फिल्म 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू' को छायांकन सकिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरेर ३५ दिनमा सम्पूर्ण छायांकन सकिएको हो।
अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको निर्देशक हिमाल न्यौपानेले बताए। उनले भने, 'अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो फिल्म दिनेछौं।'
निर्देशक न्यौपानेको यो डेब्यु निर्देशन हो।
'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू' ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ। फिल्मले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ।
फिल्मको असोसियट निर्देशकमा 'प्रेमगीत ३' अभिनेता मनिष राउत छन्।
फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली लगायत कलाकारहरूको मुख्य भूमिका छ। यस्तै, भोलाराज सापकोटा, रेयर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको समेत अभिनय छ।
इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले फिल्ममा धेरै सम्बन्धको कथा रहेको बताए।
उनले भने, 'यो फिल्ममा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ। यसले दर्शकको मन छोला भन्ने विश्वास छ।'
यस्तै, असोसियट निर्देशक राउतले जीवनको भोगाइमा र सम्बन्धको कथा, फिल्मका ती पात्रहरूले गरेको संवाद र संघर्षहरू जुन जनैको डोरी झौ बुन्ने प्रयास गरिएको बताए।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी छन्।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन्।
फिल्ममा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहने छ।
नवीन गुरुङ डीओपी रहेको फिल्ममा कृष्ण परियारको सिनेमोटोग्राफी छ।
फिल्म तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने योजना भए पनि अझै मिति तय भइसकेको छैन।