गत वर्षको सुपरहिट फिल्म '१२ गाउँ' ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। अघिल्लो वर्ष बडादसैंमा रिलिज भई बक्स अफिसमा २० करोड रूपैयाँ हाराहारी व्यापार गर्न सफल यो फिल्म नेपालकै अग्रणी ओटिटी प्लेटफर्म 'सिनेमाघर' मा सार्वजनिक गरिएको हो।
लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो फिल्म दर्शकहरूले २९९ रूपैयाँमा विश्वभरबाट हेर्न सक्नेछन्।
फिल्म 'सिनेमाघर एप' मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिने जनाइएको छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि '१२ गाउँ' हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्मबाट उनका छोरा समीरले नेपाली रजतपटमा डेब्यु गरेका थिए। फिल्ममा विराज र समीरसँगै न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारहरूको अभिनय छ।
फिल्मको कथा स्वयं विराज स्वयंको हो भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।
'सिनेमाघर' ले पछिल्ला वर्षहरूमा नेपाली फिल्महरूलाई विश्वव्यापी दर्शकमाझ पुर्याउँदै आएको छ। सिनेमाघरमा चर्चित फिल्महरू 'पिताम्बर', 'होस्टेल ३', 'गाउँ आएको बाटो', 'फेरी रेशम फिलिली' लगायतका दर्जनौं फिल्महरू स्ट्रिमिङ भइरहेका छन्।