिया थियो उहाँको?
हो, दरबारमार्गको एउटा क्याफेमा हाम्रो भेट भएको थियो। हामी झन्डै एक घन्टाभन्दा बढी सहज रूपमा कुरा गर्दै बस्यौं। मनमा उत्साह थियो, किनकि म धेरै समयदेखि उहाँको फ्यान थिएँ। भेटेपछि यस्तो लाग्यो— मानौं कुनै पुरानो साथी भेटेँ। उहाँको सरलता, शालीनता, देशप्रेम, सामाजिक विषयप्रति चासो; यी सबैले उहाँप्रतिको सम्मान अझ ठूलो बनाइदियो। उहाँको व्यवहार अत्यन्त मित्रतापूर्ण र प्रेरणादायी रह्यो।
अहिले तपाईंको घरबेटी पात्र असाध्यै मन पराइएको छ, यो पात्र कसरी तयार भयो? यसमा सबभन्दा कठिन पक्ष कुन थियो?
घरबेटी र माइकल दुवै पात्रलाई अत्यन्त मन पराइदिनुभएकोमा दर्शकलाई धेरै धन्यवाद दिन चाहन्छु। यसको श्रेय साथी सुमन कोइरालालाई पनि जान्छ। हामीले आफ्नो मिहिनेत र तयारीमा कुनै सम्झौता गरेनौं। नयाँ पात्र बनाउँदा वास्तविकता, जीवन्तता र विश्वास दिलाउन सक्ने गुणमा हामी विशेष ध्यान दिन्छौं। त्यसैले यी दुवै पात्र एकअर्काको उपस्थितिबिना अधुरा छन्।
घरबेटी पात्र तयार गर्दा भने ठूलो चुनौती थियो। उमेर, भाषा, शारीरिक चालढाल, बोल्ने शैली, पहिरन; सबै क्षेत्रमा अभ्यास र परिमार्जन गरेपछि मात्र त्यो रूप, आवाज र हास्यको आत्मा भेटियो। त्यही भएर माइकल र घरबेटी दुवैले एकअर्कालाई पूरा अर्थमा न्याय दिएको हामीले महसुस गरिरहेका छौं।

तपाईं अब दर्शकमाझ 'विज्ञान' नामको नयाँ पात्रका रूपमा देखिँदै हुनुहुन्छ। यो पात्र कसरी कल्पना गर्नुभयो?
'विज्ञान' पात्र तयार पार्दा मेरो दिमागमा एक ३३ वर्षीय युवाको परिकल्पना घुमिरहेको छ। नेपालका टोल–गाउँमा देखिने यो पात्र एसएलसीपछि कुलतमा फसेको छ। पारिवारिक दबाबमा छ। जबर्जस्ती होस्टलमा राखिनु र इच्छाविपरीतको पढाइका कारण मानसिक रूपले थकित छ। गलत साथीको संगतमा फसेर ऊ केही समय सुधार केन्द्रसम्म पुगेको छ। हामीले समाजमै देख्ने यस्तै जीवनको कथा बोकेको पात्र हो, विज्ञान।
यो पात्र तयार पार्दा मैले उसको बोल्ने शैली, हिँड्ने चाल, पहिरनदेखि मानसिक स्थितिबारे अध्ययन गरेको छु। उसले संसारलाई कुन आँखाबाट हेर्छ? उसलाई संसारले कुन आँखाबाट हेर्छ? यी सबै प्रश्नले पात्रलाई जीवन्त बनाउन सहयोग गर्छन्। त्यही भएर म यही कुरामा निरन्तर प्रयासरत छु।
म यो पात्रको गहिराइ बुझ्न अझै अध्ययनमै छु। कमजोरी कहाँ छ, के सुधार्नुपर्छ भनेर खोज्दैछु। यो पात्र आधुनिक युवा पुस्ताको नजिक रहेकाले पनि दर्शकहरूले मनपराउनुहुनेछ भन्ने मेरो विश्वास छ।
नयाँ पात्र बनाउँदा तपाईं सामान्यतया कस्तो तयारी गर्नुहुन्छ? अवलोकन, रूपान्तरण र प्रस्तुतीकरणको प्रक्रिया कस्तो हुन्छ?
पहिलो आधार भनेको अवलोकन हो। ऊ कसरी हिँड्छ? कसरी बोल्छ? उसको आनीबानी, स्वभाव, सामाजिक परिस्थिति; यी सबै हेरेर पात्र बनाउने प्रयास गर्छु। त्यसपछि उसको जीवनलाई कलात्मक र वास्तविक ढंगमा उतार्न खोज्छु। स्टेज प्रस्तुतीकरण, टिभी वा युट्युबमा प्रस्तुत गर्दा पनि त्यो पात्र निष्कलंक देखियोस् भन्ने मेरो कोसिस रहन्छ। त्यही सिलसिलामा विज्ञान पनि धेरै दिनको अवलोकन, अध्ययन र तयारीबाट बनेको पात्र हो।
दर्शकले नदेख्ने स्टेज पछाडिको संघर्ष कस्तो हुन्छ?
