वरिष्ठ कलाकार नीर शाह शीर्ष भूमिकामा रहेको पारिवारिक फिल्म 'परान' आगामी कार्तिक १४ गते रिलिज हुने तयारीमा छ।
फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको मार्मिक कथा प्रस्तुत गर्छ।
यस फिल्ममा मुख्य भूमिकामा नभए पनि पछिल्लो समयकी व्यस्त अभिनेत्री अञ्जना बराइलीले अभिनय गरेकी छिन्। उनले आफ्नो भूमिकाको सिन संख्याभन्दा पनि फिल्मको विषयवस्तुका कारण यसमा जोडिन स्वीकार गरेको बताइन्। अञ्जना 'परान' खोजी-खोजी हेर्नुपर्ने फिल्महरूको सूचीमा पर्ने समेत बताउँछिन्।
उनले भनिन्, 'म यसमा जोडिनुको एउटै कारण यसको विषयवस्तु हो। यो मैले खोजेर हेर्ने फिल्मभित्र पर्छ।'
अञ्जनाले अगाडि भनिन्, 'जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु। डबिङको समयमा नै मैले यो फिल्म त दशैंमै लगाउनुपर्छ भनेकी थिएँ, जब कि प्रायः म यस्तो भन्दिनँ।'
अञ्जनाका अनुसार, दसैं-तिहार पारिवारिक माहोलका चाडपर्व भएकाले दशैंमा राम्रो पारिवारिक फिल्म हेर्ने चाहना भएकाहरूका लागि यो उपयुक्त हुने भएकै कारण उनले निर्माण पक्षलाई दशैंमै फिल्म रिलिज गर्न सुझाव दिएकी थिइन्।
'जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो। तर हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौं,' उनले थपिन् ।
यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने अञ्जनाको दाबी छ। उनका अनुसार यसले सबै उमेरका मानिसका कुरालाई समेटेको छ। फिल्ममा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ।
आफ्नो पात्रबारे बताउँदै उनले भनिन्, 'फिल्ममा म अलिक मिजासिलो पात्रमा छु। यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ। मेरो पात्र एकदमै यादगार हुने देख्छु। मैले निर्वाह गरेको 'रूपा' पात्रको स्वभाव नै सम्झिने खालको छ। नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु।'
पात्र बलियो भएकैले आफू खुलेर प्रचारमा हिँडिरहेको उनले बताइन्। रिलिज मिति नजिकिँदै गर्दा पनि अञ्जना आत्तिएकी छैनन्। उनलाई फिल्मले दर्शकको मन जित्नेमा पूर्ण विश्वास छ।
'परान' फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन्।
देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी 'बाइस्कोप सिनेमा प्रा.लि.' ले फिल्म निर्माण गरेको हो।
फिल्ममा नीर शाह र अञ्जना बराइलीका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ।