अभिनेत्री दीया पुन फिल्म 'मैझारो' मा अनुबन्धित भएकी छन्। अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बन्ने यो फिल्ममा दीया शीर्षमध्येको भूमिकाका लागि जोडिएकी हुन्।
यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरूना मगर फिल्मका लागि अनुबन्धित भइसकेका छन्। निर्देशक राईले कथाले मागेअनुसार दीयालाई अनुबन्ध गरेको बताए। उनका अनुसार अन्य केही कलाकारहरू पनि छनोटको चरणमा छन्।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म 'मैझारो' पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित रहेर निर्माण हुनेछ।
छायांकन साउन पहिलो साताबाट सुरू हुनेछ भने इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने जनाइएको छ।
फिल्ममा संगीत अनमोल गुरूङ र तोरेम्पा हाङ राईले दिनेछन्। गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरूङ लगायतको स्वर रहनेछ।
फिल्म छायांकन सौरभ लामाले गर्नेछन्।
निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो। यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति मात्र निर्माण गर्दै आएको थियो।