हाँस्य टेलिभिजन कार्यक्रम 'कमेडी दरबार' दर्शकहरूमाझ रूचाइएको छ। यसले प्रसारणको छोटो समयमै दर्शकको मन जित्न सफल भएको थियो।
कमेडियन र नन-कमेडियन चर्चित कलाकारहरू लिएर यो शो दर्शकमाझ आइरहेको छ। जसमा अन्य चर्चित कलाकारहरूको समेत जमघट हुने गर्छ। तर, पछिल्ला दुई एपिसोडमा भने सधैं देखिँदै आएका केही कलाकारहरू अनुपस्थित भएपछि दर्शकमाझ जिज्ञासा बढेको छ।
कार्यक्रमको सुरूवातदेखि नै नियमित रूपमा देखिँदै आएका कलाकारहरू पवन खतिवडा (म्याकुरी), सुजाता श्रेष्ठ र उत्सव सापकोटा पछिल्ला एपिसोडहरूमा नदेखिएपछि दर्शकहरूले उनीहरूलाई 'मिस' गरेका छन्। युट्युब कमेन्ट बक्समा समेत थुप्रै दर्शकहरूले यी कलाकारहरूको नाम लिँदै चासो व्यक्त गरिरहेका छन्, कतिपयले त उनीहरूले शो छाडेको अनुमानसमेत गरिरहेका छन्।
तर, 'कमेडी दरबार' का निर्देशक तथा होस्ट विक्की अग्रवालले भने यी कलाकारहरूले शो नछाडेको स्पष्ट पारेका छन्। पछिल्ला एपिसोडहरूमा उनीहरूको अनुपस्थितिको कारण खुलाउँदै विक्कीले भने, 'शो छायांकनका क्रममा उहाँहरूले समय दिन नसक्नुभएपछि केही एपिसोडमा नदेखिनुभएको हो।'
हाल 'कमेडी दरबार' को टिम फिचर फिल्म निर्माणमा व्यस्त छ। फिल्म छायांकनमा जानुअघि शोका चार/पाँच भाग स्टक एपिसोड खिचिएको थियो। त्यसबेला कलाकारहरू आ–आफ्नो व्यस्तताका कारण ती एपिसोडहरूमा देखिन नसकेको विक्कीको भनाइ छ।
उनले थप प्रस्ट्याउँदै भने, 'सुजाताजीको बुवा बिरामी हुनुहुन्थ्यो। सोही कारण शोमा समय दिन भ्याउनुभएन। पवनजी दशैं मनाउन अलि अघिदेखि बिदामा रहनुभएको कारण पछिल्ला एपिसोडमा देखिनुभएन।' उत्सव सापकोटाको हकमा भने, उनी शो छायांकनका क्रममा अन्य काममा व्यस्त रहेको र उनको 'कमेडी दरबार' सँगको सम्झौता पनि सकिएका कारण पछिल्ला एपिसोडमा नदेखिएको विक्कीले जानकारी दिए। ‘उहाँसँग अहिलेसम्मको लागि सम्झौता थियो। बाँकी सम्झौता हुन बाँकी छ,’ विक्कीले थपे।
विक्कीका अनुसार अब छिट्टै 'कमेडी दरबार' को तेस्रो सिजन सुरू हुनेछ। हालका लागि दुई एपिसोड तयार भइसकेको र त्यसपछि थप दुई नयाँ एपिसोड छायांकन भएपछि नयाँ सिजन प्रसारणमा ल्याइनेछ।
सुजाता अझै एक सिजनमा नदेखिने भए पनि पवन खतिवडा (म्याकुरी) भने तेस्रो सिजनदेखि शोमा फर्किने विक्कीले बताएका छन्।
'कमेडी दरबार' को टिम यतिबेला कथानक फिल्म 'ककाकिकी' निर्माण गरिरहेको छ।
फिल्मको छायांकन पर्वत जिल्लामा भइरहेको छ।