अभिनेत्री पूजा शर्मा निर्माण तयारीमा रहेको एक्सन फिल्ममा जोडिएकी छन्।
गत वर्ष एक्सन फिल्म 'दान्भी' निर्देशन गरेका निर्देशक रूपेश तामाङले बनाउन लागेको नयाँ फिल्ममा पूजा जोडिएकी हुन्। उक्त फिल्मको नाम 'एक्का तीन' राखिएको छ।
सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ।
फिल्मको सार्वजनिक थिम पोस्टरमा हेलिकप्टर देखिन्छ। जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो। पोस्टरमा तीनजना पात्र छन्। जसमा दुई पुरूष र एक महिलालाई स्थान दिइएको छ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ। तर, अन्य मुख्य पात्रहरूको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन। 'एक्का तीन–च्याप्टर १' भनिएकाले पनि यो फिल्मको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ।
यस पटक फिल्ममा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रूपेशको भनाइ छ। आफूले यसअघिका फिल्ममा गरेका कमीकमजोरीलाई समेत सच्च्याएर यो फिल्म निर्देशन गर्ने रूपेशले बताए।
हाल फिल्मको प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको निर्माणपक्षले जनाएको छ।