वैशाख २६ मा रिलिज विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' ले राम्रो व्यापार गरिरहेको छ।
शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको फिल्मको कमाइ १० करोड नाघेको छ।
निर्माता कम्पनी आर्टमाण्डुले फिल्मको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो।
नवीन चौहान निर्देशित यो फिल्मलाई हलहरूले चौथो सातामा पनि उल्लेख्य शो दिएका छन्। फिल्मको 'वर्ड अफ माउथ' राम्रो रहेकाले आउँदा दिनमा पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
यो फिल्ममा विपीन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु,विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारहरूको अभिनय छ। म्युजिकल फिल्ममार्फत दर्शकको मन जितेको आर्टमाण्डुको यो पहिलो फिल्म हो। कथानक गीतबाट दर्शकको मन जितेका कारण पनि आर्टमाण्डुको यो फिल्मलाई लिएर दर्शकहरू पहिल्यैदेखि उत्साहित थिए।
'ऊनको स्वीटर' वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म समेत बनेको छ।
