अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म 'जेरी अन टप' ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउँदै छ।
अनमोलसहित आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहेको फिल्मले क्युएफएक्स, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज, एफक्युब लगायतका हलमा ५१ दिन पूरा गर्न लागेको हो।
गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ५१ दिन पूरा गरेको अवसरमा निर्माण टिमले शनिबार दिउँसो एफक्युब हलमा एक कार्यक्रम गरी खुसी साट्ने तयारी गरेको छ। फिल्मका प्रस्तुतकर्ता सरोज न्यौपानेले अभिनेता अनमोल आगामी फिल्मको छायांकनमा व्यस्त रहेकाले तत्काल ठूलो कार्यक्रम नगरिने बताए।
प्रदर्शनको सुरुआती दिनदेखि नै राम्रो व्यापार गरेको 'जेरी अन टप' ले राम्रो वर्ड अफ माउथका कारण बक्स अफिसमा निरन्तर उकालो यात्रा तय गरेको थियो। सुयोग गुरूङ निर्देशित फिल्मले गत शनिबारसम्म १२ करोड २३ लाख ५२ हजार रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
यो अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। यो वर्षको दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो। अनन्या फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
दोस्रो शृङ्खलाको तयारी
प्रस्तुतकर्ता न्यौपानेले दर्शकको निरन्तर साथ र मायाले नै यो सफलता सम्भव भएको भन्दै आभार प्रकट गरे।
उनले हलसम्म आएर साथ दिने दर्शकप्रति धन्यवाद व्यक्त गरे। सेतोपाटीसँगको कुराकानीमा उनले 'जेरी अन टप' को दोस्रो शृङ्खला निर्माणको तयारी भइरहेको बताए। उनले भने, 'हामी दोस्रो भागको कथा लेखनको तयारीमा लागिसकेका छौं। नाम के राख्ने भन्ने तय भइसकेको छैन। छिट्टै घोषणा गर्नेछौं।'