स्टेज पछाडि हाम्रो मिहिनेत र डर मिसिएको हुन्छ। मुटु ढुकढुक गरिरहन्छ, कहिले पिसाब लागेजस्तो हुन्छ कहिले ओठ सुक्छ। मनमा अनगिन्ती शंका जन्मिन्छन्। त्यही डरबाट हिम्मत बटुलेर स्टेजमा पसिन्छ। त्यसपछि दर्शकसँग नाता जोडिन्छ, अनि हँसाउने यात्रा सुरू हुन्छ। स्टेजमा रहुञ्जेल यो क्रम चलिरहन्छ।
दर्शकको आलोचनाले कत्तिको असर गर्छ?
म आलोचनालाई नकारात्मक रूपमा होइन, मार्गदर्शनका रूपमा लिन्छु। त्यही आलोचनाले मलाई यथार्थपरक ढंगले चरित्र चित्रण गर्न सघाउँछ। कसैको आलोचना वा अत्यधिक अपेक्षाले मलाई कहिल्यै हतोत्साहित बनाउँदैन। म त भन्छु– जे आउँछ, भिड्ने नै हो!
मलाई कलाकारको जीवनमा सधैं चुनौती हुन्छ जस्तो लाग्छ। कलाकारिताको सुन्दरता भनेकै चुनौती मोल्नु हो। भरतमणिले 'ठूलै गफ दियो' नभन्नु होला, तर प्रयास त गरिँदैछ। कहिलेकाहीँ ठूलो सोचाइमै हराउनुपर्छ।

तपाईं आफूले निर्वाह गर्ने पात्रमार्फत सामाजिक सन्देश दिन चाहनुहुन्छ कि मनोरञ्जन मात्र दिन चाहनुहुन्छ?
मनोरञ्जन त भइहाल्यो, तर म आफ्नो हरेक पात्रमार्फत समाजलाई सन्देश पनि दिन खोज्छु। हँसाएर पनि समाजलाई धेरै कुरा बुझाउन सकिन्छ। मादक पदार्थको दुष्प्रभाव, मानसिक स्वास्थ्य, भ्रष्टाचार, युवा पुस्ताको मनोदशा, पुराना र नयाँ पुस्ताबीचको दूरी; यी सबै विषय म छोइरहेको हुन्छु।
जहाँसम्म मनोरञ्जनको कुरा छ, त्यो त पहिलो प्राथमिक्ता नै हो। सँगसँगै, विचार जागृत गराउने प्रयास पनि गर्छु। सुमन कोइराला र मैले दर्शकलाई खुसी बनाउने कसम खाएका छौं। हाम्रो यो प्रयासलाई हौसला चाहिन्छ।
तपाईंजस्तै कमेडीमा आउन चाहने कलाकारलाई केही सल्लाह दिन चाहनुहुन्छ?
हिम्मतका साथ मिहिनेत गरौं भन्न चाहन्छु। गल्ती भए होस्, दु:ख पाइए पाइयोस्। हरेक गल्तीबाट नयाँ कुरा सिकिन्छ, जानिन्छ, बुझिन्छ, थाहा पाइन्छ, जानकार भइन्छ, अनि फेरि मिहिनेत गरेर अघि बढिन्छ। मुख्य कुरा, कामप्रतिको लगाव छाड्न हुँदैन। त्यो नै कलाकारलाई कलाकार बनाउने शक्तिशाली इन्धन हो। अर्को कुरा चाहिँ, पात्रहरू चोरेर होइन, अवलोकन गरेर बनाऊ। समयले परीक्षा लिन्छ, अघिल्लो दिन हारेकोले भोलि जित्छ।
तपाईंको आगामी यात्रामा हामी के–के नयाँ रूप अपेक्षा गर्न सक्छौं?
सबभन्दा पहिलो कुरा– दर्शकको माया, साथ र आशीर्वाद कहिल्यै नघटोस्। आज म जहाँ छु, दर्शककै भरोसा र मायाले हो। आगामी दिनमा पनि फरक–फरक तरिकाबाट दर्शकलाई हँसाउने कोसिस गरिरहन्छु।
भरतमणिसँग केही वर्षअघि सेतोपाटीले गरेको कुराकानी-
***
