अभिनेत्री स्वस्तिमा खड्का फिल्म 'लालीबजार' मा अनुबन्धित भएकी छन्। निर्माण टिमले मंगलबार स्वस्तिमा फिचर्ड एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो।
'जात्रा' शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्टसले निर्माण गर्ने यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। फिल्म आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउनेछ।
सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न देखिएकी छिन्।
गर्भवती महिला देखिएता पनि उनको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ। अर्थात् उनको शारीरिक अवस्था र उनको चाहना पोस्टरमा भिन्न देखाइएको छ। यम थापाको लेखन तथा निर्देशनमा तयार हुने 'लालीबजार' लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन्।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रूपमा प्रस्तुत हुन तयार भएको बताइन्।
आफ्ना अघिल्ला फिल्मभन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्न पाउने उनको भनाइ छ। 'सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु,' स्वस्तिमाले भनिन्।
निर्माता बानियाँका अनुसार षट्कोण आर्टसले स्क्रिप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत गरेको हो।
उनले भने, 'हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौं। राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौं। सोही क्रममा निर्देशक थापाले पठाउनुभएको स्क्रिप्टले हामीलाई आकर्षित गर्यो। उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले उहाँलाई नै निर्देशन गर्न आग्रह गर्यौ।'
निर्देशक थापा पनि आफ्नो करिअरलाई 'लालीबजार' ले नयाँ उचाइ दिनेमा विश्वस्त छन्। निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्क बनाएको बताए।
उनले भने, 'मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो। सोही क्रममा म षट्कोण आर्टसमा आइपुगेको हुँ। यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें। उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौं, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ। यो मेरा लागि अवसर र चुनौती दुवै हो।'
उनले फिल्मका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिँदै जाने बताए। सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन्।
फिल्मको छायांकन दसैं लगत्तै सुरू गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ।