दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको फिल्म 'परान' मा समावेश 'ओइ भन्दानी बोलेन' बोलको गीत युट्युबमा सार्वजनिक भएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको निर्माण टोलीले यो रमाइलो गीत सार्वजनिक गरेको हो।
विवाहको परिवेशमा आधारित यस गीतको भिडिओमा फिल्मका अधिकांश कलाकारहरूलाई देख्न सकिन्छ। भिडिओमा मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईली लगायतका कलाकारहरूको अभिनय तथा नृत्य छ। दर्शकलाई नचाउने खालको यो गीतको भिडिओ सुनिल क्षेत्रीको कोरियोग्राफीमा तयार पारिएको हो।
सार्वजनिक गीतमा तीन जना गायक र दुई जना गायिकाले स्वर दिएका छन्। प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.के.ले यसमा स्वर दिएका हुन्। गीतका शब्द निर्देशक आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजनको काम रिदम कंडेलले गरेका छन्।
'परान' कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ। फिल्मको ट्यागलाइन 'सासले होइन, साथले चल्ने' छ, जसले फिल्मको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ।
देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले 'परान' को निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरमा यो पहिलो प्रोजेक्टका रूपमा निर्माण गरिएको फिल्म हो।
फिल्मका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा छन्। दीपक आचार्यकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन्। शिवराम श्रेष्ठको डीओपी रहेको फिल्मको सम्पादन मित्र डी. गुरूङले गर्दैछन्।
दसैं र तिहारलगत्तै यो फिल्म देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।